काठमाडौं। एक वर्षदेखि बिक्रेता र उत्पादक कम्पनीबीचको लफडाले चपेटामा परेको हिरोले वैशाखदेखि नेपाली बजारमा पुनरागमन गर्ने तयारी गरेको छ।
हिरोले नयाँ मोडलसहित नेपाली बजारमा पुनरागमन गर्न लागेको हो। हिरोको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी मोटर्सका कार्यकारी सेल्स अधिकृत विवेक झाले ४ वटा मोडलका बाइक तथा स्कुटर एकै पटक लन्च गर्ने तयारी रहेको जानकारी दिए।
उनका अनुसार एक्सपल्स २०० फोर भी बाइक अपग्रेड गरिएको एडभेन्चर मोडलमा ल्याउने निश्चित भएको छ। हिरोको नयाँ जुम स्कुटर पनि नेपाली बजारमा ल्याउने झाले बताए। यो स्कुटर गत वर्ष भारतमा सार्वजनिक गरिएको थियो। नेपालमा यसअघि हिरोको प्लेजर स्कुटर भित्र्याइएको थियो।
कम्पनीले सुपर स्प्लेन्डर र स्प्लेन्डर प्लस मोडल पनि ल्याउने भएको छ। नेपाली बजारमा स्प्लेन्डर र एक्सपल्स ग्राहकहरुले रुचाएको बाइक हो।
कम्पनीले बजारमा ल्याउन लागेका सबै मोडलका बाइक तथा स्कुटर नेपालमा नै एसेम्बल गरिएको झाले बताए।
चौधरी ग्रुपले भने नवलपुरमा एसेम्ब्ली प्लान्टसमेत निर्माण गरेको छ। उक्त प्लान्टसँग वार्षिक ७५ हजार बाइक तथा स्कुटर उत्पादन गर्न सक्ने क्षमता छ।
कम्पनीले बाइक तथा स्कुटर बिक्रीका लागि टंगालमा मुख्य शोरुम निर्माण गरेको छ।
सन् २०२३ को फेब्रुअरीमा हिरो मोटोकर्पले आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम)सँगको सम्झौता नवीकरण नगरेपछि नेपालमा हिरोका बाइक तथा स्कुटरको बिक्री हुन ठप्प हुन पुगेको थियो। जबकि एकै वर्षमा हिरोका ४० हजार युनिटसम्म बाइक र स्कुटर बिक्री भएको तथ्यांक छ।
हिरो मोटोकर्पविरुद्ध एनजीएम उच्च अदालत पाटन गएकामा उसले मुद्दा हारेको थियो। त्यसपछि सीजी मोटर्स गत जनवरीमा आधिकारिक बिक्रेता नियक्त भएको थियो।