काठमाडौं। सौर्य एयरलाइन्सको जेट जहाज ‘सीआरजे-२००’ दुर्घटनाको एक साता बितेको छ। क्याप्टेन मनीषरत्न शाक्य उपचारपछि डिस्चार्ज भएका छन्, दिवंगत यात्रुहरुको अन्त्येष्टिसँगै जनमानसमा उक्त घटनाबारे चासो विस्तारै कम भएको छ। तर, यही घटनालाई लिएर अग्नि निवारक तथा उद्धार टोली भने अझै गहिरो निराशामा छ।
दुर्घटना भएको १२ मिनेटमै अग्नि निवारण गर्न सफल भएको टोली यात्रु बचाउन नसकेको आरोप प्रत्यारोपका कारण यतिखेर ‘ट्रमा’मा परेको हो। त्रिभुवन विमानस्थलको धावनमार्गकै छेउमा दुर्घटना अनपेक्षित थियो। थाहा हुनेबित्तिकै फायर फाइटिङ टोली हतार हतार घटनास्थलमा पुगेको थियो।
घटनास्थलबाट जहाजका क्याप्टेन शाक्यको उद्धार गरिएको थियो। तर, उक्त दुर्घटनामा १८ यात्रुको ज्यान जोगिन सकेन। त्यसको कारण दुर्घटनाको प्रकृति र ठाउँ थियो। उद्धारमा खटिनेहरुले ढिला गरेका थिएनन्। घटनाको प्राविधिक पक्ष नबुझेकाहरुले भने यति धेरै आलोचना गरे की त्यसको असर ती उद्धारकर्मीलाई नराम्ररी परेको छ।
नागरिक उड्डयन प्राधिकरणअन्तर्गत परिचालन भएको फायर फाइटिङ टोलीले दिलोज्यान दिएर नियमअनुसार सेवा दिँदा पनि बाह्य रुपमा अपजस खेप्नुपरेका कारण उनीहरु निराश रहेको एक कर्मचारीले बताए।
‘हाम्रो फायर फाइटिङ टोली ‘अल टाइम अलर्ट’मै बसिरहेका हुन्छन्। गत साता बुधबार जहाज टिलपिल हुँदै टोली तयारीमा जुटिसकेको थियो,’ उनले भने, ‘आगोको प्रकृति अनुसार नियन्त्रण गर्न समय लागेको हो। तर, आफ्नो तर्फबाट पूर्ण कटिबद्ध भएर काम गर्दा पनि अपजस खेप्नुपरेपछि कर्मचारी निराश छन्।’
यस्तो छ अग्नि निवारणका लागि तयार गरिएको मापदण्ड
आकस्मिक समयमा फायर फाइटर एण्ड रेस्क्यु टिमलाई सुरुमा आगो निभाउन पर्छ भनेर सिकाइएको हुन्छ। एउटा कन्ट्रोल लिमिटसम्म अग्नि निवारण गर्नुपर्ने मापदण्ड बनाइएको हुन्छ। टोलीले मापदण्डभित्र रहेर उद्धारका काम गर्छ। उद्धारकर्मीले अरुलाई बचाउन आफूलाई सुरक्षित राख्नै पर्छ।
‘आगोको बीचमा कसैले बचाउ बचाउ भनिरहेको बेलामा होमिएर मान्छे बचाउन सम्भव पनि हुँदैन। आगो सुरुमा निभाउँदा त जलन कम गर्न सकिन्छ नि,’ ती कर्मचारीले भने,’आगो ननिभाइ बचाउन जाँदा त दुर्घटनामा परेका यात्रु र बचाउन जाने दुवैको ज्यान जाने भयो नि।’
हवाई दुर्घटनामा सुरुमा आगो नियन्त्रण गर्ने त्यसपछि उद्धार गर्ने प्रावधान रहेको उनले बताए। आगो कति चाँडो निभाउन सकिन्छ भन्ने कुरा इन्धनमा भर पर्ने उनी बताउँछन्।
यस्तो थियो दुर्घटना प्रकृति
११ बजेर १० मिनेट ५० सेकेण्डमा एयर ट्राफिक कन्ट्रोलरले टेकअफका लागि तयार हुन भनेको थियो। ११ बजेर ११ मिनेट १७ सेकेण्डमा जहाजले इन्जिन चालु गरेको थियो। ११ बजेर ११ मिनेट २७ सेकेण्डमा जहाज टेकअफ भएको थियो। ११ बजेर ११ मिनेट ४७ सेकेण्डमा जहाजको मुभमेन्ट असन्तुलित भएको थियो। सुरुमा उक्त जहाज बायाँतर्फ घुमेको थियो, तत्कालै पुनः दाहिनेतर्फ घुमेको थियो। ११ बजेर ११ मिनेट ५५ सेकेण्डमा जहाज धावनमार्गको घाँसे मैदानमा जोतिएको थियो।
