काठमाडौं। सेयर बजारमा ५.३७ अंकको गिरावट आएको दिन ५ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ।
साताको पहिलो दिन आइतबार नेप्से २०६४.९४ विन्दुमा झरेकामा रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, मैलुङ खोला जलविद्युत कम्पनी र नेपाल फाइनान्सको सेयर भाउ १० प्रतिशतले उकालो लागेको हो।
रिलायन्स र नेपाल फाइनान्स सर्वाधिक कारोबार हुने ५ कम्पनीको सूचीभित्र छन्। सबैभन्दा धेरै कारोबार भने पोखरा फाइनान्सको भएको छ। यो कम्पनीको १७ करोड १३ लाख ५२ हजार रुपैयाँको सेयर किनबेच भएको छ।
सर्किट लागेको नेपाल फाइनान्सको १३ करोड ५८ लाख ९९ हजार र रिलायन्स फाइनान्सको १३ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
बजारमा आइतबार ३१७ कम्पनीको सेयर किनबेच भएकामा ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको मूल्य ओरालो लागेको छ। बजारमा ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ।