गोदावरीमा देउवाको जेस्चर, सभापतिमा शशांक अघि सार्ने छनक

नेत्र तामाङ
२०८० फागुन ११ गते २१:२१ | Feb 23, 2024
गोदावरीमा देउवाको जेस्चर, सभापतिमा शशांक अघि सार्ने छनक

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्ष शेरबहादुर देउवाको उत्तराधिकारीको तीव्र खोजीमा देखिन्छ। विधानअनुसार अबको २१ महिनापछि अर्थात् २०८२ मंसिरमा १५औं महाधिवेशन हुँदैछ। केन्द्रीय समितिमा शक्तिशाली रहेका देउवा विधानतः अब सभापति बन्न पाउने छैनन्।

Tata
GBIME
Nepal Life

यसैले पनि देउवा नेतृत्व हस्तान्तरपछि पनि अझै शक्ति कायम राख्न विश्वासिलो पात्रको खोजीमा देखिएका हुन्। देउवा गुटमा बलियो नेताका रूपमा उपसभापति पूर्णबहादुर खड्कालाई लिइन्छ। यद्यपि खड्कालाई पार्टी पक्तिले रुचाएको देखिन्न। यसैले पनि देउवा दोस्रो पात्रको खोजीमा रहेको बताइन्छ।

को हुन् दोस्रो पात्र?

१३ औं महाधिवेशनमा खड्का मनोनीत महामन्त्री थिए भने निर्वाचित महामन्त्री डा शशांक कोइराला। त्यति बेला देउवाले धेरैजसो काम खड्कामार्फत नै गराए। २०७४ को निर्वाचनमा कांग्रेस इतिहासमै नराम्रोसँग पराजित भयो। एमाले र माओवादी मिल्दा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ २३ सिटमा सीमित हुँदा राष्ट्रिय सभामा कांग्रेस हबिगत झन् कमजोर बन्यो। हारको जिम्मेवारी देउवाले लिनैपर्ने अडान रामचन्द्र पौडेल गुटले लिए पनि शशांकले भने देउवाको डिफेन्स गरे।

पछि शशांकले देउवालाई १४औं महाधिवेशनमा पनि सघाए। गुटमा सहमति हुन नसकेपछि महाधिवेशन वाकओभर दिएका पौडेल अहिले राष्ट्रपति भइसकेका छन्। पौडेल गुटमा रहेका प्रकाशमान सिंह सभापतिको उम्मेदवार बन्दै अन्ततः देउवा गुटमै भित्रिए। यसरी पौडेल गुट छिन्नभिन्न भएर संस्थापन इतरमा डा शेखर कोइरालाको उदय भयो। 

महासमिति बैठकस्थलमा डा शेखर कोइराला।

गगन थापा यही गुटबाट महामन्त्रीमा निर्वाचित भए। तर अहिले संस्थापन इतरमा शेखर र गगनभित्रै टकराव देखिन्छ। १५औं महाधिवेशनमा शेखर पनि सभापतिका आकांक्षी हुन् भने गगनले पनि यही पदका लागि ग्राउन्ड तयार पार्दैछन्। संस्थापन इतरबाट दुई उम्मेदवार उभिने देखेपछि देउवा आफ्नो गुटबाट बलियो पात्र अघि सार्ने तयारीमा छन्।

गोदावरीमा सम्पन्न महासमितिमा देउवाले आफ्नो उत्तराधिकारीको छनक दिएका छन्। फागुन ७ बाट सुरु भएको महासमितिमा देउवासँगै सबैभन्दा बढी शशांक देखिए। समापनको दिन बिहीबार देउवासँगै शशांक क्याटरिङ मेसमा दुई घण्टा बसेका थिए।

पूर्वउपसभापति विमलेन्द्र निधिका साथमा।
ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठको साथमा।

मञ्चमा मर्यादाक्रम अनुसार सँगै बस्न नमिल्नेबाहेक स्थानमा शशांक देउवासँगै देखिन्थे। देउवा र शशांक सँगसँगै मुस्कुराउँथे। ‘यो पक्कै पनि अर्को महाधिवेशनमा शशांकलाई अघि सार्ने संकेत हो,’ एक महासमिति सदस्य भन्दै थिए।

