यी व्यापारीको नाममा कसले ल्यायो ६३ करोडको पोस्ता दाना र सुपारी? अनुसन्धान गर्दै राजस्व

बिजमाण्डू
२०८० फागुन ६ गते ०६:४९ | Feb 18, 2024
यी व्यापारीको नाममा कसले ल्यायो ६३ करोडको पोस्ता दाना र सुपारी? अनुसन्धान गर्दै राजस्व

विराटनगर । वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सारको गोदाममा ६३ करोड मूल्यको पोस्तादाना र सुपारी ल्याएर जाँचपास नगरी थन्क्याउनेमा दुई व्यावसायिक फर्म भएको पाइएको छ।

Tata
GBIME
Nepal Life

अर्थ मन्त्रालयको एक स्रोतका अनुसार काठमाडौं महानगरपालिका बालाजु ठेगाना भएको बाघभैरव ट्रेडर्स र काठमाडौं पकनाजोलको सीगुल ट्रेडिङ प्रा.लि.ले पोस्तादाना र सुपारी ल्याएर जाँचपास नगरी थन्क्याएका हुन्।

भन्सार कार्यालयले गोदाममा थन्किएको १८६ टन पोस्तादानाको लिलाममूल्य ३५ करोड र ३४८ टन सुपारीको लिलाममूल्य २८ करोड निर्धारण गरेको छ।

बाघभैरव ट्रेडर्स पशुपति गिरिका नाममा दर्ता छ। यसको आयात निर्यात संकेत नम्बर (एक्जिम कोड) ६१८०८१६९७०१५३एनपी हो। त्यस्तै, सीगुल ट्रेडिङ प्रा.लि.का प्रोप्राइटर युवराज पन्थी हुन्। सीगुलको एक्जिम कोड ६०६६२९०५२०१३एनपी हो।

बाघभैरव र सीगुल दुवै फर्म मूल्य अभिवृद्धि कर दर्ता नभएको पाइएको छ। भन्सार विभागले सामान्यतया मूल्य अभिवृद्धि करमा दर्ता भएका फर्मलाई मात्र एक्जिम कोड दिने गर्दछ। साथै भ्याट लाग्ने वस्तुको आयात गर्ने व्यापारिक फर्मले एक्जिम कोड लिँदा मूल्य अभिवृद्धि करमा दर्ता हुनु अनिवार्य छ। सुपारी र पोस्ता दुवैको जाँचपास गर्दा भन्सारविन्दुमा मूल्य अभिवृद्धि कर तिर्नुपर्दछ। तर मूल्य अभिवृद्धि करमा दर्ता नभई बाघभैरव र सीगुल दुवैले एक्जिम कोड पाएको देखिन्छ।

दुवै फर्म र तिनका प्रोप्राइटर नाम मात्रका भएको स्रोतको दाबी छ। पोस्ता र सुपारी दुवैका वास्तविक आयातकर्ता गिरी र पन्थी नभई अरू नै व्यापारी भएको बताइएको छ। नेपालका मुख्य आयातकर्तामा गिरी र पन्थीको नाम अहिलेसम्म कहिल्यै सुनिएको छैन। त्यसैले दुवैका नामको फर्म अरू कसैले खरिद गरेर दुवै मालवस्तुको आयात गरेको हो भन्ने ठहरमा सरकारी अधिकारीहरू पुगेका छन्।

भन्सार विभागका एक जानकारका अनुसार पोस्ता र सुपारीको आयात भएर सुक्खा बन्दरगाह भन्सारको गोदाममा थन्क्याइँदाका समयमा कार्यालयका प्रमुख जयबहादुर भण्डारी थिए। त्यसैले दुवै वस्तुका वास्तविक आयातकर्ता को हुन् भनेर अनुसन्धान गर्ने हो भने त्यसको पहिलो र अन्तिम सूत्र भण्डारी नै  हुनेछन्।

भण्डारी अर्थका पुराना क्याडर हुन्। तर अर्थमा उनको रिपोर्टकार्ड राम्रो छैन। सुक्खा बन्दरगाह भन्सार कार्यालयमा प्रमुख हुनुपूर्व उनी नेपालगञ्ज भन्सारका प्रमुख थिए। नेपालगञ्ज भन्सारमा उनले पामनट (पामतेल निकाल्ने खजुरको दाना)का नाममा सुपारीको जाँचपास गराएका थिए। भन्सार विभागले यो थाहा पाएर पनि उनी कारबाहीमा परेनन्। त्यस बेला भन्सार विभागका महानिर्देशक कमल भट्टराई थिए। भट्टराई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको ‘विशेष चासो’का साथ महानिर्देशक बनाइएका थिए। त्यसैले भण्डारीउपर विभागीय कारबाही नभएको हो भन्ने अधिकारीहरूको बुझाइ छ। भण्डारी उल्टै अझ आकर्षक ठाउँ सुक्खा बन्दरगाह भन्सारको प्रमुखका रूपमा सरुवा भए।

