काठमाडौं। ग्रेट वाल मोटरको हाइब्रिड गाडी ‘ट्यांक ५००’ काठमाडौं आइपुगेको छ। आधिकारिक बिक्रेता भिजी इम्पेक्स प्रालिले गाडी शुक्रबार शोरुममा ल्याइ पुर्याएको हो।
यो गाडी कम्पनीले आगामी भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा राख्ने तयारी गरिरहेको छ।
गाडी अफरोडर भएकाले नेपालका सबै टेरियन्टमा जाने कम्पनीले जनाएको छ। यसमा फोर ह्वील सिस्टम छ। ७६ लिटर क्षमताको फ्युल ट्यांक रहेको गाडीमा ९ स्पिडको अटोमेटिक गियर बक्स उपलब्ध छ। गाडी हाइब्रिड भएकाले ८.५ लिटर इन्धनले १०० किलोमिटर दूरी पार गर्न सकिन्छ।
१९९८ सीसी क्षमताको इन्जिन रहेको गाडीमा इलेक्ट्रिकतर्फ ७५ किलोवाट क्षमताको मोटर राखिएको छ। यसको इन्जिनले ३८० एनएम टर्क उत्पादन गर्छ भने इलेक्ट्रिक मोटर पावरले २६८ एनएम टर्क उत्पादन गर्न सक्छ। इन्धन इन्जिन र इलेक्ट्रिक दुबैको कम्बाइन पावर २५५ किलोवाट छ।
२२४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको गाडीमा अटोमेटिक भेहिकल होल्ड, अफरोड सस्पेन्सन, बडी अन फ्रेम च्यासिस, अपहिल र डाउनहिल असिस्ट जस्ता फिचर छन्।
यस्तै भेन्टिलेटेड सिट, १२ वटा इन्फिनिटी स्पिकर, इलेक्ट्रिकल एडजस्टेबल सिट, एसी, १२.३ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, इन्टेलिजेन्ट ककपिट, वायरलेस मोबाइल चार्जिङ, १४.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम पनि गाडीमा उपलब्ध छन्।
३६० डिग्री क्यामेरा, ६ वटा एयरब्याग, अटो पार्किङ, ट्राफिक सिग्नल रिकग्निसन, इन्टेलिजेन्ट क्रुज असिस्टेन्ट, लेन किपिङ असिस्टेन्ट, ब्लाइन्ड स्पट डिटेक्सन जस्ता सेफ्टी फिचर रहेको गाडी अधिकतम खुद्रा मूल्य १ करोड ९१ लाख रुपैयाँ राखेर कम्पनीले गाडी नेपाल ल्याएको हो। यसमा केही परिवर्तन हुन सक्ने कम्पनीले जनाएको छ।