बलियो बलिङ तर कमजोर ब्याटिङ, अब कस्तो होला नेपाली क्रिकेट टोलीको यात्रा ?

मुकुन्द घिमिरे
२०८१ असार ५ गते ०६:२१ | Jun 19, 2024
बलियो बलिङ तर कमजोर ब्याटिङ, अब कस्तो होला नेपाली क्रिकेट टोलीको यात्रा ?
Photo : Getty Images

काठमाडौं। आईसीसी टी-२० विश्वकपमा समूह चरणका खेलहरू सकिएका छन्। प्रतियोगिताको ४ समूहका शीर्ष दुई टोलीको टुंगो लागेपछि सुपर-८ का खेलहरू बुधबारबाट सुरु हुँदैछ।

Tata
GBIME
NLIC

२० टोली सहभागी प्रतियोगिताबाट नेपाल समूह चरणबाटै बाहिरिसकेको छ। ४ खेलमध्ये श्रीलंकाविरुद्धको खेल वर्षाले बाधा गर्दा पाएको अंकमात्र नेपालको खातामा रह्यो। समूह चरणबाट एकमात्र एसोसिएट टोली अमेरिकाले सुपर ८ मा स्थान बनाउँदा बाहिरिने टोलीमा नेपालसहितका एसोसिएटमात्र नभइ पूर्वविश्वकप विजेता टोलीसमेत रहे।

समूह चरणबाट बाहिरिने हेभिवेट टोलीमा पाकिस्तान, श्रीलंका, न्युजिल्याण्ड र आयरल्याण्ड रहे। त्यस्तै, एसोसिएट्सबाट नेपाल, नेदरल्याण्ड्स, ओमन, पपुवा न्युगिनी, स्कटल्याण्ड र नामिबिया, युगाण्डा पनि बाहिरिए।

बंगलादेशसँगको खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले बलिङ युनिटका रुपमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा भने कमजोरी भएको स्वीकारे।

Photo by Matt Roberts-ICC/ICC via Getty Images

‘मलाई लाग्छ ब्याटिङ युनिटको रूपमा हामीले अझ राम्रो गर्न सक्थ्यौं। मलाई लाग्छ कि आगामी भविष्यमा हामी सक्छौं। र, हामी सुधार गर्नेछौं। ब्याटिङ युनिट र हामीले ब्याट्सम्यानको रूपमा माथि उठ्न आवश्यक छ। विशेष गरी शीर्ष क्रमको ब्याटरले जिम्मेवारी लिनुपर्छ र हामीले सबै २० ओभर ब्याटिङ गर्नुपर्छ।’ उनले भने।

त्यो २०१४, यो २०२४

सन् २०१४ मा विश्वकप खेलेर २०२४ मा दोस्रो पटक विश्वकपमा पुग्दा नेपालको अंकतालिका भने कमजोर देखिएको छ। सन् २०१४ मा विश्वकप पुग्दा तीन मध्ये दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको नेपालले यसपाला भने एउटै खेल जित्न सकेन।

श्रीलंकासँग वर्षाका कारण बाँडिएको अंक नेपालको खातामा रहेको एउटै अंक रह्यो। सन् २०१४ मा नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो भने बंगलादेशसँग पराजित भएको थियो।

त्यसबेला नेपाललाई रनरेटमा पछि पार्दै बंगलादेश अर्को चरणमा पुगेको थियो। यसपाला भने एक खेल बाँकी छँदै नेपाल विश्वकपबाट बाहिरियो।

Photo by Matthew Lewis-ICC/ICC via Getty Images

बलियो बलिङ, अधैर्य ब्याटिङ

विश्वकपको ठीक अघि भारतमा इण्डियन प्रिमियर लिग (आईपीएल) चलिरहेको थियो। ब्याटिङमैत्री आईपीएलमा एकपछि अर्को रनको रेकर्ड बनिरहेको थियो। २ सय भन्दा तलको रन डिफेन्ड गर्न मुस्किल पर्ने अवस्था थियो। तर, केही हप्ताको फरकमा सुरु भएको विश्वकपमा दृश्य फरक छ।

समूह चरणमा मंगलबार अफगानिस्तान र वेस्ट इण्डिजले प्रतियोगिताको ४० औं खेल पूरा गर्‍यो। तर, हालसम्म कुनै पनि ब्याटरले शतक प्रहार गर्न सकेका छैनन्। ४० खेल सकिँदा तीन पटकमात्र २०० को आँकडाको इनिङस् पार हुन सक्यो। तर, १०० भन्दा कम रन १३ खेलमा बन्यो। जसमा तीनपटक पचास भन्दा तलको स्कोरमा कुनै टोली अलआउट भएको पनि देख्न पाइयो।

सबै टोलीले ब्याटिङमा संघर्ष गरिरहँदा नेपाल पनि यसमा अछुतो रहन सकेन। जारी विश्वकपमा नेपालको तर्फबाट ११४ रन बन्यो दक्षिण अफ्रिकाविरुद्ध। त्यस्तै नेदरल्याण्ड्सविरुद्ध १०६ रनमा समेटिएको नेपाल बंगलादेशविरुद्ध ८५ रनमै समेटियो। नेपालका लागि सर्वाधिक रन आशिफ शेखको ब्याटबाट बन्यो। उनले ३ इनिङ्सबाट ६३ रन बनाए।