उता भन्सार विभागमा भट्टराईपछि चक्रबहादुर बुढा महानिर्देशक भए। बुढाले पदभार ग्रहण गरेपछि विभाग र देशभरिका मुख्य कार्यालयमा शुद्धीकरणको अभियान चलाए। तर पनि भण्डारीले आफ्नो शैली छाडेका थिएनन्। त्यही बेला सुक्खा बन्दरगाह भन्सारमा मेसिन क्लिनिङ डस्टका नाममा ३ वटा कन्टेनर आइपुगे। तर कन्टेनरमा सुर्ती भएको फेला पर्‍यो। यसपछि विवादमा तानिएका भण्डारी विदा लिएर काठमाडौं गए। यता कार्यालयले भन्सार परिसरमा आएका हरेक कन्टेनरको भौतिक परीक्षणलाई बृहत् र सूक्ष्म बनायो। त्यही बेला सुपारी र पोस्ताका कन्टेनर पनि आइपुगेका थिए।

दुवै मालवस्तुलाई अन्य मालवस्तुको नाम दिएर जाँचपास गराउने योजना आयातकर्ता र प्रमुख भण्डारीको थियो। तर भण्डारी विदामा काठमाडौं गइसकेका थिए। सुक्खा बन्दरगाह भन्सारमा कन्टेनर र ट्रकका मालवस्तुउपर गरिने भौतिक परीक्षणको मोडेल पनि फेरिइसेको थियो। त्यसैले आयातकर्ता पोस्ता र सुपारीलाई भन्सारको गोदाममै थन्क्याएर बेपत्ता भएका हुन्।

भण्डारीले आफ्ना मित्रहरूसँग ‘मैले सबैलाई मिलाएकै थिएँ, महानिर्देशक बुढालाई मात्र मिलाउन सकिँन’ भनेको कुरा अहिले पनि मन्त्रालयमा सुन्न पाइन्छ।

अर्थमन्त्रीमा डा. युवराज खतिवडा हुँदा उनकै जोडबलमा वाणिज्य मन्त्रालयले पोस्ता र सुपारी दुवै मालवस्तुमा परिमाणात्मक बन्देज लगाएको थियो। केपी ओली प्रधानमन्त्री भएका बेला सौर्य एअरलाइन्सका सञ्चालक दीपक पोखरेलको समूहले वाणिज्य विभागबाट अनुमति लिएर दुवै वस्तुको आयात गरेको थियो। त्यसपछि हालसम्म व्यावसायिक उद्देश्यले दुबै वस्तुको आयात भएको छैन।

राजस्वले सुरु गर्‍यो अनुसन्धान

यसैबिच राजस्व अनुसन्धान विभागले पोस्ता, सुपारी लगायत लिलामीमा राखिएका सबै मालवस्तु र तिनका आयातकर्ताका विषयमा अनुसन्धान सुरु गरेको छ।

विभागका महानिर्देशक नवराज ढुंगानाले प्रारम्भिक अनुसन्धान भइसकेको जानकारी दिएका हुन्।

लिलाममा राखिएका मालवस्तुका आयातकर्तालाई विदेशी मुद्रा अपचलनमा मुद्दा चलाउन सकिन्छ। किनकि आयातकर्ताले विदेशी बैंकमार्फत् विदेशी मुद्रा मुलुकबाहिर लगेर मालवस्तु नेपालभित्र आयात नगरेको पाइएको छ।

महानिर्देशक ढुंगानाले अनुसन्धानको प्रारम्भ बैंकबाट कागजात जुटाएर गर्न लागिएको बताए।

‘प्रारम्भमा हामी बैंकबाट धमाधम कागजात जुटाउँदैछौं,’ ढुंगानाले भने, ‘कुन मालवस्तु कुन भुक्तानीको प्रक्रियाबाट र कसले ल्याएको रहेछ भन्ने अनुसन्धान बैंकका अभिलेखबाट मात्र पत्ता लाग्छ।’

उनले बैंकिङ कागजात र भुक्तानीको स्वरूपको अध्ययन गरेर मात्र आयातकर्ता ठम्याउन सकिने बताए।

‘एलसी खोलेर वा अन्य प्रक्रियाबाट मुद्राको भुक्तानी गरेर आयात गरिएको छ भने आयातकर्ता पत्ता लगाउन सकिन्छ,’ ढुंगानाले भने, ‘तर आयातकर्ताले उधारो (डिएपी)मा मालवस्तु ल्याएको छ तर भन्सारविन्दुबाट जाँचपास गराएको छैन भने चाहिँ पत्ता लगाउन सकिँदैन। सुक्खा बन्दरगाह भन्सारले लिलाममा राखेका मालवस्तु पनि उधारो (डिएपी)मा ल्याइएका रहेछन् भने आयातकर्ता पत्ता लगाउन गाह्रो छ। हामी अध्ययन गर्दैछौं।’

उनले अनुसन्धानका क्रममा विभागले जोसुकैलाई पनि बोलाएर बयान गराउन सक्ने उल्लेख गरे।