
काठमाडौं। आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराएको छ। गएराति अमेरिकाको न्युयोर्क स्थित नासउ काउन्टी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले हराएको हो।
नेपालसमेत रहेको समूह ‘डी’को खेलमा टस जितेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११३ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासनले सर्वाधिक ४६ रन बनाउँदा डेभिड मिलरले २९ तथा क्विन्टन डी ककले १८ रनको योगदान दिए।
बलिङतर्फ बंगलादेशका तान्जिम हसन सकिबले सर्वाधिक ३ विकेट लिँदा तास्किन अहमदले २ तथा रिसद हुसैनले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको बंगलादेश ७ विकेट गुमाएर १०९ रनमा समेटियो। बंगलादेशका ताविद हृदोएले सर्वाधिक ३७ रन बनाउँदा महमुदुल्लाहले २० तथा कप्तान नजमुल हुसैन सान्टोले १४ रन बनाए।
बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले ३ विकेट लिँदा कागिसो रबाडा र एनरिच नोर्कियाले समान २ विकेट लिए।
कस्तो बन्यो समीकरण?
बंगलादेशमाथिको जितसँगै दक्षिण अफ्रिका सुपर ८ को नजिक पुगेको छ। यसमा केही समीकरणको आधिकारिकतामात्र बाँकी छ। दक्षिण अफ्रिकाको तालिकामा ६ अंक छ। दक्षिण अफ्रिकालाई रोकिने एकै तरिका भनेको बंगलादेश, नेदरल्याण्ड या नेपालमध्ये दुई टोली बाँकी खेल जितेर ६ अंक बनाउँदै रनरेट दक्षिण अफ्रिकालाई पछि पार्नु पर्छ। यसका लागि अन्तिम खेलमा यो टोली पराजित हुनुपर्छ।
त्यस्तै यो सुपर ८ को होडमा समान २ अंक बनाएर दोस्रो र तेस्रो स्थानमा रहेका बंगलादेश र नेदरल्याण्ड्स तथा अंकविहीन नेपाल र श्रीलंका पनि कायम छन्। यस्तोमा बंगलादेशलाई बाँकी दुई खेलमा जित पर्याप्त हुनेछ भने नेदरल्याण्ड्स र नेपालले बाँकी खेल जित्दै समीकरण बनाउन सक्छन् तर दुई खेलमा हार ब्यहोरिसकेको श्रीलंकाका लागि भने यो कठिन छ। श्रीलंकाले आफ्ना अन्तिम दुई खेलमा नेपाल र नेदरल्याण्ड्सलाई हराएमा ४ अंक हुनेछ। यस्तोमा दक्षिण अफ्रिकाबाहेकका बाँकी तीन टोलीको ४ अंकभन्दा बढी हुनुहुँदैन। यस्तोमा रनरेटबाटमाथि लगभग अव्यवाहारिक समीकरण भने बाँकी छ।
नेपालले आफ्नो दोस्रो खेलमा भोली बिहान सवा ५ बजे श्रीलंकाविरुद्ध खेल्नेछ।