चुक्ता पुँजी वृद्धि कार्यान्वयनमा बीमा प्राधिकरण फेल, दुई तिहाइले सकेनन् पुर्‍याउन, अब के हुन्छ?

सुनिल कुँवर
२०८० फागुन १८ गते ०६:१५ | Mar 1, 2024
चुक्ता पुँजी वृद्धि कार्यान्वयनमा बीमा प्राधिकरण फेल, दुई तिहाइले सकेनन् पुर्‍याउन, अब के हुन्छ?

काठमाडौं । जीवन र निर्जीवन बीमा कम्पनीको पुँजी बढाउने निर्णय कार्यान्वयनमा नेपाल बीमा प्राधिकरण असफल भएको छ। प्राधिकरणले २०७८ मा एक वर्षभित्र चुक्ता पुँजी बढाउन निर्देशन दिएको थियो। तर, यो निर्देशन अनुसार दुई तिहाइभन्दा बढी कम्पनी चुक्ता पुँजी पुर्‍याउन असफल देखिएका छन्।

Tata
GBIME
Nepal Life

प्राधिकरणले २०७८ चैतमा एक वर्षभित्र चुक्ता पुँजी जीवनलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २.५ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएको थियो। अधिकांश जीवन र निर्जीवन बीमा कम्पनीले २०७९ चैतभित्र चुक्ता पुँजी कायम गर्न नसक्ने देखिएपछि प्राधिकरणले तीन महिना समय थप्ने निर्णय गरेको थियो।

त्यतिबेला कम्पनीहरुले २०७९/८० को वित्तीय विवरण आउँदासम्म तोकिएको पुँजी पुर्‍याउने प्राधिकरण व्यवस्थापनको अनुमान थियो। तर, २०८०/८१ को दाेस्रो त्रैमाससम्म ६९ प्रतिशत कम्पनीले तोकिएको पुँजी कायम गर्न सकेका छैनन्।

बीमा कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीले तोकिएको चुक्ता पुँजी कायम गर्न नसकेको देखिन्छ। केही कम्पनी पुँजी वृद्धिको प्रक्रियामा छन्।

जीवन बीमातर्फ १३ मध्ये १० र निर्जीवन बीमातर्फ १३ मध्ये ८ कम्पनीले चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन्। जीवनतर्फ नेपाल लाइफ, हिमालयन लाइफ र नेशनल लाइफको चुक्ता पुँजी मात्र ५ अर्ब माथि छ। यस्तै निर्जीवन बीमातर्फ आइजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर, सगरमाथा लुम्बिनी र हिमालयन एभरेष्ट बाहेकका बाँकी कम्पनीले अढाइ अर्ब पुँजी पुर्‍याउन सकेका छैनन।

सरकारी लगानी रहेका राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीकै चुक्ता पुँजी सबैभन्दा कम छ। राष्ट्रिय जीवन बीमा कम्पनीको १८ करोड १० लाख र राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँमा सीमित छ। यी कम्पनीले कुनै उपायबाट पनि प्राधिकरणको निर्देशन कार्यान्वयन गर्न सक्ने देखिंदैन। त्यसैले त निर्देशन कार्यान्वयन नगर्दा पनि प्राधिकरणले छुट दिएको छ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने निर्णय कार्यान्वयन गराउन असफल भएको सन्देश जान नदिने नाममा सबै कम्पनीको पुँजी वृद्धि भइसकेको झुटो दाबी गरे। ‘रिजर्भ र हकप्रद जारी गर्दा सबैको पुँजी पुगिसकेको छ,’ उनले भने।

प्राधिकरणकै कार्यकारी निर्देशक राजुरमण पौडेलले एक वर्षभित्र पुँजी वृद्धि गर्ने निर्णय भए पनि कम्पनीहरुलाई अहिलेसम्म छुट दिइएको स्वीकारे। ‘प्राधिकरणले एक वर्षभित्र कम्पनीहरुलाई चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको हो। अहिले दुई वर्ष पुग्न लागिसक्यो,’ उनले भने, ‘सधैं त छुट नहोला। बोर्डले अब केही निर्णय गर्ला।’

कम्पनीको संख्या घटाएर वित्तीय आधार बलियो बनाउने दाबीसहित पुँजी बढाएर मर्जर तथा प्राप्तिको नीति ल्याएको प्राधिकरणले आफ्नै नीतिविपरीत यही बीचमा सात लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको छ। प्राधिकरणको दोहोरो चरित्र पुँजी वृद्धिमा दिइएको छुटबाट पनि थप उजागर भएको छ।

पुँजी वृद्धिको निर्णयअघि जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब र निर्जीवनको १ अर्ब रुपैयाँ थियो। प्राधिकरणले कम्पनीहरुको पुँजी दोब्बरभन्दा बढी पुर्‍याउने निर्णय गरेपछि डेढ दर्जन कम्पनी मर्जर तथा प्राप्तिमा गइसकेका छन्।

मर्जर तथा प्राप्तिपछि अहिले (विदेशी कम्पनीका शाखा बाहेक)जीवन र निर्जीवन बीमा कम्पनीको संख्या १३/१३ छ। २०७८ चैतअघि जीवन बीमा कम्पनीको संख्या १८ र निर्जीवन बीमा कम्पनीको संख्या १९ थियो।