सदनमा कांग्रेसमाथि आक्रामक बन्न एमाले सांसदलाई ओलीको निर्देशन, अदालतमाथि पनि पोखे रोष

बिजमाण्डू
२०८१ जेठ २ गते १५:१७ | May 15, 2024
सदनमा कांग्रेसमाथि आक्रामक बन्न एमाले सांसदलाई ओलीको निर्देशन, अदालतमाथि पनि पोखे रोष

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि आक्रमक बन्न निर्देशन दिएका छन्।

Tata
GBIME
NLIC

आज बसेको संसदीय दलको बैठकमा ओलीले अबका दिनमा संसदमा कांग्रेसलाई बोल्न रोक्नुपर्ने बताएका हुन्।

‘कांग्रेसको दादागिरी चल्ने ठाउँ हैन संसद। नीति नियमले चल्नुपर्छ। संसदले बोल्नै नपाउने। कस्तो खालको लोकतन्त्र भन्न पाउँदैन कांग्रेसलाई?’ बुधबार संसद भवनमा आक्रोशित हुँदै ओलीले भने।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा संसदीय छानबिन समिति माग गरि सदन अवरुद्ध पार्दै आएको छ। २१ जना सांसद रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेमाथि छानबिन समित गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिए पनि ओलीले रविले पहिले बोल्न पाउनुपर्ने बताउँदै आएका छन्।

‘आरोपित व्यक्ति बोल्न पाउनुपर्छ। पहिलो कुरा नै यही हो,’ ओलीले भने, ‘कांग्रेसलाई बोल्न दिइँदैन अब। कांग्रेसलाई जे मन लाग्छ त्यही गर्ने? भोलिबाट यस्तो चल्दैन।’

छानबिन समिति माग गर्दै बजेट अधिवशेनको सुरुमै सदन अवरुद्ध गरेको कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुतपछि सदन अवरोध जारी राखेको छ।

सभामुख देवराज घिमिरले बिहीबार ११ बजेका लागि प्रतिनिधि सभाको बैठक डाकेका छन् भने प्रधानमन्त्री दाहालसँग भेटेर समन्वय गरिदिनसमेत अपिल गरेका छन्।

त्यसैले भोलि कांग्रेसले सदनमा अवरोध जारी राखे आफूहरु चुप लागेर बस्न नहुने एमाले अध्यक्ष ओलीको भनाइ थियो। ‘आवेश उत्तेजना र मुख छाड्ने हो? कांग्रेसबाहेक अरुको इज्जत छैन यो देशमा? कांग्रेसमा अधिनायकवादी चरित्र देखिएको छ। हामी लत्रिँदैनौ,’ ओलीले प्रश्न गरे।

कांग्रेसले भने सहकारी प्रकरणमा लामिछानेको बचाउमा उत्रिएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीलाई गलाउन गिरिबन्धु टि स्टेट मुद्दा सदनमा चर्काउने जनाएपछि ओली थप क्रुद्ध सुनिएका हुन्।

‘कांग्रेसले खोज्य के हो? हामी मिलाउन खोजिरहेका छौं। झन् हामीमाथि नै। संसदमा भोलिबाट हामीले पनि बोल्न पाउनुपर्छ,’ ओलीले भने, ‘अपराधी ठहरिएका मान्छे ल्याएर भ्रष्टाचारी ठहर नभएका मुद्दा नै नभएकाले विरोध गरिरहेको छ।’

कांग्रेसले सदनमा ‘बकवास कुरा’ गरेको दाबी गर्दै ओलीले यस्तो काम हुन नदिन सांसदहरुलाई निर्देशन दिए।

‘नेपाली कांग्रेसले गरेका बकवास गरेका कुरा हामीले सुनिरहने हैन। यतै टोक्या छ, उतै टोक्या छ, यतै भुक्या छ, उतै भुक्या छ,’ ओलीले भने, ‘कांग्रेसका धेरै मान्छेको जन्मकुण्डली हामीलाई थाहा छ। नेपाली कांग्रेसले पाखुरा देखाएको भरमा मसल देखाएको भरमा हामी लत्रिदिनुपर्ने?’

ओलीले गिरिबन्धु टि इस्टेटमा कांग्रेसले थुप्रै जमिन कमिसन खाएको आरोपसमेत लगाए।

‘गिरिबन्धु टि इस्टेटमा एकपटक ५१ बिघा एकपटक १९ बिघा कमिसन खाएर सट्टापट्टाको नाममा बिक्री गरेर खाएको छ। पछि अदालतले नियम बनाएरमात्र यस्तो गर्नु भनेपछि हामीले अदालतको आदेश बमोजिम यस्तो गर्न खोजेका हौं। काम भइसकेको छैन,’ ओलीले भने। ओलीले अदालतले अपरिपक्व निर्णय गरेको भन्दै अदालतमाथि समेत रोष पोखे।

‘यो कित्ताको यस्तो गर्ने भनेकै छैन। यसको चाहिँ अपरिपक्वा देखियो अदालतको। हामी सम्मानित अदालतको इज्जत गर्छौं। हामी कहिले अन्यायपूर्ण फैसला भोगेका छौं कहिले सरकारबाट हटेका छौं तैपनि अदालतलाई हामीले सम्मान गरेका छौं,’ ओलीले भने, ‘कुनै बेला अदालतले गरेको निर्णय अर्को अदालतले उल्ट्याउँछ।’