काठमाडौं। बैंकिङ कसुरमा समातिएका बैंकरमध्ये तीन जनाको बयान सकिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले तत्कालीन सेन्चुरी कर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) तुलसीराम गौतम, तत्कालीन सीइओ मनोज न्यौपाने (हाल प्रभु बैंकका डेपुटी सीइओ)सहित तीन जनाको बयान लिएको हो।
प्रहरीले आवश्यक परे पूरक बयान समेत लिन सक्नेछ। ‘अहिले बयान लिने र कागजात बुझ्ने काम भइरहेको छ,’ सीआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले भने।
बयान दिएका तिनैजनाले ऋण प्रवाहमा कसैलाई मुछेका छैनन्। बैंकले १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँको धितो भ्यालुएसन गरी २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरेको भन्दै फागुन १५ गते १० बैंकरलाई पक्राउ गरेको थियो।
सेञ्चुरी बैंक अहिले अस्तित्वमा छैन। प्रभु बैकसँग मर्ज भइसकेको छ।
सीआइबीले बयान बाँकी रहेकाले दोस्रोपटक म्याद थप गराउने तयारी गरेको छ। उच्च अदालत पाटनले बैंकिङ कसुरको आरोपमा समातिएका बैंकरलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो। म्याद सोमबार सकिंदैछ। बैंकिङ कसुरका आरोपीलाई अनुसन्धानका लागि ६० दिनसम्म हिरासतमा राख्न पाउने कानुनी व्यवस्था छ।
धितोभन्दा बढी कर्जा लिने देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंमाथि बचतकर्ताको रकम हिनामिना गरेको अभियोग छ। गत कात्तिक १७ गते पक्राउ परेका उनी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन्।
चौलागाईंका चारवटा संस्थाले बैंकका कर्मचारीसँगको मिलेमतोमा कम भ्यालुएसन भएको धितो देखाएर बढी ऋण लिएको प्रहरीको आरोप छ।