च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले हरेक दिन १०० बिलियन (एक खर्ब) शब्द जेनेरेट गरिरहेको दाबी गरेको छ। कम्पनीका सह-संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले शनिबार त्यसबारे जानकारी दिएका हुन्।
उनले चिप र आर्टिफिसियल इन्टिलिजेन्सको क्षेत्रमा ट्रिलियन डलर रकमको आवश्यक्ता रहेको समेत बताएका छन्। एक्स (ट्वीटर) मा उनले शब्दहरु जेनेरेट गर्न आफूहरुलाई हाल धेरै ग्राफिक्स प्रोसेसिङ युनिट्स (जीपीयू)हरुको आवश्यक्ता रहेको बताएका हुन्।
‘ओपनएआईले हाल प्रति दिन १०० बिलियन शब्द जेनेरेट गर्छ। पृथ्वीमा मानिसले प्रतिदिन १०० ट्रिलियन शब्द जेनेरेट गर्छन्,’ उनले भनेका छन्।
उनले मानव समुदायको प्रचलनमा रहेका शब्दहरु निर्माण गर्न धेरैभन्दा धेरै जीपीयू चाहिने बताएका हुन्।
वाल स्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार अल्टम्यानले चिप निर्माणका लागि लगानीकर्ताहरुसँग छलफल गरिरहेका छन्। सो योजनाअन्तर्गत ५ देखि ७ ट्रिलियन डलर चाहिने अनुमान गरिएको छ।
गत वर्ष विश्व बजारमा ५२७ बिलियन अमेरिकी डलर (६९९ खर्ब रुपैयाँ)को चिप बिक्री भएको थियो। सन् २०३० सम्म चिपको बजार १ ट्रिलियन पुग्ने अनुमान छ।