श्री एयरलाइन्स काठमाडौं-भरतपुर उडानको तयारीमा, परीक्षणका लागि माग्यो अनुमति

बिजमाण्डू
२०८१ जेठ २८ गते १५:४१ | Jun 10, 2024
श्री एयरलाइन्स काठमाडौं-भरतपुर उडानको तयारीमा, परीक्षणका लागि माग्यो अनुमति

काठमाडौं। श्री एयरलाइन्सले काठमाडौं-भरतपुर उडानको तयारी थालेको छ। कम्पनीले क्यु ४०० जेट इन्जिन जहाजमार्फत भरतपुरमा उडानको तयारी थालेको हो।

Tata
GBIME
NLIC

कम्पनीले भरतपुरमा परीक्षण उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।

‘बुद्धले प्रयोग गर्दै आएको एटीआर-४२ सिरिजको जहाज फेजआउट हुने चरणमा छ। यसो हुँदा यो गन्तव्यतर्फको उडान सेवा नै ठप्प हुने देखिएकामा श्री एयरलाइन्सले टर्बोप्रोपको उडानका लागि प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले अहिले हामीसँग परिक्षण उडानको अनुमति मागेको छ,’ प्राधिकरणका एक कर्मचारीले भने।

भरतपुर विमानस्थलमा अहिले बुद्ध एयरले मात्र नियमित व्यावसायिक उडान गर्दै आएको छ। बुद्धका तीन वटा एटीआर-४२-३२० सिरिजका जहाजको ‘फ्लाइङ साइकल’ एक वर्षभित्रै सकिने अवस्था छ।

श्री एयरलाइन्सले नियमित उडान गरे यो गन्तव्यमा भाडादर घट्ने विश्वास छ। काठमाडौं-भरतपुर उडानमा बुद्धले अहिले एकतर्फी भाडा ४ हजार ७३९ रुपैयाँ लिंदै आएको छ।

भरतपुर विमानस्थलको धावन मार्ग करिब १३ सय मिटर लम्बाईको छ। जहाँ एटीआर-७२ जहाजको अवतरण गर्न गाह्रै हुन्छ। तर, श्रीसँग रहेको बम्बार्डियर कम्पनीको क्यु-४०० सिरिजको जहाज उडान-अवतरण गर्न कुनै समस्या नहुने प्राधिकरणका ती कर्मचारीले बताए। 

जहाज ८० सिटे हो। यो जहाजमा काठमाडौंबाट ७० र भरतपुरबाट ६० यात्रुलाई सेवा दिन मिल्ने प्राधिकरणका एक प्राविधिकले बताए।  

श्री एयरलाइन्सको टर्बोप्रोपमा नेपालगञ्ज-काठमाडौं सिंगल इन्जिनमै अवतरण गर्न सक्ने क्षमता छ। यसको टेल नै आइएल ७६ ‘सार्क’ डिजाइनको छ। यो भनेको छोटो रनवेमा अवतरण गर्न मिल्ने गरी डिजाइन  गरिएको हो।

जहाज उत्पादक कम्पनी बम्बार्डियर एरोस्पेसले क्षेत्रीय र सर्ट हल रुट अपरेसनलक्षित क्यु ४०० सिरिजका जहाज उत्पादन गरेको हो।