शशांकलाई अघि सार्दा डा आरजु देउवाको राजनीतिक करिअरसमेत जोगिने ती महासमिति सदस्यताको बुझाई देखियो। अबको महाधिवेशनमा आरजुलाई उपसभापति वा महामन्त्री बनाउने गरी सभापतिको पात्र अघि सार्ने देउवाको तयारी छ।

महासमितिमा केन्द्रीय उपसभापति र महामन्त्री एक जना महिला जसरी पनि हुनुपर्ने आवाज उठाइएको छ। प्रदेश सभा सदस्यसमेत रहेकी हरिप्रभा खड्गीले पार्टीले महिलाको इतिहासलाई बिर्सिन नहुने उल्लेख गर्दै महामन्त्री पदाधिकारीमा महिला अनिवार्य हुनुपर्ने माग राखेकी थिइन्। यसैगरी कृष्ण अमात्यले पनि पार्टी पदाधिकारीमा महिलालाई स्थान दिनुपर्ने माग राखेकी थिइन्।

गगनको मुद्दामा ‘क्यारी अन’

देउवाले सभापतिमा अघि सार्ने तयारी गरेका शशांकले महासमितिमा गगनको मुद्दा क्यारी अन गरेका छन्। महासमितिभर अबको चुनावमा कांग्रेस एक्लै भिड्नुपर्ने गगनको मुद्दालाई समापन समारोहमा शशांकले ‘क्यारी अन’ गरेका हुन्।

‘चुनावभन्दा पहिले गठबन्धन गर्नु दूर्भाग्य हो। हाम्रो पार्टी कमजोर छैन। गठबन्धन गर्नु आवश्यक छैन,’ शशांकले आफ्नो भनाई राख्दा सनराइज हलमा तालीको गडगडाहड चलेको थियो। यति मात्र हैन शशांकले बागी उम्मेदवार र कार्यकर्तालाई कारबाहीको संकेत गरे।

वर्ष दिन कांग्रेस बन्ने तर मतदानको दिन अर्कैलाई मत दिने कार्यकर्ता पार्टीलाई आवश्यक नरहेको समेत उनको भनाई थियो। ‘३६४ दिन कांग्रेस बन्ने, मत हाल्ने दिन अरूलाई हाल्ने, यस्तो कांग्रेस हामीलाई चाहिँदैन,’ कोइरालाले भने।

शंकर भण्डारीको मुद्दामा पनि अपनत्व

शशांकले यो महासमितिमा केन्द्रीय सदस्य शंकर भण्डारीको मुद्दाको अपनत्व गरेका छन्। भण्डारीले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गर्दै महासमितिमा हस्ताक्षर अभियान चलाएका थिए। उक्त अभियानमा शशांकले हस्ताक्षर समेत गरे भने समापन समारोहमा धर्मनिरपेक्षता गलत भएको तर्क गरे। ‘धर्म स्वतन्त्र हुन्छ। तर दूर्भाग्यवश हामीले धर्मनिरपेक्षता बनायौं। यो गलत हो,’ कोइरालाले भने।

समापन समारोहमै केन्द्रीय सदस्य भण्डारीले एक हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षरसहित हिन्दु राष्ट्र नेपालको माग गर्दै विशेष पूरक प्रस्ताव देउवालाई बुझाएका थिए। यो भनेको कुल महासमितिको ४६ प्रतिशत मत हो। हिन्दु राष्ट्रको मुद्दा बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुवादीको मत बटुलिरहेको छ।

लिगेसी बोकेका तीन परिवार मिल्ने संकेत

कांग्रेसमा अबको नेतृत्वमा शशांकका लागि अर्को बलियो आधार हो लिगेसी बोकेका परिवार। शशांक आफै बिपी पुत्र हुन्। प्रकाशमान सिंह गणेशमान सिंह पुत्र हुन् भने विमलेन्द्र निधि महेन्द्रनारायण सिंह पुत्र।

१५ महाधिवेशनमा नेतात्रयको एकता हुने सम्भावना उत्तिकै देखिएको निकटस्थ बताउँछन्। यसमा सभापतिको लागि शशांक नै बलियो उम्मेदवार भएको उनीहरूको दाबी छ। राष्ट्रपति, प्रधानमन्त्री र सभापति पद बाँडफाँड गरी तीन नेता महाधिवेशनमा एक भएर उभिने तयारी रहेको शशांक निकट एक नेताले बताए।