हिमाल आरोहणको सलामी रकम बढाइँदै, विदेशीलाई १५ हजार डलर र नेपालीलाई डेढ लाखसम्म



वसन्तराज उप्रेती
२०८० माघ २९ गते १८:२४ | Feb 12, 2024
हिमाल आरोहणको सलामी रकम बढाइँदै, विदेशीलाई १५ हजार डलर र नेपालीलाई डेढ लाखसम्म

काठमाडौं। सरकारले हिमाल आरोहणबापतको सलामी रकम नौ वर्षपछि बढाउन लागेको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सलामीबापतको रकम नेपालीका हकमा शतप्रतिशत बढाउन लागेको हो।

Tata
GBIME
Zonsen

सलामी रकम बढाउन प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका एक उच्च अधिकृतले जानकारी दिए। उनका अनुसार, सलामी रकम विदेशीका हकमा अधिकतम १५,००० अमेरिकी डलर र स्वदेशी पर्यटकका हकमा डेढ लाख रुपैयाँ पुर्‍याउन लागिएको छ।

अहिले हिमाल आरोहण गर्ने विदेशीले अधिकतम ११ हजार र नेपालीले ७५ हजार रुपैयाँ सलामी रकम बुझाउनुपर्ने व्यवस्था छ। सलामी रकमको दर हिमाल र आरोहण गर्ने ऋतु अनुसार फरक छ। सबै हिमाल आरोहणको सलामी रकम बढाउन लागिएको छ।

सलामी रकम बढाउन पर्वतारोहण सम्बन्धी नियमावली २०५९ मा संशोधन गर्नुपर्छ। नियमावली संशोधनका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव लानुपर्छ। मन्त्रालयका ती उच्च अधिकृतले सलामी रकम बढाउनका लागि नियमावली संशोधनको गृहकार्य अघि बढाइएको जानकारी दिए।

‘हिमाल आरोहणको सलामी रकम बढाउन पर्यटन व्यवसायीले लामो समयदेखि माग गर्दै आएका थिए। उनीहरुको माग अनुसार नै बढाउने प्रक्रिया अघि बढाइएको छ,’ उनले भने।

मन्त्रालयले नियमालीको संशोधित मस्यौदा तयार पारी रायका लागि कानुन मन्त्रालयमा पठाइसकेको छ।

बढाइएको दुई वर्षपछि मात्र नयाँ सलामी रकम कार्यान्वयनमा आउने छ। पर्यटकले हिमाल आरोहणका लागि दुई वर्ष अगावै योजना बनाउने भएकाले नयाँ दर कार्यान्वयनमा २ वर्षको मार्जिन राख्‍न मस्यौदामा प्रस्ताव गरिएको छ। 

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले अन्य मुलुकको तुलनामा नेपालका हिमाल आरोहणको सलामी रकम निकै कम रहेकाले बढाउन आवश्यक रहेको बताए। ‘अरु मुलुकसँग तुलना गरेर सलामी रकम बढाइनुपर्छ,’ अध्यक्ष शेर्पाले बिजमाण्डूसँग भने, ‘सरकारले सलामी रकम बढाइ थप हिमाल पनि आरोहणका लागि खुला गर्नुपर्छ।’

नेपालमा हाल साना ठूला गरी १ हजार ७९२ वटा हिमाल रहेकामा ४०९ वटामा मात्र आरोहण गर्न पाइन्छ।