काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले झापाको धुलाबारीस्थित निर्माणाधीन होटल बेचेका छन्। उनले गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष रहेका बीबी होल्डिङ्सका अध्यक्ष भवन भट्टलाई होटल बेचेका हुन्।
होटलको स्वामित्व लिएबापत भट्टले १ अर्ब १५ करोड रुपैयाँ बुझाएका छन्। होटल पाँच तारेस्तरको हो। भट्टले होटल ‘बीबीज वन्डरल्याण्ड’का नाममा चलाउने छन्। आगामी सात महिनामा क्यासिनो सहितको सेवा सुरु गर्ने भट्टको योजना छ।
‘हामीले निर्माणाधीन होटल खरिद गरेका हौं। होटलको स्ट्रक्चरको काम सकिसकेको छ। फिनिसिङको काम ७ महिनाभित्र पूरा गरेर क्यासिनोसहित सेवा सुरु गर्नेछौं,’ बीबी होल्डिङ्सका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘नेपालीसँगै भारतीय पर्यटक र वेडिङ डेस्टिनेसनलाई मध्यनजर गर्दै होटलमा लगानी गरेका हौं।’
होटल ५ विघा क्षेत्रफलमा छ। पहिलो चरणमा ९८ वटा कोठा सञ्चालनमा ल्याउने कम्पनीको योजना छ। पछि थप चारवटा भिल्लासहित होटल २०० कोठामा विस्तार गर्ने योजना रहेको कम्पनीका ती कर्मचारीले बताए।
होटल फुलफ्लेजमा सञ्चालनमा ल्याउँदासम्म ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। होटलमा क्यासिनो सञ्चालनमा ल्याउनका लागि भट्टले एउटा भारतीय कम्पनीसँग कुरा गरिसकेका छन्।
‘होटलको व्यवस्थापन हामी आफैंले गर्नेछौं। होटलमा अध्यक्षज्यूको लामो अनुभव छ। त्यही कारण होटलको व्यवस्थापन अरुलाई दिने सोच छैन,’ ती कर्मचारीले भने, ‘निकट भविष्यमा मुलुकका विभिन्न ठाउँमा बीबीज वन्डरल्याण्डको सञ्जाल विस्तार गर्ने योजनामा छौं।’
भट्टसँग जापानमा रेस्टुरेन्ट चलाएको अनुभव छ।
होटलमा इभेन्ट हल, डिस्को थेक, दुईवटा रेष्टुरेन्ट, बैठक कक्ष, स्विमिङ पुल, स्पा, ध्यान कक्ष लगायत पर्यटक लक्षित सेवा सुविधा समावेश गर्ने कम्पनीले बताएको छ।
भट्टले धुलिखेल माउन्टेन रिसोर्ट बिक्री गरेको ६ महिनापछि धुलाबारीमा निर्माणाधीन होटलमा लगानी गरेका हुन्। उनले एक दशकअघि बन्द भएको बीबी एयरवेज सञ्चालनमा ल्याउने तयारी गरेका छन्। न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने गरी कम्पनीले आवश्यक तयारी गरिरहेको छ।