काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएको छ।
महान्यायाधिवक्ता दिनमणि पोखरेलले धितोपत्र ऐनलाई देखाएर अध्यक्षमा २ जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने राय दिएका हुन्। पोखरेलको रायसहितको पत्र अर्थ मन्त्रालय पुगेको छ। सोमबार अपराह्न महान्यायाधिवक्ताको राय पाएपछि मन्त्रालय छलफलमा छ।
धितोपत्र ऐनमा अध्यक्षका लागि कम्तिमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।
महान्यायाधिवक्ता पोखरेलले अध्यक्षका लागि ३ जना वा त्यसभन्दा बढी कति जनाको नाम सिफारिस गर्ने भन्नेबारे निर्णय गर्ने अधिकार अध्यक्ष सिफारिस समितिमा निहित रहेको बताएका छन्।
सरकारले सेबोनको अध्यक्षमा नाम सिफारिस गर्नका लागि गत माघ पहिलो साता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो। समितिमा अर्थसचिव मधुकुमार मरासिनी र उदय निरौला सदस्य छन्।
समितिले सेबोनको अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्येबाट ५ जना सर्टलिस्ट गरी असार २ गते २ जनाको अन्तर्वार्ता लिएको थियो। सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले त्यसै दिन अन्तर्वार्ताअघि कार्ययोजना प्रस्तुत गरेका थिए। तीन जना भने अनुपस्थित भएका थिए।
समितिले गयल भएका कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी र चिरञ्जीवी चापागाईंका लागि कार्ययोजना प्रस्तुत गर्न र अन्तर्वार्ता प्रयोजनका लागि असार ५ गतेको मिति तय गरेको थियो।
तर, उनीहरु तीनै जना दोस्रो पटक पनि अनुपस्थित भएका थिए। कार्की नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत, अधिकारी सेबोनका कार्यकारी निर्देशक र चापागाइँ नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष हुन्।
त्यसपछि अर्थ मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग परामर्श मागेको थियो।