
काठमाडौं। नेपालमा अन्तर्रराष्ट्रियस्तरका चेन होटल एकपछि अर्को गरी थपिन थालेका छन्। एक दशकमा आधा दर्जन चेन होटल थपिएकामा आधा दर्जनभन्दा बढी संचालनका लागि पाइपलाइनमा छन्।
सुरुमा सोल्टी होटलमा इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आइएचजी) को प्रवेश भएको थियो। त्यसपछि ह्यात, र्याडिसन लगायत अन्तर्राष्ट्रिय चेन भित्रिए।
पछिल्लो एक दशकमा मेरियोट, रमादा, ताज, सिन्तामणि, दूसित, अलफ्ट, ह्यात प्लेस लगायत चेन होटल सञ्चालनमा आएका छन्।
काठमाडौं, पोखरा, लुम्बिनी लगायत विभिन्न गन्तव्यमा आधा दर्जनभन्दा बढी चेन होटल सञ्चालनका लागि पाइपलाइनमा छन्। निर्माणाधीन होटलमा मेक्योर, शेराटन, लेमन ट्री, हिल्टन लगायत अन्तर्राष्ट्रिय चेन भित्रिंदैछन्।
व्यवसायीहरुमा अन्तर्राष्ट्रिय चेनप्रति आकर्षण बढेको छ। अन्तर्राष्ट्रिय चेनका कारण कुनै एउटा होटलको मात्र व्यापार वृद्धि नभइ नेपालकै पर्यटन प्रवर्धनमा सहयोग पुगिरहेको व्यवसायीहरु बताउँछन्।

काठमाडौं मेरियोट होटलका सञ्चालक शशीकान्त अग्रवालले विश्वभर नेपालको पर्यटन प्रवर्धनमा चेन होटलको उल्लेखनीय योगदान रहेको बताए।
‘सामान्यतया विदेशी पर्यटक सानफ्रान्सिस्को, मेरियोट, होलिडे इन, र्याडिसन लगायत विभिन्न चेन होटलमा बस्न मन पराउँछन्। चेन होटलमा बस्ने बानी भइसकेका पर्यटक नन चेन होटलमा बस्न रुचाउँदैनन्,’अग्रवालले बिजमाण्डूसँग भने, ‘त्यही कारण नेपालमा अन्तर्राष्ट्रिय चेन होटल विस्तार भइरहेको हो। त्यस्ता पर्यटकमाझ नेपालको प्रचार गर्न अन्तर्राष्ट्रिय चेनबाट ठूलो सहयोग पुगेको छ।’
मेरियोट अन्तर्गत ३२ वटा ब्राण्ड छ। नेपालमा मेरियोट अन्तर्गत मेरियोट, फेयरफिल्ड मेरियोट र अलोफ्ट सञ्चालनमा आइसकेका छन्। शेराटन र मोक्सी भने पाइपलाइनमा छन्।
चेन होटल थपिएपछि हाइ इण्ड पर्यटकको आगमन बढेको पर्यटकको बझाइ छ। गत वर्ष सन् २०२३ मा १० लाख १५ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक आएकामा त्यसपछि कोभिडका कारण आगमन प्रभावित हुन पुगेको थियो।

साङ्ग्रिला होटलले बेलायती चेन आइएचजीसँगको सहकार्यमा काठमाडौंमा इन्टरकन्टिनेन्टल, पोखरामा इण्डिगो तथा बेगनास र मेघौलीमा इन्टरकन्टिनेन्टल भित्र्याउन सम्झौता गरिसकेको छ।
एबी होल्डिङ हस्पिटालिटीका अध्यक्ष देशबन्धु बस्नेत अन्तर्राष्ट्रिय चेन होटल भित्रिएसँगै नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा विश्वभर परिचित गराउन सहयोग पुगिरहेको बताउँछन्। एबी होल्डिङ्सले यतिखेर इटहरीमा रमादा एण्ड विन्दम इन्टरनेसनल चेन ल्याउने तयारी गरिरहेको छ।
‘हरेक ब्राण्डका विश्वभर आ-आफ्नो लोयल पाहुना हुन्छन्। त्यस्ता ब्राण्ड नेपालमा आएपछि स्वाभाविकरुपमै प्रचार हुने भयो। अर्को भनेको न्यूयोर्कमा पाइने र नेपालमा पाइने सेवा एउटै भएपछि पर्यटकले त्यही अनुसार भ्रमण योजना बनाउँछन्,’ उनले भने। बस्नेत नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन विकास समितिका सभापति समेत हुन्।
चेन होटलका कारण रोजगारी र जनशक्तिको क्षमता वृद्धिमा टेवा पुगेको छ। ‘नेपालको हस्पिटालिटी उद्योगमा आवश्यक संख्यामा योग्य जनशक्ति पाउन गाह्रो भइरहँदा अन्तर्राष्ट्रिय चेनले गर्दा होटलका जनशक्तिले यहीं नै आफ्नो क्षमता बढाउने अवसर पाइरहेका छन्,’ उनले भने, ‘चेन होटलको विस्तारले नेपाली कला, संस्कृति र सम्पदाको प्रवर्धनका साथै समग्रमा अर्थतन्त्रमा सहयोग पुगेको छ।’
एबी होल्डिङ अन्तर्गत काठमाडौं, इटहरी र मनकामनामा लक्जरियस होटल संचालनमा ल्याउने तयारी छ। उसले काठमाडौं र इटहरीमा अन्तर्राष्ट्रिय चेन होटल ल्याउने गृहकार्य थालिसकेको छ। काठमाडौंमा फ्रान्सको एकोर अन्तर्गत मर्क्योर ब्राण्ड र इटहरीमा अमेरिकी ब्राण्ड रमादा एण्ड विन्दमको व्यवस्थापन रहने बस्नेतले जानकारी दिए। दुवै होटल सन् २०२४ मा सञ्चालनमा ल्याउन लागिएको छ।

