पेट्रोल गाडीमा विद्युतीय जस्तै मजा लिन सकिन्छ? टेस्ट ड्राइभमा निसान एक्सट्रेल

शुक्र गिरी
२०८० माघ २७ गते १५:२० | Feb 10, 2024
पेट्रोल गाडीमा विद्युतीय जस्तै मजा लिन सकिन्छ? टेस्ट ड्राइभमा निसान एक्सट्रेल


काठमाडौं। पेट्रोल ट्यांक भरेर विद्युतीय गाडीको जस्तै मजा लिन कसरी सकिन्छ? पछिल्लो समय नेपालमा भित्रिने अधिकतम चारपांग्रे प्यासेन्जर भेहिकल विद्युतीय हुन्। तर आजको टेस्ट ड्राइभमा हामी केही फरक विशेषता रहेको निसानको एक्सट्रेल लिएर आएका छौं।

Tata
GBIME
Nepal Life

पेट्रोलियम भए पनि अत्यन्त न्यून मात्रामा इन्धन खपत हुने, पर्फर्मेन्समा अब्बल र विद्युतीय सवारीको अनुभूति एकैसाथ गराउने दाबी निर्माता कम्पनी निसानको छ। जापानी कार कम्पनीको यस्तो दाबी के व्यवहारमा नै देखिन्छ त? या यो कुनै प्रमोसनल स्टेटमेन्ट मात्र हो?

यसपाला हामी एक्सट्रेललाई लिएर केही असहज बाटोतिर लाग्दैछौं। टेस्ट ड्राइभ थापाथलीबाट सुरु भयो जुन सूर्यविनायक, रानीकोट हुँदै पनौतीको कुशादेवी पुग्यो। त्यहाँबाट फेरि लाकुरीभञ्ज्याङ हुँदै लुभु। यही एक फन्को यात्रापछि हाम्रो निष्कर्ष रह्यो – कम्पनीले गरेको दाबीमा असहमत हुने ठाउँ छैन।

यात्रा सहरी सडकमा हुँदा गाडीको पर्फर्मेन्स पहिचान गर्न नै कठिन हुन्छ। बाक्लो ट्राफिकमा गाडीको ‘पावर’ परीक्षण हुन सक्दैन। जुन सडकहरु परीक्षण गर्न योग्य छन्, तिनमा सरकारको निषेध छ – ५० किलोमिटर प्रतिघन्टाभन्दा धेरै गतिमा गुड्न पाइन्न। गुड्यो भने कानुन उल्लंघन हुन्छ र तिर्नुपर्छ जरिवाना। सूर्यविनायक पुग्ने समयसम्म एक्सट्रेलको सहरी परीक्षण भयो जसमा आउने परिणाम सबै एकैखाले हो। सम्पूर्ण ध्यान र शक्ति गाडीको रफ्तार ५० किलोमिटरभन्दा कम पार्नुमा नै खर्चनुपर्छ भने प्रश्न उठ्यो – १ सय ८० किलोमिटर रफ्तारमा गुड्न सक्ने गाडीको औचित्य के?

सहरी सडकमा नसकेको औचित्यको पुष्टि चाहिँ हामी असहज बाटोमा पुगेर गर्दैछौं। सूर्यविनायक मन्दिरलाई दायाँ पारेर हामी उक्लियौं पाइलटबाबाको आश्रमतिर। उद्देश्य योग वा ध्यानको थिएन, त्यसैले नरोकी घ्याम्पेडाँडा पार गर्‍यौं। त्यसपछि भने कच्ची बाटोको यात्रा सुरु भयो। घुम्ती र उकालो पार हुँदै रानीकोट पुगियो। काठमाडौं उपत्यका जोगाउन सैन्य रणनीति सहित बनेको ‘कोट’को अस्तित्व विलाइसके पनि पछिल्लो समय विस्तार भएका रिसोर्टका कारण फेरि गुल्जार बन्दैछ यो ठाउँ। अब यहाँबाट पनौतीतर्फ पिच सडकको यात्रा गर्दै थियौं हामी।