बलिङतर्फ भने नेपालले प्रभावशाली प्रदर्शन गर्‍यो। बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६ विकेट लिँदा कुशल भुर्तेलले ४, सोमपाल कामीले ३, रोहित कुमार पौडेल र सन्दीप लामिछानेले २ तथा अभिनास बोहराले १ विकेट लिए। यसमा सबैभन्दा किफायती सोमपाल कामी रहे।

बलिङमा नेपालले बंगलादेशलाई अलआउट गराउँदा दक्षिण अफ्रिकाको ७ विकेट लिएको थियो भने नेदरल्याण्ड्सको ४ विकेट लिएको थियो।

Photo by Matt Roberts-ICC/ICC via Getty Images

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान लेख क्षेत्री नेपाली क्रिकेट टोलीले विश्वकपमा आफूलाई एक प्रतिस्पर्धी बलिङ टोलीका रुपमा पुनः प्रमाणित गरेको मान्छन। तर, सँगसँगै कमजोर ब्याटिङ एवम् अपरिपक्व टोलीका रुपमा आफ्नो विश्वकप यात्रा समाप्त गरेको बताउँछन्।

‘गम्भीरता र जिम्मेवारीका साथ भन्छु, सम्बन्धित निकायहरूले दीर्घकालीन लक्ष्य केन्द्रित योजना र मार्गचित्र बनाउन गहनता एवम् इमानदारीपूर्वक विश्लेषण गरि कठोर तथा देश हितमा निर्णय गर्न ढिलो गर्न हुँदैन। हाम्रा केही खेलाडीहरूमा क्रिकेटको आधारभूत ज्ञानको कमी पनि प्रष्ट देखियो र देखिन्छ पनि,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

दक्षिण अफ्रिकाविरुद्धको सनसनीपूर्ण खेल

विश्वकपमा चर्चा पाएको नेपालको खेल रह्यो दक्षिण अफ्रिकाविरुद्धको खेल। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वरीयतामा पाचौं स्थानमा रहेको दक्षिण अफ्रिकाविरुद्ध नेपाल जितिसकेको खेलमा १ रनको हार ब्यहोर्न पुगेको थियो।  

सेन्ट भिन्सेन्टको किंग्स टाउनस्थित आर्नोस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो।

सुरुवाती ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकालाई नेपालले ११५ रनमा रोक्न सफल भएको थियो। जवाफी ब्याटिङमा उत्रिएर १३.४ ओभरमा ८५-३ को सहज अवस्थामा रहेको नेपालले लक्ष्य भेट्टाउन भने सकेन। अन्तिम दुई बलमा २ रन चाहिएको नेपालले रन जोड्न नसक्दा विश्वकपको ठूलो ‘अपसेट’ मध्येको एक बनाउन बाट नेपाल चुक्यो।

Photo by Matthew Lewis-ICC/ICC via Getty Images

तर बलियो दक्षिण अफ्रिकाविरुद्ध नेपालको ‘करेज’ लाई लिएर विश्व क्रिकेटको ध्यान भने नेपालले तान्न सफल भयो। आईपीएलका अधिकांश फ्रेन्चाइजी, आईसीसी र क्रिकेटका स्टेक होल्डरलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि नेपालको खेलको राम्रै चर्चा गरे।

अब के?

नेपालको विश्वकपको यात्रा सकिएको छ। अब अर्को ठूलो प्रतियोगिता एसिया कप क्रिकेट र इमर्जिङ टिम एसिया कपका लागि नेपाल यो वर्ष छनोट हुन असफल भइसकेको छ। यस्तोमा नेपालको अबको ध्यान एकदिवसीय क्रिकेटतर्फ मोडिने देखिन्छ।

क्यानको क्यालेन्डर अनुसार जुलाइ/अगस्टमा नेपालको प्रस्तावित बेलायत टुर हुनेछ। क्यानले यो प्रस्तावित टुरमा कुन टोलीसँग खेल्ने भन्ने खुलाएको छैन। तर ओडीआइ र टी-२० खेल हुने उल्लेख गरेकोमा त्यहाँको स्थानीय टोलीसँग खेल हुने आँकलन गर्न सकिन्छ।

यसबाहेक क्यानले सिरिज विश्वकप पछि क्यालेन्डर बाहेक पनि सिरिजको तयारी भने गर्नसक्छ।

त्यसपछि सेप्टेम्बर महिनामा नेपालले क्यानडाको यात्रा गर्नेछ। चारवटा टी-२० अन्तर्राष्ट्रियसँगै क्रिकेट विश्वकप लिग-२ का खेल खेल्नेछ। नेपालको अबको ध्यान खास गरि लिग-२ मा केन्द्रित बन्ने देखिन्छ।

८ टोली सहभागी लिग-२ मा ४ खेल खेलेको नेपाल २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ। यद्यपि ओमन र अमेरिकाले आफ्नो एउटै खेल खेलेका छैनन्। समान ४ खेल खेल्दा सबैमा जित निकालेको क्यानडा शीर्षस्थानमा छ।