ढोरपाटनको पाखुट्टेदेखि बायखोला-झिम्पा जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति

बिजमाण्डू
२०८१ जेठ २८ गते ०८:२६ | Jun 10, 2024
ढोरपाटनको पाखुट्टेदेखि बायखोला-झिम्पा जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति
फाइल फोटो।

ढोरपाटन। निसीखोलामा पर्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ। विसं २०७३ मा साविक ३ वटा गाउँविकास समितिबाट विनियोजित रकमबाट निर्माण गरिएको उक्त सडक स्तरोन्नति गरिएको हो।

Tata
GBIME

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारको ३० लाख रुपैयाँले सडकको स्तरोन्नति भएको हो। लोकमार्गको वैकल्पिक सडकका रुपमा ढोरपाटन नगरपालिका-२ पाखुट्टेदेखि बायखोला-झिम्पा हुँदै निसी जोडिएको छ। करिब २५ किलोमिटर रहेको यस सडकले निसीखोला गाउँपालिका २, ४ र ५ लाई जोडेको छ।

वैकल्पिक सडक निर्माणका लागि ८ वर्ष अगाडि निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले २/२ लाख रुपैयाँ, अर्थ मन्त्रालयबाट ४० लाख रुपैयाँ, डोलीडारबाट ७ लाख रुपैयाँ, जिल्ला विकास समितिबाट ८ लाख रुपैयाँका लागतमा सडकको ट्रयाक खोलेको निसीखोला गाउँपालिकाका पूर्वअध्यक्ष तारानाथ पौडेलले जानकारी दिए।

उनले भने, ‘यो सडकले यस क्षेत्रका नागरिकको जीवनस्तरनै परिवतन गरि दिएको छ।’

यसभन्दा अगाडि निसीखोलाका कमै मात्र ग्रामीण क्षेत्रमा सडक पुगेका थिए। वैकल्पिक सडक निसीखोलावासीको ‘लाइफ लाइन’का रुपमा रहेको उनी बताउँछन्।

पूर्वअध्यक्ष पौडेलले भने, ‘ट्र्याक खुलेको धेरै वर्षपछि सडकको स्तरोन्नति हुन थालेको छ, म गाउँपालिकाको अध्यक्ष हुने बेलादेखि नै पालिकाबाट बजेट विनियोजन गरेर सडक चौडा गर्ने, नाली निर्माण र ठाउँ-ठाउँमा कल्भर्ट बनाउने काम भएको थियो, कम बजेटका कारण त्यस बेला स्तरोन्नतिले पूर्णता पाएको थिएन, अहिले प्रदेश र केन्द्र सरकारको सानो बजेटले काम भएको छ, यो सडक पूर्णरुपमा स्तरोन्नति भयो भने निसीखोलाका नागरिकलाई यातायात र सामान ढुवानीमा सहज हुनेछ।’

सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले निर्माण कम्पनीले ९० प्रतिशत काम सकेको बताए। खापुट्टेस्थित मध्यपहाडी लोकमार्गको पुलदेखि माथिल्लो क्षेत्रमा काम गरिरहेको उनको भनाइ छ।

स्तरोन्नतिको जिम्मा पाएको सहस्रा कन्स्ट्रसन प्रालिले सडक फराकिलो बनाउने, ग्रेडिङ मिलाउने लगायतको काम गरेको उनले बताए। ५९ लाख १२ हजार ३ सय २६ रुपैयाँमा सम्झौता गरेको निर्माण कम्पनीले असार मसान्तसम्म काम सक्नुपर्ने अधिकारी बताउँछन्। रासस