नेपालका सडकको स्थायी चरित्र नै – तिनको संरचना अस्थायी हुनु हो। हामी जुन बाटो जाने तयारीमा थियौं त्यहाँको माथिल्लो भागमा ढलान जारी रहेछ। दुई सय मिटर तर नागबेली परेको कालोपत्रे सडक सवारीको प्रतीक्षामा रहे पनि हाम्रा लागि वैकल्पिक बाटो खोज्नुको विकल्प थिएन। र, हामी लाग्यौं गाउँ फन्फन्ती घुम्ने धुले सडकतिर। साँघुरो सडक, ग्राबेल समेत हालिएको छैन भने के हुन्छ यो हिउँदमा?

एक्सट्रेलको यात्रा ‘बाइरोडको बाटोमा धुलो उडाउँदै…’ भनेजस्तै बन्यो। कम्तिमा तीन ठाउँमा हामी बाटो भुलेर अल्मलियौं साँघुरो ठाउँमा मोड्न नसक्दा ब्याक गर्दै रुट समात्यौं जसले हामीलाई गन्तव्यतिर पुर्‍याउँथ्यो।

हामी जुन गाडी चढिरहेका छौं त्यो अटोमेटिक गियर सिस्टममा आधारित हो। त्यसैले टर्निङ होस् या उकालो र ओरालो ‘गियर सिफ्ट’ गर्नुपर्ने झन्झटबाट मुक्त थियौं। त्यसैले विद्युतीय गाडीमा चढ्दाभन्दा फरक अनुभूति भएन। त्यसखाले अनुभूति नहुनुको अर्को कारण पनि रहेछ – एक्सट्रेल हाइब्रिड हुनु।

कम रफ्तारमा यात्रा गर्दा एक्सट्रेलले विद्युतीय मोटरबाट काम गर्ने रहेछ। यसको इन्फोटेनमेन्ट क्लस्टरमा गाडीमा इनर्जी फ्लो कसरी भइरहेको छ भन्ने डिस्प्ले हुने रहेछ। मतलब आफूले चलाइरहेको गाडी विद्युतको सपोर्टमा मोटरले चलाइरहेको छ या पेट्रोलको इन्जिनबाट भन्ने थाहा हुन्छ। जब इन्जिनबाट गाडीले रफ्तार लिन्छ त्यसपछि त्यहाँ उत्पन्न हुने विद्युतीय इनर्जी ब्याट्रीमा पठाउँने रहेछ। त्यसो हुँदा पेट्रोलले गाडीको रफ्तार दिने त भयो नै सँगै गाडीको ब्याट्री रिचार्ज पनि गर्ने। यात्रा गरिरहँदा पूरै पेट्रोल रित्तियो भने पनि करिब ३० किलोमिटर यात्रा चाहिँ ब्याट्री ब्याकअपले पूरा गर्ने रहेछ। त्यसैले पनि यो गाडीमा यात्रा गरिरहँदा इभीको फिल भइरह्यो।

हाइब्रिड मात्र होइन, एक्सट्रेल इ-पावरमा आधारित एसयूभी हो। हाइब्रिडभन्दा फरक विशेषता के भने यसमा एउटा फिचर छ – इ प्याडल। जब हामी ड्राइभ गर्दा इ प्याडल अन गर्छौं, गाडीको अलग अन्दाज महसुस हुन्छ। इ प्याडलमा जानासाथ एक्सिलेरेटर र ब्रेकिङ सिस्टममा परिवर्तन आउँछ। एक्सिलेरेटर छोड्नासाथ त्यसले ब्रेकिङलाई असिस्ट गर्छ। सजिलोसँग बुझ्दा इ प्याडल त्यस्तो फिचर हो जसको प्रयोग ब्रेक लगाउन सहज हुन्छ। यसले इभी गाडी नै चलाएको फिल गराउँछ।