यो जहाज ११ बजेर १२ मिनेटमै जहाज काँडाघारी पूर्वपट्टि रहेको एयर डाइनेष्टीको कन्टेनरमा गएर ठोक्किएको थियो। जहाजको दायाँतर्फको इन्जिन कन्टेनरमा ठोकिएको थियो भने बायाँ तर्फको इन्जिन माटोको ढिस्कोमा गएर जोतिएको थियो।
मापदण्डअनुसार पाइलट शाक्य बायाँतर्फ थिए भने कोपाइलट दायाँतर्फ थिए। करिब ४०० किलोमिटर बेगमा रहेको जहाजको दायाँ तर्फको भाग नै कन्टेनरमा ठोक्किएको थियो। ककपिटको भाग टुक्रिएर अलि पर पुगेको थियो। जसका कारण क्याप्टेन शाक्य बाँच्न सफल भएका थिए।
आगो दन्किरहेको अवस्थामा ११ बजेर १३ मेनेट २० सेकेण्डमा फायर फाइटिङ भेहिकल पुगेको थियो। माथि डिलबाट फम फालिएको थियो। फम लङ रेन्ज हुँदैन। ककपिट तर्फको आगो निभाइएको थियो। बाँकी भागमा फम हाल्न तलबाट घुमेर जानुपरेको थियो। त्यसकारण आगो नियन्त्रण गर्न अलि बढी समय लाग्यो। जहाज दुर्घटना भएको १२ मिनेटमा अग्नि नियन्त्रणमा लिइएको थियो।
यस्तो छ आगलागीको प्रकृति
कार्बोन फायरअन्तर्गत दाउरा लगायत हुन्छ। यो ‘क’ वर्गको मानिन्छ। अर्को ‘ख’ वर्गमा रहेको भनेको इन्जिन फायर हो। ‘ग’ वर्गमा ग्यास फायर हुन्छ। ‘घ’ वर्गमा मेटल फायर हो। ‘ङ’ वर्गको भनेको भान्सामा तेलका कारण लाग्ने किसिमको आगो हो।
‘कुन वर्गको आगो कसरी र केमार्फत निभाउने भन्ने कुरा आउँछ। ताप, इन्धन र अक्सिजनको समिश्रणले आगो बल्ने हो। यी तीन तत्व मध्ये एउटामात्र हटाइयो भने आगो नियन्त्रणमा आउँछ। जलन हुने मुख्य तत्व इन्धन नै हटाउन सकिन्छ। यसलाई स्टार्भेसन भनिन्छ,’ उनले भने,’अर्को आगो उत्पन्न गर्ने कुरालाई हटाइयो भने यो कुलिङ हो। जस्तै लाइटरबाट आगो सुरु भएको छ भने पानी हाल्न सकिन्छ।’
अक्सिजन हटाएर पनि अग्नि निवारण गर्न सकिने तरिका रहेको उनले जानकारी दिए। उदाहरणका लागि उनले ग्यास लिकेज भएको अवस्थामा केही वस्तुले ढाकेर अक्सिन नै प्रवाह रोक्दा पनि अग्नि निवारण गर्न सकिने उनले बताए। उनका अनुसार यसलाई ‘स्मुदरीङ’ भनिन्छ।
‘जहाज दुर्घटनामा फायरम्यानको एउटा फर्मुला हुन्छ। यो पीएएसएस (पास) हो। प्रेस टु द टार्गेट, एम टु द टार्गेट, स्क्विज, स्विप आउट साइड बाइ साइड हो। आगो लाग्दा उद्धार टोलीले अग्नि निवारण भए लगत्तै सुरुमा आगो निभाउनु पर्छ,’ उनले भने।
उनका अनुसार उक्त आगलागी दुर्घटना ‘क्याटगोरी नाइन’ अन्तर्गत रहेका कारण तीन वटा अग्नि निवारक सवारीसाधन प्रयोग गरिएको थियो। विमानस्थलको वर्गअनुसार जहाज राखिने उनले जानकारी दिए।
फायर फाइटर टोलीलाई ओशो तपोवन लैजाने तयारी
ड्युटीमा आरोप प्रत्यारोप खेपेका कर्मचारी यतिबेला मानसिक परामर्शमा छन्। उनीहरुलाई नागरिक उड्डयन प्राधिकरणले ओसो तपोवनमा ध्यान (मेडिटेसन)का लागि पठाउने तयारी गरेको छ।
‘आगलागी आफैंमा भयानक दुर्घटना हो। यसमा उद्धारमा खटिएर काम गर्नु भनेको खेत जोतेजस्तो काम होइन। काम गर्दा गर्दै जस पाएन भने त राम्रो भएन नि। दुर्घटनास्थलमा अग्नि निवारण गरेर उद्धार गर्नका साथै आवश्यक पर्दा डेड बडीको सबै पार्ट संकलन गर्नुपर्ने हुन्छ। यो त सानो कुरो होइन नि,’ प्राधिकरणका एक कर्मचारीले भने।