परासीमा उपभोक्ताले तिरेनन् खानेपानीको महसुल, ४० लाख रुपैयाँ भुक्तानी उठ्न बाँकी

बिजमाण्डू
२०८० माघ २८ गते ०७:५५ | Feb 11, 2024
परासीमा उपभोक्ताले तिरेनन् खानेपानीको महसुल, ४० लाख रुपैयाँ भुक्तानी उठ्न बाँकी


नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खानेपानी महसुलबापतको करिब ४० लाख रुपैयाँ उठ्न सकेको छैन। परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताले खानेपानीको महसुल समयमा नतिर्दा सो रकम उठ्न नसकेको हो।

Tata
GBIME
Nepal Life

समितिले  खानेपानी उपभोगबापतको बक्यौता भुक्तानीका लागि १५ दिनेसमय सीमा निर्धारण गरेको थियो। सो समयभित्र तीन लाखमात्रै महसुल भुक्तानी भएको समितिले जनाएको छ। ४३ लाख २३ हजार महसुल उठाउन बाँकी भएपछि समितिले ताकेता दिँदै भुक्तानी नगरे धारा काट्ने, भुक्तानी नतिर्नेको नामावली  सार्वजनिक गर्ने चेतावनी दिएको थियो।

तर, १५ दिनको अवधिमा तीन लाख २१ हजार रुपैयाँमात्रै महसुल उठेको समितिका अध्यक्ष खगेश्वर पन्थीले बताउनुभयो। अझै ४० लाख रुपैयाँ महसुलबापतको रकम उठन् बाँकी छ।

यसबीचमा समितिले वडा नं १ र २ मा तीनजना उपभोक्ताको धारा काटेर पानी वितरण रोकेको छ। स्थानीय राजनीतिक दलका नेताले नै महसुल नतिरेको समितिले जनाएको छ। तीन महिनासम्म महसुल नबुझाउने उपभोक्ताको बिना जानकारी धारा काट्ने साधारणसभाले निर्णय गरे पनि समितिले साधारणसभाको निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्न सकेको छैन।

समितिले केही संस्थागत र व्यक्तिगत गरि महसुल नबुझाउने नौवटा धारा यसअघि नै काटेको थियो। समितिले रामग्राम वडा नं १ र ६ मा रहेका दुईवटा खानेपानी ट्याङ्कीमार्फत एक हजार सात सय बढी घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ।

पोखरापालीमा रहेको ट्याङ्कीको पानी पनि अहिले वितरण भइरहेकाले धारा विस्तार गर्ने समितिको तयारी छ। तर कतिपय उपभोक्ताले संस्थाले विगतमा पर्याप्त र शुद्ध पिउने पानी वितरण गर्न नसकेको भन्दै धमिलो पानीको महसुल तिर्न नसकिने तर्क गर्दै आएका छन्।