बीवाइडी र टाटाबीच नेपाली बजारमा चर्को प्रतिस्पर्धा, एक वर्षमा कुन ब्रान्डका कति गाडी भित्रिए?



बिजमाण्डू
२०८१ साउन २२ गते १२:४० | Aug 6, 2024
बीवाइडी र टाटाबीच नेपाली बजारमा चर्को प्रतिस्पर्धा, एक वर्षमा कुन ब्रान्डका कति गाडी भित्रिए?

काठमाडौं। नेपाली अटो बजारमा बीवाइडी र टाटा गाडीबीच चर्को प्रतिस्पर्धा देखिएको छ। ती गाडीका आधिकारिक बिक्रेताबीच चर्को प्रतिस्पर्धा देखिएको हो।

Tata
GBIME
Zonsen

प्रतिस्पर्धामा बीवाइडीले टाटालाई केही पछि पारेको छ। गत वर्ष भारतीय गाडी टाटालाई उछिन्दै चिनियाँ गाडी बीवाइडी २७९ वटा बढी भित्रिएको छ।

साइमेक्स इंकले गत वर्ष २ हजार १८२ युनिट बीवाइडी गाडी आयात गरेको छ। टाटाको गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङले १ हजार ९०३ युनिट ल्याएको छ।

आर्थिक वर्ष २०७९/८० मा सिप्रदी ट्रेडिङले सबैलाई उछिन्दै २ हजार ९२७ युनिट गाडी बिक्री गरेको थियो। त्यो वर्ष २ हजार १७७ युनिट बीवाइडी गाडी बिक्री भएका थिए। आर्थिक वर्ष २०७८/७९ मा बीवाइडीका १४२ युनिट र टाटाका २ हजार २९६ युनिट गाडी बिक्री भएको तथ्यांक छ।

गत वर्ष बीवाइडी र टाटापछि हुन्डाईले बजार लिएको छ। हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्ष ७४१ युनिट बिक्री गरेको छ। कम्पनीले पछिल्लो समय नेपालमै एसेम्ब्लिङ प्लान्ट स्थापना गरेर गाडी उत्पादन गर्न थालेको छ।

तथ्यांंकले हुन्डाईको बजार घट्दै गएको देखाउँछ। आर्थिक वर्ष २०७८/७९ मा १ हजार ५८१ युनिट गाडी आयात गरेको कम्पनीले त्यसपछिको वर्ष २०७९/८० मा १ हजार ३२५ युनिट ल्याएको थियो।

बजारमा एमजी(मोरिस ग्यारेज) ब्रान्ड चौथो स्थानमा छ। गत वर्ष यो ब्रान्डका ६१७ युनिट गाडी आयात गरिएको छ। २०७९/८० मा यो ब्रान्डका १ हजार १३९ युनिट गाडी ल्याइएको थियो।

पाँचौं स्थानमा महिन्द्रा छ। महिन्द्राका गाडी बिक्री गर्ने अग्नि इन्कर्पोरेटेड गत वर्ष ५७० युनिट आयात गरेको छ। कम्पनीले त्यसअघिको वर्ष २ हजार ५२९ र आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८६० युनिट गाडी बेचेको थियो।

यस्तै ‌ओमोडा र डिपलको बिक्रीमा पनि टाटा र बीवाइडीको जस्तै कट थ्रोट प्रतिस्पर्धा भएको छ। डिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले गत वर्ष ३५७ युनिट गाडी ल्याएकामा ओमाोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ३५१ युनिट भित्र्याएको छ। यी दुवै कम्पनीले गत वर्षदेखि नै नेपाली बजारमा इभी भित्र्याउन थालेका हुन्।

गत वर्ष आयात भएका टप १० ब्रान्ड

ब्रान्ड आयात युनिट
बीवाइडी२,१८२
टाटा १,९०३
हुन्डाई७४१
एमजी ६१७
महिन्द्रा५७०
डिपल३५७
ओमोडा३५१
सुजुकी २६४
किया २३७
नेटा२१९

मारुती सुजुकीको बिक्रीमा धेरै गिरावट आएको छ। सुजुकीको आधिकारिक बिक्रेता सिजी होल्डिङ्सले गत वर्ष जम्मा २६४ युनिट गाडी भित्र्याएको छ। जबकि कम्पनीले अघिल्लो वर्ष ८५७ युनिट र आर्थिक वर्ष २०७८/७९ मा १ हजार २३५ युनिट गाडी बेचेको थियो।

आयात संख्याका आधारमा किया नवौं स्थानमा छ। कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले गत वर्ष २३७ युनिट मात्रै किया गाडी आयात गरेको छ। कम्पनीले त्यसअघिको वर्ष ५४३ युनिट र आर्थिक वर्ष २०७८/७९ मा ९८५ युनिट गाडी बेचेको थियो।

दशौं स्थानमा नेटा ब्रान्ड छ। यसको आधिकारिक बिक्रेता सिजी मोटर्सले २१९ वटा गाडी आयात गरेको छ।