अन्तर्राष्ट्रिय चेन होटलको विस्तारले होटल उद्योगको सेवाको स्तर बढेको र त्यसले हाइ इण्ड पर्यटकको आगमनमा सहयोग पुगेको अलोफ्ट काठमाडौंका महाप्रबन्धक विक्रम सिंहले बताए।
‘चेन होटलले विश्वभर विश्वसनियता कायम गर्दै आएका छन्। त्यही कारण विदेशी पर्यटकले चेन होटलकै सेवा लिन रुचाउँछन्,’ सिंहले भने, ‘हामी मेरियोटअन्तर्गत छौं। मेरियोट अन्तर्गत विश्वभर भइरहेको कर्यक्रममार्फत पनि नेपालको राम्रो प्रचार भइरहेको छ। यसको प्रतिफल मुलुकले पाउँदै आएको छ।’

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डेले पर्यटन प्रवर्धनको जिम्मेवारीमा रहेको नेपाल पर्यटन बोर्डले प्रभावकारी काम गर्न नसकिरहेका बेला अन्तर्राष्ट्रिय चेन होटलको संख्या वृद्धिले बजार विस्तारमा सहयोग पुगिरहेको बताए। उनले रोजगारीका लागि विदेशमा रहेका दक्ष युवा अन्तर्राष्ट्रिय चेन होटलको विस्तारले गर्दा स्वदेश फर्किने दाबी गर्छन्।
‘अन्तर्राष्ट्रिय चेन संजाल विस्तारले पर्यटन प्रवर्धनका साथै रोजगार बढिरहेको छ,’ उनले भने, ‘विदेशमा काम गर्न गएका जनशक्ति स्वदेश फर्काउन अब चेन होटलको महत्वपूर्ण भूमिका रहनेछ।’

धुलिखेलमा दूसित थानी हिमालयन रिसोर्ट सञ्चालन गरिरहेको ओमस्टोन एसिया क्यापिटलका संस्थापक साझेदार रमेश हमाल पनि अन्तर्राष्ट्रिय चेनका कारण मुलुकमा व्यावसायिक औद्योगिक ज्ञान र प्रविधि भित्रनुका साथै पर्यटन प्रवर्धनमा सहयोग पुगिरहेको ठान्छन्।
‘चेनले प्रोफेसनल म्यानेजमेन्ट ल्याउँछ। नेपाललाई विश्वमा चिनाउन उनीहरुको ठूलो सहयोग हुन्छ। आफ्नो मार्केटिङ, सेल्स, डिस्ट्रिब्युसन प्लाटफर्ममार्फत हामीले भन्दा बढी चिनाउन सक्छन्,’ हमालले भने, ‘संरचना, हाइजिन लगायत सबै उनीहरुको मापदण्ड अनुसार तयार भएको हुँदा एउटा होटल मात्र नभइ समग्र मुलुककै प्रवर्धन हुन्छ।’
रोयल्टी बढाउनुपर्ने माग
अन्तर्राष्ट्रिय चेन होटलले रोयल्टीबापत ५ प्रतिशत रकम मात्र लैजान पाउने कानूनी व्यवस्था छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमा गरिएको ५ प्रतिशत रोयल्टीको व्यवस्थाप्रति अन्तर्राष्ट्रिय चेन सन्तुष्ट छैनन्।
काठमाडौं मेरियोटका संचालक शशीकान्त अग्रवाल रोयल्टी रकम बढाउन आवश्यक रहेको बताउँछन्। ‘रोयल्टी रकम बढाउन बेवास्ता गर्ने हो भने चेन होटलको व्यापार खस्किन सक्छ। त्यसले होटललाई मात्र नभएर सरकारलाई नै घाटा पुग्छ,’ उनले भने। होटलको व्यापार बढ्दा सरकारले पनि धेरै राजस्व पाउँछ।
एबी होल्डिङ हस्पिटालिटीका अध्यक्ष बस्नेत पनि अग्रवालसँग सहमत छन्। ‘अन्तर्राष्ट्रिय चेनलाई निरुत्साहित हुन नदिन रोयल्टी बढाउनुको विकल्प छैन,’ उनले भने। होटल व्यवसायीहरुले यसबारे सरकारलाई अवगत गराइसकेका छन्।