काठमाडौं। विमानस्थलको ग्राउण्ड ह्याण्डलिङमा नेपाल वायुसेवा निगम (एनएसी)को मोनोपोली तोडिने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायुसेवा प्रदायक निजी कम्पनीलाई पनि ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्न दिने निर्णय गरेको छ।
क्यानले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी कम्पनीलाई पनि ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो। तर, यसका लागि क्यानको सर्त छ। ग्राउण्ड ह्याण्डलिङ सेवाका लागि निजी कम्पनीले गौतम बुद्ध विमानस्थललाई आधार मानेर अन्तर्राष्ट्रिय उडान गर्नुपर्नेछ।
गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि निजी कम्पनीलाई आकर्षित गर्न एनएसीको मोनोपोली तोड्ने निर्णय गरेको क्यानका अधिकारीहरुले बताएका छन्।
‘भैरहवाबाट अहिले अन्तर्राष्ट्रिय उडान भइरहेको स्थिति छैन। त्यसैले हामीले त्यहाँबाट उडान गर्नका लागि प्रोत्साहित गर्न नेपाली कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ दिने निर्णय गरेका हौं,’ क्यानका एक उच्च अधिकृतले बिजमाण्डूसँग भने, ‘ग्राउण्ड ह्याण्डलिङ सेवा दिन चाहने कम्पनीले भैरहवाबाट उडान गर्नुपर्ने हुन्छ।’
ग्राउण्ड ह्याण्डलिङ सेवा निर्देशिकामा उल्लेख भएको व्यवस्थामा टेकेर क्यानले निजी कम्पनीलाई पनि प्रतिस्पर्धामा सहभागी गराउने निर्णय गरेको हो। ‘ग्राउण्ड ह्याण्डलिङ सेवा निर्देशिकामा नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीको हकमा दुई वटासम्मलाई ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्न दिने प्राववधान छ। त्यसैमा टेकेर निर्णय गरिएको हो,’ क्यानका ती उच्च अधिकृतले भने।
क्यानको निर्णय अनुसार हिमालय एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ पाउनेछ। हिमालय एयरलाइन्सले हाल ३ वटा एयरबस ३२०-२१४ र एउटा एयरबस ३१९-११५ मार्फत युएई, मलेसिया, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनका विभिन्न गन्तव्यमा नियमित व्यावसायिक उडान गर्दै आएको छ।
अहिले एनएसी र हिमालय एयरलाइन्सबाहेक अरु नेपाली कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दैनन्।
क्यानले एनएसीबाट भने ग्राउण्ड ह्याण्डलिङ खोसेको छैन। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्ष नाघेपनि उडान हुन सकिरहेको छैन। एनएसीले सातामा जम्मा एउटा उडान गरिरहेको छ। क्वालालम्पुरबाट आउने यात्रु झार्ने प्रयोजनका लागिबाहेक एनएसीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उडाएको छैन।
निगमले काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं टच डाउन उडान मात्र गर्दै आएको छ। यसबाहेक यो विमानस्थलमा साताको पाँचवटा चार्टर्ड उडान हुँदै आएको छ।
त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङमा भने एनएसीको एकाधिकार छ। उसले ग्राउण्ड ह्याण्डलिङबाट वार्षिक ३ अर्ब रुपैयाँ हाराहारी आम्दानी गर्दै आएको छ। क्यानले त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङमा पनि एनएसीको एकाधिकार तोड्न चाहेको छ।
‘एनएसीको सेवालाई लिएर धेरै गुनासो छ। हामी उसको सेवाबाट सन्तुष्ट छैनौं। तैपनि पहिलो चरणमा हामीले गौतम बुद्ध विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवामा निजी कम्पनीलाई पनि सहभागी गराउने निर्णय गरेका छौं,’ क्यानका ती उच्च अधिकृतले भने, ‘भैरहवाको हकमा गरिएको निर्णय भोलि त्रिभुवन विमानस्थलको हकमा समेत हुन सक्छ।’
हवाइ सुरक्षामा एक पछि अर्को खेलाँची गरेपछि क्यानले गत मंसिरमा एनएसीलाई त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्ने चेतावनी दिएको थियो। त्यसपछि एनएसी व्यवस्थापनले राजनीति दलको छहारी पाएका कर्मचारी संगठनलाई धर्नाका नाममा त्यसविरुद्ध उतारेको थियो।
त्यति मात्र होइन, ग्राउण्ड ह्याण्डलिङ सेवा खोसिए कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्था आउने भयका कारण एनएसीका कार्यकारी अध्यक्ष युवराज अधिकारीले केही नेताहरुको दैलो चहारेका थिए। तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले सरकारी स्वामित्वको कम्पनी कुनै हालतमा जोगाउनुपर्ने भन्दै ग्राउण्ड ह्याण्डलिङ खोस्न नदिन दबाब दिएका थिए। त्यसपछि क्यान मौन बसेको थियो।
त्यसो त ग्राउण्ड ह्याण्डलिङ सेवाका लागि हिमालय एयरलाइन्सले यसअघि नै आवश्यक तयारी अगाडि बढाइसकेको छ। कम्पनीले त्रिभुवन विमानस्थलमा आफ्ना लागि ग्राउण्ड ह्याण्डलिङ सेवाका लागि उपकरण खरिद लगायत तयारी अगाडि बढाएको हो।
सर्वोच्च अदालतले समेत त्रिभुवन विमानस्थलमा हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्न दिन आदेश दिइसकेको स्थिति छ।