संसद भवन र सिंहदरबार बाहिरको फुटपाथमा सर्वसाधारणलाई हिँड्न निषेध, तारबार लगाइयो

बिजमाण्डू
२०८० फागुन १५ गते १३:२१ | Feb 27, 2024
संसद भवन र सिंहदरबार बाहिरको फुटपाथमा सर्वसाधारणलाई हिँड्न निषेध, तारबार लगाइयो

काठमाडौं । संघीय संसद भवनमा सुरक्षा घेरा तोडेर लघुवित्त संस्थाविरुद्ध संघर्ष गरिरहेका आन्दोलनकारीहरु प्रवेश गरेपछि फुटपाथमा सर्वसाधारणलाई हिँड्न रोक लगाइएको छ।

Tata
GBIME
NLIC

सोमबार आन्दोलनकारीहरु नयाँ बानेश्वरस्थित संघीय संसद् भवन प्रवेश गरेर नाराबाजी गरेका थिए। निषेधित क्षेत्रमा संवेदनशील परिसरभित्र प्रदर्शनकारीहरु प्रवेश गरेपछि आज भने संसद भवन बाहिरको फुटपाथमा तारबार लगाएर हिँड्न पनि रोक लगाइएको हो।

गेट नम्बर २ को फुटपाथबाट सर्वसाधारणलाई हिँड्न रोकिएको हो। प्रहरीले फुटपाथमा हिँड्न रोकेपछि सर्वसाधारण सडकमै हिँड्न बाध्य भएका छन्।

यस्तै, सिंहदरबार बाहिरको फुटपाथमा पनि तारबार लगाएर निधेषित क्षेत्रको पर्चा टाँसिएको छ। हिजोको घटना अघि ती क्षेत्रको फुटपाथम सर्वसाधारण हिँडन पाउँथे।

प्रहरीले सो घटना छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ। गेछ नम्बर २ बाट संसद् भवन परिसर प्रवेश गर्ने ४८ जनालाई प्रहरीले हिजै नियन्त्रणमा लिएको थियो।

सो घटनापछि प्रहरी प्रधान कार्यालयले संसद् भवनको सुरक्षामा खटिएका प्रहरी निरीक्षकसहित ३२ प्रहरीलाई जिम्मेवारी मुक्त गरि अर्को टोली समेत खटाइसकेको छ।