काठमाडौं। एकपछि अर्को परियोजना विवादित बन्नुका साथै टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको असर नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिकोत्सवमा देखिएको छ। वार्षिकोत्सव रौनकहीन देखिएको छ। संस्थाको स्थापना दिवस उल्लासमय वातावरणमा मनाउनुपर्ने कर्मचारीहरु निकै त्रसित मुद्रामा देखिएका छन्।
प्राधिकरणले आइतबार आफ्नो २६औं वार्षिकोत्सव समारोह आफ्नै कार्यालय रहेको जमलस्थित साँस्कृतिक संस्थानको सभाहल राखेको थियो।
निम्तालुहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा प्रमुख अतिथि हुने भनिएको थियो। तर, उनी उपस्थित भइनन्। प्राधिकरणको वार्षिकोत्सव कार्यक्रम भइरहँदा मन्त्री शर्मा गृहजिल्ला दाङमा थिइन्। उनको अनुपस्थितिमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत कार्यक्रममा सहभागी भए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी पनि थिए।
अघिल्ला वर्ष वार्षिकोत्सव कार्यक्रममा प्राधिकरणका कर्मचारीहरु हर्षित मुद्रामा देखिन्थे। कार्यक्रमस्थल खचाखच हुन्थ्यो। तर यसपटक न कर्मचारीमा उल्लास देखियो, न त कार्यक्रमस्थल नै खचाखच भयो।
यसअघिका वार्षिकोत्सवमा पूर्वअध्यक्ष लगायत उपस्थित हुने गरेकामा यसपालि देखिएनन्। निर्देशक डा. सुरेन्द्रलाल हाडा लगायत कतिपय कर्मचारी त उपस्थित नै भएनन्।
यो अवस्था किन आयो त?
यसको मुख्य कारण हो, टेरामक्स खरिद प्रकरणमा अख्तियारले अनुसन्धान गर्नु। यो प्रकरणमा अख्तियारले तत्कालीन सञ्चारमन्त्रीदेखि प्राधिकरणका तत्कालीन अध्यक्ष मात्र होइन, कर्मचारीहरुसँग पनि बयान लिएको छ।
अनुसन्धान जारी रहेकै बेला प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले अनियमितता भएको निष्कर्ष निकालिसकेको छ भने अख्तियार प्रमुख प्रेमकुमार राईले यो प्रकरणमा मुद्दा चलाउने अन्तिम तयारीमा पुगेको बताएका छन्।
संसदका अरु समितिले त टेरामक्ससँगै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा समेत अनियमितता भएको भन्दै अख्तियारलाई छानबिन अघि बढाउन भनेका छन्।
प्राधिकरणले अघि बढाएका एकपछि अर्को परियोजना विवादित भएपछि कर्मचारीहरु आफूमाथि मुद्दा दायर हुने त होइन भनेर डराएका छन्। उनीहरुमा बेचौनी बढेको छ। त्यो बेचैनी वार्षिकोत्सवमा स्पष्टै झल्कियो।
कार्यक्रम सकिन लाग्दा हावाहुरीसहितको वर्षा भयो। कतिपय कर्मचारी हलबाहिर निस्किएर कस्तो रुन्चे दिनमा कार्यक्रम पर्यो भनेर गफ्फिंदै थिए।
‘अघिल्लो वर्ष धेरै रौनक थियो। यसपालि मलाई पनि त्यति बिध्न सहज अनुभव भइरहेको छैन। अख्तियारले धेरै कमर्चारी साथीहरुसँग बयान लिएपछि डर छ। के हुने हो भन्ने भय सबैको मनमा छ। वार्षिकोत्सवमा खुलेर रमाइलो गर्ने माहोल छैन,’ प्राधिकरणका एक उच्च अधिकृतले भने।
टेरामक्स र एमडीएमएसले प्राधिकरण विवादित बन्न पुगेको छ। यी दुवै प्रकरणमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल र अहिलेका केही कर्मचारी जोडिएका छन्। खनाल राजीनामा दिएर गत पुस २४ गते बाहिरिएपनि कर्मचारीहरु भने कार्यरत छन्।
‘टेरामक्स र एमडीएमएसमा छानबिन भइरहेको सबैलाई थाहा छ। त्यसमा प्रत्यक्ष संलग्न भएर काम गरेका व्यक्तिहरु आज उपस्थित हुनु भएन,’ एक कर्मचारीले भने, ‘अख्तियारले केही कर्मचारीसँग बयान लिइसकेको छ। अख्तियार प्रमुखले मुद्दा चलाउने तयारीमा छौं भन्नुभएको छ। साँच्चै नै अनियमितता गर्नेलाई कारबाही गर्नुपर्छ। तर कतिपय कर्मचारीलाई नखाएको विष लाग्ने डर छ। त्यही कारण वार्षिकोत्सवमा उल्लासको वातावरण नभएको हो।’
अख्तियारले टेरामक्स प्रकरणमा तत्कालीन संचारमन्त्री मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्कीसँग बयान लिइसकेको छ। बस्नेतले अख्तियारमा उपस्थित भएर तथा कार्कीले लिखत बयान दिएका हुन्।
ठेक्काका सर्त टेण्डरका दौरान बारम्बर परिवर्तन गरेको, तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्रीका सचिवालय सदस्य नै टेरामक्सका बजार व्यवस्थापक रहेको, लागत अनुमान गर्ने र स्पेसिफिकेसन बनाउने विज्ञ नै सप्लायर्ससँग सम्बन्धित भएको, औचित्य नखुलाई अत्यधिक लागत अनुमान गरेको भन्दै लेखा समितिले अभियोजन प्रक्रिया अघि बढाउन अख्तियारलाई भनेको थियो।
टेलिकम कम्पनीहरुको कारोबारलाई पारदर्शी बनाउन भन्दै प्राधिकरणले करिब ३ अर्बको लागतमा टेरामक्स खरिद प्रक्रिया अगाडि बढाएकामा अहिले रोकिएको छ। टेरामक्स खरिदमा अहिलेसम्म ५३ करोड रुपैयाँ खर्च भइसकेको छ।