
काठमाडौं। चालु आर्थिक वर्ष ४३४.२६ मेगावाट बिजुली केन्द्रीय प्रसारणलाइनमा थपिएको छ। प्रसारणलाइनमा बिजुली थपिएपछि प्राधिकरणलाई निर्यात गर्ने दबाब सिर्जना भएको छ।
त्यही भएर प्राधिकरणले १२ सय मेगावाट बिजुली बेच्न भारतको केन्द्रीय विद्युत प्राधिकरणसमक्ष प्रस्ताव गरिसकेको छ। प्राधिकरणका अनुसार यस वर्षको वर्षायाममा खोला तथा नदीमा पानीको बहाव बढेपछि आन्तरिक उत्पादन ३ हजार २ सयदेखि ३ हजार ४ सय मेगावाटसम्म पुग्ने अनुमान छ।
अहिले पिक आवर डिमान्ड करिव २१ सय मेगावाट छ। यो आधारमा करिब १२ सय मेगावाट बढी हुन्छ। आन्तरिक खपत नभएपछि भारत निर्यात विकल्प हो। भारत निकासी नभए बिजुली खेर जान्छ। प्रसारणलाइन अभावका कारण १२ सय मेगावाटनै निकासी गर्न भने कठिन हुने देखिन्छ।
प्राधिकरणले भारतसँग ४०० मेगावाट बिजुली निर्यात सुरु गरिसकेको छ। गत सोमबार रातिदेखि प्राधिकरणले बिजुली निर्यात सुरु गरेको हो।
१२ सय मेगावाट बिजुली किन्न भारत तयार भएको खण्डमा प्राधिकरणले ढल्केबर-मुजफ्फुर ४०० केभी प्रसारण लाइनबाट निकासी गर्ने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए।
कुन आयोजनाबाट कति बिजुली थपियो ?
चालु आवमा विभिन्न १९ वटा आयोजनाबाट ४३४.२६ मेगावाट बिजुली केन्द्रीय प्रसारण लाइनमा थपिएको छ।
लिखु-२ बाट ५२.४६५ मेगावाट, तल्लो पिलुवाबाट १०.३ मेगावाट, माथिल्लो चमेलियाबाट ४० मेगावाट, माथिल्लो सानिगाडबाट १०.७ मेगावाट, घार खोलाबाट १४ मेगावाट, माथिल्लो सान्जेन जल विद्युतबाट १४.८ मेगावाट बिजुली केन्द्रीय प्रसारणलाइनमा थपिएको छ।
यस्तै, गुलेन जलविद्युतबाट ३.२ मेगावाट, माथिल्लो सिउरीबाट ७ मेगावाट, याम्बलिङ जलविद्युत ७.२७० मेगावाट, सुपर चेपेबाट ९.५ मेगावाट, माथिल्लो मैलुङ खोलाबाट १४.३ मेगावाट, निलगिरी खोला-२ बाट ७२ मेगावाट, लिखु-१ बाट ७७ मेगावाट, माथिल्लो चिरख्वाबाट ४.७ मेगावाट, मध्य तमोरबाट ७३ मेगावाट र सेतीखोलाबाट ३.५ मेगावाट बिजुली प्रसारणलाइनमा जोडिएको छ।
यस्तै, ब्लक २ सोलार र झापा सोलार पीभीबाट १०/१० मेगावाट थप भएको छ।