काठमाडौं। मंगलबार नेप्से परिसूचक १४५.०५ अंकले घट्यो। सेयर कारोबारले ऐतिहासिक रेकर्ड बनाए पनि साढे १२ बजेपछि नेप्सेको बियरिस गति रोकिएन।
असार १७ गते संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालबीच सत्ता समीकरणको सहमतिपछि नेप्से निरन्तर उकालो लागेको थियो। उकालो यात्रामा खासै ब्रेक लागेको थिएन।
एक महिनादेखि बुलिस ट्रेन्डमा रहेको नेप्सेमा मंगलबार अप्रत्यासित ठूलो गिरावट लगानीकर्ताका लागि अपेक्षित नै थियो। बजार उच्च अंकले घट्दा दर्जन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो।
असार १७ गते २०५४ अंकमा रहेको नेप्से सोमबार २०७८ माघ अन्तिमपछिकै उच्च अंकमा थियो। मंगलबार इन्ट्रा डेमा २८१५ अंकमा पुगेको नेप्सेले लिएको उचाइलाई आधार मान्ने हो भने असारयता बजार ३६ प्रतिशतले बढिसकेको छ। नेप्से एक महिनामै ७५० अंकले वृद्धि भएको छ।
नेप्से उच्च अंकले बढ्दा थोरै सेयर भोलुम भएका कम्पनीको सेयर भाउ तीव्ररुपमा बढ्यो। तर वित्तीय सूचक अब्बल भएका कम्पनीको सेयर मूल्य इन्डेक्स वृद्धिको रफ्तारमा खासै बढ्न सकेन।
बजारले उचाइ लिंदा जुन कम्पनीको मूल्यमा लगातार पोजेटिभ सर्किट लागेको थियो, अहिले ओरालो लाग्दा तिनै कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन्।
मंगलबार नकारात्मक सर्किट लाग्ने कम्पनी तिनै हुन् जसको मूल्यमा बजार उकालो लाग्दा बिना कुनै वित्तीय आधार निरन्तर पोजेटिभ सर्किट लागेको थियो।
साउन ३ गते ९९७ रुपैयाँ रहेको नेपाल फाइनान्सको सेयर मूल्य ११ कारोबार दिनमै दोब्बरभन्दा धेरै अर्थात साउन १७ गते २१५४ रुपैयाँ पुग्यो। यो कम्पनीको मूल्य पछिल्लो एक वर्षमा २७० रुपैयाँसम्म झरेको थियो।
यस्तै गोर्खाज फाइनान्सको सेयर भाउ एक वर्षमा ४८१ बाट ९४६, सेन्ट्रल फाइनान्सको २९८ बाट ७१२, पञ्चकन्या माई हाइड्रोपावरको १५१ बाट ३२४, एनआरएनए इन्फ्रास्ट्रक्चरको २३२ रुपैयाँबाट ११३२ रुपैयाँ पुर्याइयो। त्यस्तै, शुभम् पावर ६७३ बाट १०१५ र हाथवे २७९ रुपैयाँबाट १८१६ रुपैयाँ पुर्याइएका कम्पनी हुन्।
यी कम्पनीको सेयर वित्तीय अवस्थामा चमत्कार भएर एकाएक लगानीकर्ताको आकर्षण देखिएको होइन। खराब वित्तीय अवस्था भएका कम्पनीको सेयर मूल्य चलखेल गरेर अस्वाभाविक रुपमा बढाइएको हो।
थोरै भोलुम भएका कम्पनीको सेयर मूल्य बढाउन क्लब हाउस लगायत सामाजिक सञ्जालमा केही समूह सक्रिय छन्।
नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी सेयर बजारमा इन्भेष्टरभन्दा ट्रेडर हाबी भएकाले केही ठूला लगानीकर्ताको ध्यान चलखेल गरेर मूल्य बढाउनेतिर लाग्ने गरेको विश्लेषण गर्छन्।
‘हाम्रो सेयर बजारमा इन्भेष्टरभन्दा ट्रेडर हाबी छन्। त्यसैले लोक्याप भएका कम्पनीमा खेल्न सजिलो हुने भएकाले खराब वित्तीय अवस्था भएकै कम्पनीको सेयर मूल्य बढाएर उचाल्ने गरेको देखिन्छ,’ उनले भने।
कम्पनीको आधारभूत सूचकमा कुनै फेरबदल आएर हल्लाको भरमा बजार बढ्दा दिगो नहुने जानकारहरू बताउँछन्।
‘सर्ट टर्म ट्रेडरले प्रोफिट बुक गर्न खोजिरहेका छन्। कतिपय नराम्रो वित्तीय अवस्था भएकै कम्पनीको सेयर मूल्य बढाउन ग्रुप खोल्ने र सेयरको ब्रान्डिङ गर्ने, सेयर मूल्य यति पुर्याउँछौ भन्ने गिरोह नै लागेका छन्,’ एक ब्रोकर कम्पनीका प्रबन्ध निर्देशकले भने, ‘बजारमा करेक्सन नआए दिगो हुन सक्दैन। त्यसपछि सर्ट टर्म सेलर बाहिरिन्छन् भने लङ टर्म इन्भेष्टर आउँछन्।’
खराब वित्तीय अवस्थाका कम्पनीको सेयर मूल्यमा अस्वाभाविक वृद्धि भएका कारण मंगलबार घटेको जानकारहरू बताउँछन्। उनीहरू अझै करेक्सनको आवश्यकता देख्छन्। अर्थतन्त्र र कम्पनीको वित्तीय अवस्थामा सुधारबिनै सेयर मूल्य बढेका कारण अझै घट्न सक्ने उनीहरूको भनाइ छ।