२१ महिनापछि बन्यो टिआरसी र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस समिति 

बिजमाण्डू
२०८० चैत्र ३० गते २०:२२ | Apr 12, 2024
२१ महिनापछि बन्यो टिआरसी र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस समिति 

काठमाडौं। पदाधिकारी रिक्त भएको २१ महिनापछि सरकारले द्वन्द्वकालीन घटना अनुसन्धान र छानबिनका लागि गठित दुई आयोगमा पदाधिकारी सिफारिसका लागि समिति गठन गरेको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले सिफारिस समिति गठन गरेको हो। केही समयअघि सर्वोच्च अदालतले तत्काल समिति गठनको परमादेश जारी गरेको थियो। 

Tata
GBIME
Nepal Life

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति गठन भएको हो। समितिमा सर्वोच्चका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की, स्टेला तामाङ सदस्य छन्। 

यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य सिफारिस समितिमा सदस्य रहने व्यवस्था छ। 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको दफा ३ मा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सिफारिस समिति गठनको व्यवस्था छ। समितिको सिफारिसका आधारमा पदाधिकारी नियुक्त हुनेछन्। 

दुवै आयोग २०७९ असार मसान्तदेखि पदाधिकारीविहीन छन्। पदाधिकारी रिक्त भएको २१ महिनापछि सरकारले सिफारिसको प्रक्रिया अघि बढाएको हो। अहिले आयोगको कामकाज गर्न कर्मचारी नेतृत्वको सचिवालय मात्र छ। 

पदाधिकारी सिफारिसका लागि समिति गठन भए पनि आयोगको ऐन संशोधन विधेयक भने संसदीय प्रक्रियाबाट अन्तिम हुन सकेको छैन। 

दलीय अडानका कारण प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिमा विधेयक विचाराधीन छ। विधेयकका अन्तर्वस्तुको विवाद साँघुरो हुँदै गए पनि थप राजनीतिक परामर्श आवश्यक रहेको भन्दै समितिले अन्तिम रूप दिन सकेको छैन। 

प्रतिनिधि सभा २०७९ भदौमा समेत उक्त विधेयकलाई अन्तिम रूप दिने प्रयास भए पनि असफल भएको थियो। सत्ता परिवर्तनसँगै फेरिने दलीय अडानका कारण विधेयक पारित हुन सकेको छैन।