
काठमाडौं। नेपालमा एसेम्बल गरिएको भेन्युको मूल्य ४ लाख रुपैयाँसम्म कम हुने भएको छ।
गत वैशाख २८ गते नेपालमा नै एसेम्ब्लिङ प्लान्ट सुरु गरेको हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले आयात गरिएको भेन्युभन्दा एसेम्बल गरिएको भेन्यु ४ लाखसम्म कम मूल्यमा दिने तयारी गरेको कम्पनी स्रोतले जानकारी दियो।
कम्पनीले आयात गरेको भेन्यु एस भेरियन्टको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ छ। यस्तै भेन्यु एसएक्सको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ छ। तर, अहिले नेपालमा एसेम्बल गरिएको भेन्यु एस र एसएक्सको मूल्य ४ लाख रुपैयाँसम्म घटाउने कम्पनीको तयारी छ।
कम्पनीले अहिले दुई वटा भेरियन्टको गाडी एसेम्बल गरिरहेको छ। घटाएपछि भेन्यु एसको मूल्य ४४ लाख ९६ हजार र भेन्यु एसएक्सको ५३ लाख ९६ हजार रुपैयाँ कायम हुनेछ।
लक्ष्मी हुण्डाईले एसेम्बल गाडी ग्राहकलाई ५ लाखभन्दा पनि बढी मूल्य घटाएर दिने योजना बनाएको थियो।
‘तर, सरकारले आर्थिक विद्येयकमार्फत पेट्रोलियम गाडीमा सडक कर २ प्रतिशतले बढाएको छ। जसका कारण एउटा गाडीमा ८० हजारदेखि एक लाखसम्म मूल्य बढ्ने अवस्था सिर्जना भएको छ। यस्तै, एलसी खोल्दा पाइने सहुलियत पनि हटाइएको छ,’ कम्पनी स्रोतले भन्यो, ‘जसका कारण योजना अनुसार मूल्य घटाउन नसक्ने अवस्था भयो।’
दुई पांग्रे सवारी साधन देशभित्रै एसेम्बल भए पनि ग्राहकले सस्तोमा पाएका छैनन्।
कम्पनीले नेपालमा बनेको भेन्युको एस भेरियन्ट ४५ लाख रुपैयाँमा बुधबार बुटवल डिलरबाट डेलिभरी समेत गरेको छ।