सीजी मोटर्सले एकै पटक हस्तान्तरण गर्‍यो २५ वटा किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान



बिजमाण्डू
२०८१ साउन २० गते १८:१३ | Aug 4, 2024
सीजी मोटर्सले एकै पटक हस्तान्तरण गर्‍यो २५ वटा किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान

काठमाडौं। चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रालिलाई एकैपटकमा २५ वटा किङलङ १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको छ।

Tata
GBIME
Zonsen

नेपाली बजारमा सीजी मोटर्सले किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान बिक्री गर्दै आइरहेको छ। काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी भ्यान हस्तान्तरण गरिएको हो।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसी, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार तथा अन्य यातायात व्यवसायीका प्रतिनिधि र यातायातसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति पनि रहेको थियो।

कार्यक्रममा सीजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डेले यति धेरै गाडी एकैपटकमा हस्तान्तरण गर्न पाउँदा सीजी मोटर्स परिवार अत्यन्तै हर्षित भएको बताए। उनले वातावरण संरक्षणतर्फ लिएको कदमप्रति सुपर माउण्ट एभरेष्ट यातायात व्यवसायी प्रालिलाई धन्यवाद समेत दिए।

बजारमा प्रचलित डिजेल भ्यानहरूसँग तुलना गर्दा इलेक्ट्रिक माइक्रो भ्यानहरूले अत्याधिक रुपमा खर्च कटौती गरी धेरैभन्दा धेरै बचतको बाटो खोलिदिएको उनको भनाइ छ।

‘प्रति किलोमिटरको अपरेटिङ कष्टको हिसाब गर्ने नै हो भने २ रुपैयाँभन्दा पनि कम हुन आउँछ। जसकारण हाम्रो यातायात व्यवसायीहरूले न्यूनतम खर्चमा धेरै आम्दानी गर्न सक्नु हुन्छ,’ उनले भने।

किङलोङ १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०.२३ किलोवाटको ब्याट्री पाउन सकिन्छ। यसका साथै उक्त गाडीमा एबीएस, इबीडी, १८० एमएम ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, ए.सी लगायत विशेषताहरू छन्।

उक्त गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न ४५ मिनेट लाग्ने कम्पनीले जनाएको छ। ग्राहकहरूको मागअनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा विस्तार गरिएको कम्पनीले बतायो।

कम्पनीका अनुसार काठमाडौंमा ३ स्थानबाट सर्भिसिङको सुविधा लिन सकिन्छ। नेपालभर १८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उत्तिकै ठाउँमा चार्जिङ सुविधा विस्तार हुने बताइएको छ।