बाँच्न सफल पाइलट मनिषरत्नको बयान- ५०/१०० मिटर उडेपछि विमान खस्यो, कन्ट्रोल गर्नै सकिन

बिजमाण्डू
२०८१ साउन १० गते ११:२६ | Jul 25, 2024
बाँच्न सफल पाइलट मनिषरत्नको बयान- ५०/१०० मिटर उडेपछि विमान खस्यो, कन्ट्रोल गर्नै सकिन

काठमाडौं। डा. मीना थापालाई सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको ११ बजेर २२ मिनेटमा थाहा भयो। काठमाडौं मेडिकल कलेज (केएमसी)की मेडिकल डाइरेक्टर थापाले दुर्घटनाग्रस्त विमानमा सवार घाइतेहरुको उपचारका लागि आफ्नो टिमलाई तयार पारेर राखिन्।

Tata
GBIME
NLIC

विमानका पाइलट क्याप्टेन मनिषरत्न शाक्यलाई त्यहाँ लगियो। केएमसीमा उपचार सुरु भयो। अहिले उनी स्वस्थ देखिएका छन्। विमानमा सवार १९ मध्ये उनी मात्र बाँच्न सफल भए। डा. थापाले क्याप्टेनसँग सामान्य कुराकानी गरेकी छन्। डा. थापाले क्याप्टेनसँग भएको संवाद लगायत उपचारका बारेमा बिजमाण्डूसँग एक्सक्लुसिभ कुराकानी गरेकी छन्।

***

दुर्घटनापछि ११:२२ तिर खबर आयो। खबर हुनेबित्तिकै हामी यहाँ तयारीमै थियौं। क्याप्टेन मनिषरत्न शाक्यलाई हाम्रो हस्पिटल ल्याइयो। यहाँ हामीले इमर्जेन्सीमा राख्यौं।

सीटी स्क्यान, भिडियो एक्सरेदेखि लिएर ब्लड टेस्टहरू सबै गरायौं। त्यतिबेला देखिएको बाहिरी चोट भनेको आँखाको परेला पूरै काटिएको थियो। टाउको र निधारमा चोट लागेको थियो। नाकको हड्डी भाँचिएको थियो।

सीटी स्क्यानको सुरुको स्क्रिनिङबाट हामीले टाउकोमा हड्डीको बाहिरपट्टी रगत जमेको र इम्प्याक्टको कारणले गर्दा भित्र मस्तिष्क थोरै सुन्निएको मात्रै देखियो। कम्मरको दुईवटा हड्डी पनि क्र्याक भएको देखियो। त्यसपछि अर्को सीटी स्क्यानको बेलुकाको रिपोर्टमा करङको दुई वटा हड्डी भाँचिएको देखियो। अरु ठाउँ चोट पुगेको देखिएन।

हिजो नै अपरेसन थिएटरमा ती सबै चोटको उपचार गर्‍यौं। इन्डो सर्जन, ईएनटी सर्जन र थर्मोलोजिस्टको टोलीले अपरेसन गर्‍यो। उहाँलाई झण्डै साढे ६ बजेतिर निकालेर आइसीयूमा राख्यौं।

अहिलेसम्म आइसीयूमै अब्जरभेसनमा राखिरहेका छौं। उहाँ कुराकानी गर्न सक्नुहुन्छ। उहाँसँग कुराकानी गर्दा -‘मैले उठाउने (विमान) कोसिस गर्दै थिएँ, ५०/१०० मिटर माथि पुगेपछि मैले कन्ट्रोल गर्न सकिन। त्यसपछि तल झरियो। झरेपछि म कताकताबाट बाहिर निस्कें। सास फेर्न गाह्रो भएको जस्तो भयो। त्यसपछि मलाई रेस्क्यू गरेर ल्याइयो। माथि नै धुँवाको बास्ना आयो।

डा. मीना थापा

उहाँ (क्याप्टेन) बोल्नुहुन्छ। हामीले आजदेखि झोल खानेकुरा खान दिएका छौं। कन्डिसन धेरै स्ट्रेसफुल भएका कारण हामीले धेरै कुराहरू सोधेका छैनौं। उहाँलाई सजिलो बनाउने कोसिस मात्रै गरिरहेका छौं।

भाग्यले बाँचे भनेर खुसी भइरहनु भएको छ। अहिले यतिबेला त उहाँ खतरामुक्त हुनुहुन्छ। तर, केही जटिलता छ कि छैन भनेर एमआरआई गर्ने योजनामा छौं। एमआरआईको रिपोर्ट आएपछि अरु जटिलता छैन भने आइसीयूबाट बाहिर निकाल्ने कि भन्ने सल्लाह भएको छ।

हिजो इमर्जेन्सीमा हुँदा नै परिवारले भेटिसक्नुभएको छ। उहाँको श्रीमती, बुवा आमा र अन्य आफन्तले भट्नुभएको थियो। अहिले त्यति धेरै स्वास्थ्य जटिलता छैन।