  • इन्जिन : १५ सय सीसी टर्बो
  • इन्जिन प्रकार : इ पावर
  • मोटर : इ-पावर
  • ब्याट्री : लिथियम आयन

यिनैखाले अप्सनको प्रयोग गर्दै हामी सहज बाटोमा पुग्यौं। पनौतीको कुसादेवीमा केही समय अलमलिएपछि हामी फर्किनका लागि लाकुरीभञ्ज्याङतिर अघि बढ्यौं। कच्ची भए पनि फराकिलो बाटोले पनौतीलाई काठमाडौं नजिक्याइरहेको छ। हामी अन रोड वा अफ रोड दुवैमा सुहाउने गाडीको ड्राइभमा छौं। बाटो अनुसार चारवटा मोडमा गाडी चलाउन सकिने विशेषता रहेछ। इको, अटो, अफ रोड र स्नो। हिउँ परिरहेका बाटोदेखि सहज सडकसम्म गाडी चलाउन सकिने रहेछ। जस्तो कि अहिलेको सिजनमा दोलखाको मुडे होस् या डडेल्धुरा हिउँ जतिखेर पनि पर्न सक्छ। त्यस्तोमा यसखाले गाडीमा मौसमले च्यालेन्ज कमैमात्र गर्न सक्छ।

पावर पर्फर्मेन्स बलियो र लुक्स पनि दमदार रहेको एक्सट्रेल सर्वगुण सम्पन्न हो त? सबै लोडेड फिचरको तारिफ गर्दागर्दा यसको इन्फोटेनमेन्ट क्लस्टर भने केही कमजोर लाग्छ। पछिल्लो समय ४० लाख पर्ने इभीमा प्रयोग भएको क्यामरा र डिस्प्लेको क्वालिटी यसमा छैन। झन्डै दुई करोड रुपैयाँ मूल्य पर्ने गाडीको इन्फोटेन्मेन्टमा निसानले किन कन्जुस्याइँ गर्‍यो भन्ने प्रश्न अनुत्तरित नै रह्यो।

सहरी क्षेत्रमा ब्याट्री बढी चल्ने भएकाले एक्सट्रेलले औसतमा १८ किलोमिटर प्रति लिटर माइलेज दिन्छ। हेभी र पावरफुल इन्जिन तथा अफ रोड मोडमा चलाउने सुविधा भएकाले यो गाडी सञ्चालन खर्च चाहिँ ज्यादै न्युन हुने देखियो। यो गाडी कसका लागि त?

पहिलो पटक एसयूभीमा उक्लिन चाहनेका लागि यो गाडी महँगो छ। यसको मूल्य नेपालमा १ करोड ८७ लाख रुपैयाँ पर्छ। त्यसैले जोसुकैले अफोर्ड गर्न सक्दैनन्। मिड लेबलका एसयूभी चढिसकेकाहरुको चाहिँ ‘लिस्ट’मा पर्न सक्छ यो गाडी। पावरफूल हाइब्रिड एसयूभीका थोरै अप्सनमा यो अटाउँछ।


  • ०-१०० कि मि/घन्टा : ७.२ सेकेन्ड
  • सिट संख्या : ७
  • ग्राउन्ड क्लियरेन्स : २२० एमएम
  • ह्विलबेस : २७०५

विशेषगरी ठूला आयोजना, ट्रेकिङ अथवा टुरिज्म लगायतका क्षेत्र जसले अफरोड र अनरोड उत्तिकै यात्रा गर्नुपर्छ, तिनका लागि यो गज्जबको रोजाइ हुनसक्छ। हामीले असहज बाटोमा धेरै इफोर्टबिना नै सहज यात्रा गर्‍यौं। त्यसैका आधारमा पनि प्रोजेक्टसहरु यसको लक्षित ग्राहक हुनसक्ने बताएका हौं।