
काठमाडौं । कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा सात अर्ब ३२ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो।
सो अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ७७ करोड ५८ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ९५ करोड ५२ लाख, अन्तःशुल्कतर्फ १८ करोड ९५ लाख र अन्यतर्फ एक अर्ब ४० करोड आठ लाख रुपैयाँ राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए।
चालु आर्थिक वर्ष भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ६३.२१ प्रतिशत रहेको उनले जानकारी दिए।
सूचना अधिकारी खड्काका अनुसार चालु आर्थिक वर्ष साउनमा ४६ करोड ८२ लाख, भदौमा ५१ करोड ९३ लाख, असोजमा ६३ करोड १४ लाख, कात्तिकमा ६१ करोड ४६ लाख, मङ्सिरमा ७३ करोड ३४ लाख र पुसमा ६८ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको छ।
त्यस्तै, माघमा ६६ करोड ६७ लाख, फागुनमा ६९ करोड एक लाख, चैतमा ७२ करोड १३ लाख, वैशाखमा ७५ करोड १७ लाख र जेठमा ८३ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए।
‘आयातमा वृद्धि हुन सकेको छैन, निर्यात नगन्य मात्रामा हुन्छ। पूँजीगत खर्च कम छ,’ खड्काले भने, ‘बढी राजस्व संकलन हुने वस्तुको आयातमा कमी छ। जसले गर्दा राजस्व संकलन लक्ष्यमा पुग्न सकिरहेको छैन। अब एक महिना मात्रै बाँकी छ, राजस्व संकलन लक्ष्यमा पुग्ने सम्भावना न्यून छ।’
भन्सार कार्यालयको गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३० करोड ६६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा ८ अर्ब २९ करोड ६३ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। त्यो लक्ष्यको ६७.४१ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ।