सहकारीका मार्टको सामान लिइ दाबी मिलान गर्न शिवशिखर र तुलसीका बचतकर्तालाई आह्वान

बिजमाण्डू
२०८१ असार ३० गते १०:२३ | Jul 14, 2024
सहकारीका मार्टको सामान लिइ दाबी मिलान गर्न शिवशिखर र तुलसीका बचतकर्तालाई आह्वान

काठमाडौं। समस्याग्रस्त दुई सहकारी संस्थाका बचतकर्तालाई विभिन्न स्थानमा सञ्चालित मार्टका सामान लिएर बचतको दाबी मिलान गर्न दिइने भएको छ। यसका लागि आवेदन आह्वान गरिएको छ।

Tata
GBIME
NLIC

कौशलटार केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत भदौ २५ मा समस्याग्रस्त घोषणा गरेको थियो। पक्राउ गरिएका सञ्चालक समिति पदाधिकारी थुनामा छन्।

दुवै सहकारी संस्थाको लगानीमा देशका विभिन्न स्थानमा गार्डेन मार्ट सञ्चालनमा थिए। सहकारी ऐन, २०७४ को परिच्छेद १८ को दफा १०६ को खण्ड (ज) बमोजिम सहकारी संस्थाको सम्पत्ति बेचबिखन, व्यवस्थापन गर्ने क्षेत्राधिकार आफूसँग रहेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयले आइतबार सूचना जारी गरेको हो।

‘यस समितिबाट सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम दाबी पेस गर्ने सूचनाको आधारमा आधिकारिक रुपमा मात्र दाबी पेस गरेको बचतकर्ताहरु सरोकारवाला वा अन्य व्यक्तिले सामान लिई आफ्नो बचत दाबी फिर्ता लिन चाहेमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तत् तत् स्थानीय निकाय (गार्डेन मार्ट रहेको महानगर, उप-महानगर, नपा र गापा) को सहकारी शाखामा निवेदन दिनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ’ सूचनामा भनिएको छ।

शिवशिखरका १७ र तुलसी सहकारीका चार ठाउँमा गार्डेन मार्ट छन्। शिवशिखरको काठमाडौं, भक्तपुर, कीर्तिपुर, बागलुङ, पोखरा, सुर्खेत, बाँके, दाङ, कञ्चनपुर, डडेल्धुरा, चितवन र रुपन्देहीमा मार्ट रहेको सूचनामा जनाइएको छ।

यसैगरि तुलसी सहकारीका झापाको दमक, मोरङको लेटाङ, उदयपुरको त्रियुगा-११ र सिरहाको गोलबजारमा मार्ट छन्। बचतकर्ताको रकम हिनामिना गरेको उजुरी परेपछि दुवै संस्थाका सञ्चालक कार्बाहीमा परेका छन्। संस्थासँगै कारोबार बन्द छ। बचतकर्ताले आफ्नो पैसा फिर्ता मागिरहेका छन्।