काठमाडौं। चालु आवकाे १० महिनामा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार कर्जा प्रवाह ४.७ प्रतिशतले बढेको छ।
यातायात, संचार तथा सार्वजनिक सेवा कर्जा १२, निर्माण कर्जा ९.८, औद्योगिक उत्पादन कर्जा ८.१, थोक तथा खुद्रा व्यापार कर्जा ३.१ प्रतिशतले, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.६, सेवा उद्योग कर्जा ५ र कृषि कर्जा ०.४ प्रतिशतले बढेको छ।
नगद प्रवाह कर्जा २५.६, आवधिक कर्जा १८.८,मार्जिन प्रकृतिको कर्जा १२.६ र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.८ प्रतिशतले बढेको छ। अधिविकर्ष कर्जा ४४.७ (पछिल्लो वर्षको कर्जाको पुनर्वर्गीकरणको कारणसमेत), हायर पर्चेज कर्जा २१.८ र ट्रष्ट रिसिट (आयात) कर्जा ०.५ प्रतिशतले घटेको छ।
चालु वर्ष वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.७ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.३ प्रतिशत छ।
६८.५ प्रतिशत कर्जाका लागि घर जग्गा धितो राखिएको छ। यस्तै १२.१ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको राष्ट्र बैंकले जनाएको छ। पोहोर ६७.३ प्रतिशत कर्जामा घर जग्गा धितो राखिएको थियो।