नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्ने रेसमा १७ जना, क-कसले बुझाए आवेदन ?

उन्नत सापकोटा
२०८१ असार ४ गते १७:२८ | Jun 18, 2024
नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्ने रेसमा १७ जना, क-कसले बुझाए आवेदन ?

काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाले आवेदन दिएका छन्। मंगलबार अपराह्‍न ५ बजेसम्मको समय रहेकामा १७ जनाले आवेदन पेस गरेका हुन्।

Tata
GBIME

आवेदन बुझाउनेमा टेलिकमकी बहालवाला निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीदेखि जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा सम्म छन्।

सञ्चार मन्त्रालय स्रोतका अनुसार आवेदन बुझाउनेमा पहाडीसँगै राजेश जोशी, अनन्तप्रकाश मल्लिक, डा. बिमल आचार्य, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा. शालिग्राम पराजुली छन्।

यस्तै, लक्ष्मण महर्जन, सुवास साह, नागेन्द्रकुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी र शालिकराम सुवेदीले आवेदन बुझाएका छन्। टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले अन्तिम समयमा निवेदन दिएका छन्।

उनले यसअघि २०७१ भदौ तेस्रो सातादेखि २ वर्ष टेलिकमको प्रबन्ध निर्देशकका रुपमा काम गरेका थिए। त्यसपछि दोहोरिन निरन्तर प्रयास गरेपनि राजनीतिक नेतृत्वलाई रिझाउन नसक्दा उनी नियुक्ति पाउन असफल भएका थिए।

आवेदन बुझाएकामध्ये अधिकांश टेलिकममा कार्यरत छन्। राजेश, बिमल, अनन्तप्रकाश, प्रेमप्रसाद, कृष्णप्रसाद, डा. शालिग्राम, लक्ष्मण, सुवास, केदारनाथ, कमल र शालिकराम टेलिकमकै कर्मचारी हुन्।

बराल नेपाल टेलिभिजनमा निर्देशकको रुपमा कार्यरत छन् भने झा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक हुन्। जोशीसँग सर्वोच्च अदालतमा सूचना प्रविधि परामर्शदाताका रुपमा काम गरेको अनुभव छ।

सरकारले टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि आवेदन खुलाउनुअघि जेठ १७ गते मापदण्ड संशोधन गरेको थियो। नियुक्ति प्रक्रिया र सेवा सुविधासम्बन्धी निर्देशिका संशोधनमार्फत उमेर हद बढाउनेदेखि अनुभव घटाइएको थियो। मापदण्ड फेरेको ५औं दिनमा सञ्चार मन्त्रालयले गत जेठ २२ गते टेलिकमको प्रबन्ध निर्देशकका लागि १५ दिनको समय दिएर दरखास्त आह्‍वान गरेको थियो।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मन्त्री शर्माले टेलिकमको प्रबन्ध निर्देशक बनाउने सूचीमा दुई जनालाई राखेकी छन्। पहिलोमा टेलिकमकै डा. आचार्य र दोस्रोमा जनक शिक्षाका झा छन्।

झालाई ल्याउन मिल्ने गरी शैक्षिक योग्यतामा सिभिल इन्जिनियर र मेकानिकल इन्जिनिर राखिएको हो। झा सिभिल इन्जिनियर हुन्। सिभिल मात्रै थप्दा शंकास्पद हुने भएकाले सञ्चार मन्त्रालयले मेकानिकल इन्जिनियर पनि थपेको हो।

‘उमेर हद पनि ५६ बाट ५८ बनाउँदा झालाई नै सहज हुन्छ। झा ५६ वर्ष नाघिसकेका छन्,’ स्रोतले भन्यो। झाले हरेक सार्वजनिक संस्थानमा कार्यकारी प्रमुख नियुक्तिका लागि सूचना आउँदा आवेदन हाल्ने गरेका छन्। उनले यसअघि नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि समेत आवेदन हालेका थिए।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्ष भन्ने व्यवस्था डा‍. आचार्यका लागि हटाइएको हो।

‘कम्तीमा ३ वर्ष राख्दा झालाई त समस्या भएन तर, आचार्यको योग्यता नपुग्ने भएकाले अनुभव घटाइएको हो,’ स्रोतले भन्यो।

डा. आचार्य टेलिकमका १०औं तहका कर्मचारी हुन्। उनी अहिले टेलिकमको मुख्यालयमा कार्यरत छन्। उनले यसअघि पनि प्रबन्ध निर्देशक बन्न आवेदन दिएका थिए। २०७५ पुसमा आचार्य सिफारिसमा परेका थिएनन्।

संशोधनअघि निर्देशिकामा मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्यूनिकेसन इन्जिनियरिङ र कम्प्यूटर इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था थियो।

त्यसैगरी, प्रबन्ध निर्देशकका लागि आवेदन दिने अधिकतम उमेर ५६ वर्षबाट बढाएर ५८ वर्ष पुर्‍याइएको छ भने व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था हटाइएको छ।

भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध गत असोज १५ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि टेलिकम नेतृत्वविहीन बनेको थियो। उक्त मुद्दामा पौडेललाई विशेष अदालतले गत वैशाख ७ गते दोषी ठहर गरिसकेको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा विवादित पौडेललाई त्यहाँ कार्यकारी निर्देशकको कार्यकाल पूरा नहुँदै तत्कालीन सरकारले मापदण्ड फेरेरै २०७८ चैत २४ मा टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो। पौडेल भ्रष्टाचार मुद्दा लागेर निलम्बित भएपछि सरकारले टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पहाडीलाई दिएको थियो।