बैंकर पक्राउप्रति निजी क्षेत्रको आपत्ति, तीन संस्थाले भने- पहिले थुन्ने अनि सुन्ने मनसाय

बिजमाण्डू
२०८० फागुन १८ गते १४:२१ | Mar 1, 2024
बैंकर पक्राउप्रति निजी क्षेत्रको आपत्ति, तीन संस्थाले भने-  पहिले थुन्ने अनि सुन्ने मनसाय

काठमाडौं। धितो मूल्यांकनलाई आधार मानेर दिइएको कर्जालाई लिएर बैंकरहरु पक्राउ गरिएकामा निजी क्षेत्रका तीन संस्थाले विरोध गरेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले असल नियतबाट गरेका कामलाई बेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने मनसायबाट दुःख दिने नियतले बैंकरहरुलाई पक्राउ गरिएको आरोप लगाएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले प्रवाह गरेको २ अर्ब ५ करोड ऋणलाई लिएर बैंकका पूर्व सीइओ तुलसीराम गौतम, सीइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको थियो। उनीहरु अहिले हिरासतमा छन्। सेञ्चुरी बैंक प्रभु बैंकसँग मर्ज भइसकेको छ। न्यौपानेसहित ५ जना अहिले प्रभु बैंकमा कार्यरत छन्।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी बैंकरलाई धरपकड गरिएको भन्दै विरोध गरेका छन्।

‘बैंक तथा वित्तीय संस्थाका कर्मचारी पक्राउ गरिएको घटनाले निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान कानूनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरुले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको हो कि भन्ने देखिएको छ।’

उनीहरुले नेपाल राष्ट्र बैंकको नियमभित्र रहेर काम गर्दै आएका बैंकरलाई जथाभावी पक्राउ गर्दा अर्थतन्त्र नै थप बिग्रिने चेतावनी दिएका छन्। ‘यस्ता कार्यले बैंकरहरुको कार्य दक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवं मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र त्यसको असर समग्र अर्थतन्त्रमा पर्न सक्नेतर्फ ध्यान दिन सम्बन्धित सबै पक्षलाई अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘बैंकिङ क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा भईरहेका पछिल्ला गतिविधिले सकारात्मक परिणाम दिने भन्दा नकारात्मक असर बढी पार्नसक्ने तर्फ सचेत हुन सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं।’

उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुले लगानी सम्बन्धी निर्णय असल मनसायबाट गर्ने गरेको दाबी गरेका छन्। ‘मानवीय त्रुटी वा कसैले गलत मनसाय वा नियतले समेत काम गरेको अवस्थामा सो कार्यमा संलग्न पदाधिकारीलाई प्रचलित कानून बमोजिम कारवाही हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं,’ विज्ञप्तिमा भनिएको छ।