
विराटनगर। नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश महिला उद्यम समितिको आयोजनामा विराटनगरमा प्रदर्शनी सुरु भएको छ।
‘सीएनआई कोशी वुमन एक्स्पो’ को शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उद्घाटन गरिन्। अतिथि सदनमा २ दिनसम्म चल्ने एक्स्पोमा ६० वटा स्टल छन्।
एक्स्पोमा हुम्ला, जुम्ला, संखुवासभा, पाँचथर, धनकुटा, ताप्लेजुङ, तेह्रथुम, झापा, मोरङ र सुनसरीका महिला उद्यमीले स्टल राखेका हुन्।
१९ वटा स्टलमा कृषिजन्य तथा जडिबुटीका उत्पादन राखिएको छ। घरेलु उद्योगबाट निर्मित सामग्रीका १७ वटा, हस्तकलाका सामान र खाद्य प्रशोधनका ६/६ वटा र कपडा तथा उपभोग्य सामग्रीका ४ वटा स्टल छन्।

एक्स्पोमा २५ लाख रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ।
उद्घाटन समारोहमा सीएनआईका अध्यक्ष राजेश अग्रवाल, सीएनआई कोशी प्रदेश अध्यक्ष पवनकुमार शारडा, नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत लगायत सहभागी थिए।