अर्थमन्त्री फेरिने भएपछि सेयर बजारमा खुशीयाली, नेप्सेमा लाग्यो तेस्रो सर्किट

सुनिल कुँवर
२०८० फागुन २१ गते १२:२६ | Mar 4, 2024
अर्थमन्त्री फेरिने भएपछि सेयर बजारमा खुशीयाली, नेप्सेमा लाग्यो तेस्रो सर्किट

काठमाडौं। अर्थमन्त्री फेरिने भएपछि सेयर बजारमा खुशीयाली छाएको छ। निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा सोमबार अप्रत्यासित उछाल देखिएको छ। तीन वटा सकारात्मक सर्किट लागेपछि सोमबारका लागि कारोबार स्थगित भएको छ।

Tata
GBIME
Nepal Life

बजार खुलेको ३ मिनेटमा पहिलो सर्किट लागेको थियो। त्यसपछि २० मिनेटका लागि बन्द भएर खुलेको बजारमा १ मिनेटमै अर्को सर्किट लाग्यो। कारोबार यसपछि ४० मिनेटका लागि स्थगित भएको थियो।

त्यसपछि खुलेको बजारमा पनि लामो समय कारोबार हुन सकेन। खुल्ने बित्तिकै तेस्रो सर्किट लाग्यो। नेप्से ११७.७ अंकले बढेर २०७८ विन्दुमा पुगेको छ।

नेप्से ६ प्रतिशतले बढे त्यो दिनका लागि कारोबार स्थगित हुन्छ। जम्मा ६ मिनेटमा बजारमा ३७ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। २३० कम्पनीको सेयर मूल्य बढेको छ।

सत्ता गठबन्धन फेरिएर अर्थ मन्त्रालयमा नयाँ मन्त्री आउने भएपछि सेयर बजारमा उत्साह देखिएको हो। नेकपा एमालेले सोमबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा राखेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनाउने निर्णय गरिसकेको छ। पौडेल सेयर बजारमैत्री मानिन्छन्।

उनी यसअघि तीन पटक अर्थमन्त्री भइसकेका नेता हुन्। २०७२ मा उनी पहिलो पटक अर्थमन्त्री हुँदा नेप्से ऐतिहासिक उचाइ अर्थात १८८१ अंकमा पुगेको थियो।

उनी पछिल्लो पटक २०७९ पुस ११ गते अर्थमन्त्री भएका थिए। तर गठबन्धन फेरिएपछि उनले २ महिनामै सरकारबाट बाहिरिनुपरेको थियो। उनै पौडेल चौथोपटक अर्थमन्त्री हुने विश्वासमा सेयर बजारमा सोमबार हरियाली छाएको हो।

तर कुन दलले कुन मन्त्रालय सम्हाल्ने भन्ने टुंगो लागिसकेको छैन।

नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी राजनीतिक उतारचढावले नै बजारलाई फेबर गरेको बताउँछन्। ‘आज गठबन्धन फेरिने र नयाँ अर्थमन्त्री आउने जुन राजनीतिक उतारचढाव भयो। बजारमा त्यसकै असर देखिएको हो,’ उनले भने।

गत बिहीबार २८.६८ अंकले घटेर १९७२.०९ को विन्दुमा झरेको सेयर बजार परिसूचकमा आइतबार ११.७८ अंकको गिरावट आएको थियो।

२०७९ चैत १७ गते अर्थमन्त्रीको बागडोर सम्हाल्ने बेला डा. प्रकाशशरण महतले पुँजी बजारप्रति विश्वास बढाउँदै अर्थतन्त्रको संरचनागत सुधारका काम तत्काल अघि बढाउने वाचा गरेका थिए। तर, सेयर बजारले अपेक्षाकृत गति भने लिन सकेन। लगानीकर्ता कन्फिडेन्ट सुनिएनन् र खुलेर लगानी गर्ने आँट गर्न सकेनन्।

उनले जिम्मेवारी सम्हाल्नु एक दिनअघि चैत १६ गते नेप्से परिसूचक १८३८.९१ अंकमा थियो। उनले लगानीकर्तालाई विश्वासमा लिन सकेनन्। नेप्से जेठ १ मा १८१९ विन्दुमा झर्‍यो।

महतको ११ महिने कार्यकालमा नेप्से २२४२ विन्दुसम्म पुग्यो। तर गत साउन ८ गतेको वृद्धि टिकाउ भएन। त्यतिखेर चालु आर्थिक वर्षको मौद्रिक नीतिले बढेपनि लगत्तै घट्न पुगेको थियो।

अर्थमन्त्री महत सेयर लगानीकर्ताको माग अनुसार मौद्रिक नीतिमा सेयर धितो कर्जाको क्याप हटाउन सफल भएनन्। जसले गर्दा नेप्से निरन्तर ओरालो लागिरह्यो। राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामार्फत जब क्याप बढायो, त्यसपछि नेप्से फेरि उकालो लाग्यो। तर यसपटकको वृद्धि पनि टिकाउ हुन सकेन।

कर्जाको ब्याजदर निरन्तर घटेका बेला पनि सेयर बजार उकालो लाग्न नसक्नुलाई लगानीकर्ताले मन्त्री महतले नीतिगत कदम चाल्न नसकेको रुपमा अर्थ्याएका थिए।