
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले यो वर्ष ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको विवरण बुधबार सार्वजनिक गर्यो। यो रकम पोहोर ६ महिनाको तुलनामा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ अर्थात ४१ प्रतिशत बढी हो।
नाफा यति धेरै बढ्दा पनि प्राधिकरण खुशी छैन। यसको कारण हो, भारतबाट आयात गर्ने बिजुलीको भाउ वर्षेनि बढ्नु। प्राधिकरणले वर्षायाममा बिजुली भारतलाई बेचेका कारण नाफा धेरै देखियो। साउनदेखि पुससम्म प्राधिकरणले भारतलाई १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत बेच्यो।
तर, हिउँदमा आन्तरिक माग धान्न भारतसँग किन्नुको विकल्प छैन। अहिले ५०० मेगावाट आयात गरेर माग धानिएको छ। निर्यात गरेर कमाउनेभन्दा आयातमा धेरै रकम खर्च हुने गरेपनि प्राधिकरणले आफूले राम्रो गरिरहेको देखाउन ६ महिनाको नाफा सार्वजनिक गरेको हो। उसले आयातमा धेरै खर्च हुँदा नाफाको ग्राफ ओरालो लागेपछि अहिले जसरी प्रचार गर्ने गरेको छैन।
गत वर्षको तथ्यांक हेर्ने हो भने प्राधिकरणले बिजुली निर्यातबाट १० अर्ब ४५ करोड रुपैयाँ कमाउँदा आयातमा १९ अर्ब ४४ करोड रुपैयाँ खर्च गर्नुपरेको थियो। जलविद्युतको जडित क्षमता बढेको भनिए पनि यो वर्ष आयातमा २० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ।
सुक्खायाममा प्रक्षेपण गरेभन्दा कम उत्पादन हुन थालेपछि प्राधिकरण एकातिर भारतबाट आयात हुने परिमाण बढाउनुपर्ने अवस्थामा छ भने अर्कातिर बिजुलीको भाउ निरन्तर उकालो लागिरहेको छ।
आर्थिक वर्ष २०७७/७८ मा प्रति युनिट औसतमा ८.२६ रुपैयाँमा बिजुली आयात गरिएको थियो। २०७९/८० मा औसत १०.७४ रुपैयाँमा आयात गरिएकामा चालु वर्ष पिक आवरमा प्रति युनिट १६ रुपैयाँसम्म पुगेको छ। ‘हामीले कुनै समयमा १६ रुपैयाँसम्म पनि आयात गरेका छौं। कुनै समयमा कम छ, ‘प्राधिकरणका एक अधिकारीले भने, ‘यो वर्ष औसतमा ११.५० रुपैयाँ पर्ने अनुमान छ।’
भारतबाट आयातित विद्युतको महसुल दर
क्र.सं. | आर्थिक वर्ष | औसत महसुल दर ( प्रति युनिट) |
१ | २०७७/७८ | ८.२६ रुपैयाँ |
२ | २०७८/७९ | ९.६६ रुपैयाँ |
३ | २०७९/८० | १०.७४ रुपैयाँ |
४ | २०८०/८१ (प्रक्षेपण) | ११.५० रुपैयाँ |
महँगोमा आयात गरेर सस्तोमा बेच्नुपरिरहेकाले प्राधिकरण समस्यामा पर्दै गएको छ। भारतसँग महँगोमा किनेर सस्तोमा बेच्नुपर्दा प्राधिकरणलाई अहिले प्रति युनिट औसतमा ०.१२ रुपैयाँ नोक्सानी छ।
‘विद्युत बिक्रीबाट सोझो नोक्सानी छ। सोही कारण हामी १० देखि १५ प्रतिशतसम्म विद्युत् महसुल बढाउने तयारीमा छौं,’ प्राधिकरणका एक अधिकारीले भने, ‘अहिलेकै अवस्थामा प्राधिकरण टिक्न सक्दैन।’ १३ वटै वर्गका ग्राहकको महसुल १० प्रतिशत बढाउँदा १० अर्ब रुपैयाँ आम्दानी बढ्ने प्राधिकरणको प्रक्षेपण छ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार सुक्खायाम बढ्दा कतिपय जलविद्युत् आयोजनाको उत्पादन १० प्रतिशतमा सीमित हुन थालेको छ।
उत्पादन घटेपछि माग व्यवस्थापन गर्न प्राधिकरणलाई चुनौती भएको छ। ‘सुक्खायाम गत वर्ष धेरै भनेको यो वर्ष अझै बढ्यो। २०० मेगावाट क्षमताको काबेली करिडोरमा २० मेगावाट मात्रै उत्पादन छ। ४५६ मेगावाटको माथिल्लो तामाकोसीले ६५ मेगावाटभनेदा उत्पादन गर्न सकेको छैन,’ उनले भने, ‘हिउँदमा ३० देखि ३४ प्रतिशतसम्म उत्पादन हुनुपर्नेमा अहिले धेरै आयोजनाको उत्पादन निकै घटेको छ।’

नेपालको कुल जडित क्षमता करिब ३,००० मेगावाट पुगेको छ। अधिकांश आयोजना नदी प्रवाहमा आधारित भएकाले उत्पादन अहिले ९०० मेगावाट हाराहारी मात्रै छ। सोही कारण करिब १४/१५ सय मेगावाटको माग पूरा गर्न भारतबाट आयात गर्नुपरेको हो।
कुलेखानी (१०० मेगावाट) बाहेक नेपालमा जलाशय प्रकृतिका जलविद्युत् आयोजना छैनन्। सोही कारण बर्खामा बढी हुने र हिउँदमा आयात गर्नुपर्ने बाध्यात्मक अवस्था छ।
प्राधिकरणले बर्खामा भारतलाई करिब ५०० मेगावाटसम्म बिजुली निर्यात गर्यो। निर्यात प्रति युनिट ८.७७ रुपैयाँका दरले गरिएको हो।
प्राधिकरणको विद्युत व्यापारको अवस्था
क्र.स. | आर्थिक वर्ष | विद्युत व्यापार (गिगावाट आवर) |
१ | २०७६/७७ | ६,५२९ |
२ | २०७७/७८ | ७,३१९ |
३ | २०७८/७९ | ९,३०३ |
४ | २०७९/८० | १०,७०४ |
५ | २०८०/८१ (प्रक्षेपण) | १४,५०० |
बिजुलीको बिक्री भने बढेको छ। आर्थिक २०७६/७७ मा ६ हजार ५२९ गिगावाट व्यापार गरेको प्राधिकरणले गत वर्ष १० हजार ७०४ गिगावाट आवर बिजुली बिक्री गर्यो। चालु वर्ष १४ हजार ५०० मेगावाट आवर बिजुली बिक्री हुने अनुमान छ। विद्युत् बिक्रीको परिमाणमा बढ्दा प्राधिकरणको नोक्सानी बढ्ने अवस्था छ।
प्राधिकरणले स्वदेशी निजी क्षेत्रसँग बिजुली प्रति युनिट वर्खामा ४.८० र हिउँदमा ८.४० रुपैयाँमा खरिद गर्छ। विभिन्न स्केलेसनहरु जोड्दा हिउँदमा प्रति युनिट १० रुपैयाँ पर्छ।