घरजग्गा व्यवसायीको महासभा पोखरामा, ‘घर किन्नेलाई ऋण मापदण्ड कडा बनाएकाले समस्या’

उन्नत सापकोटा
२०८० माघ २७ गते १३:३९ | Feb 10, 2024
घरजग्गा व्यवसायीको महासभा पोखरामा, ‘घर किन्नेलाई ऋण मापदण्ड कडा बनाएकाले समस्या’


पोखरा। घरजग्गा व्यवसाय मन्दीको मार खेपिरहेको बेला नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएलएचडीएफ)ले शनिबार पोखरामा दोस्रो वार्षिक महासभा आयोजना गरेको छ। देशभरका घरजग्गा व्यवसायीहरु यतिबेला पोखरामा भेला भएका छन्।

Tata
GBIME
Nepal Life

महासभाले महासंघको आगामी कार्यदिशा तय गर्दैछ। महासभामा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतिफल बढी आउने लोभमा घरजग्गा, सेयर लगायतका व्यवसायमा हाम्फालिहाल्ने प्रवृत्तिले कसैको भलो नगर्ने बताएका छन्। घरजग्गा व्यवसायीहरुलाई यथार्थभन्दा बाहिर गएर धेरै महत्वाकांक्षी नबन्न आग्रह गरे।

छरिएर बनेका वस्ती विकासमा आवश्यकभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता अन्त्य गर्न व्यवस्थित बसोबासका परियोजना निर्माण गर्नुपर्ने उनले बताए। निजी क्षेत्रको साथमा नै यस्ता परियोजना अघि बढाउनुपर्नेमा उनको जोड थियो। गण्डकी प्रदेशले स्थानीय तहहरुसँगको सहकार्यमा व्यवस्थित बसोबास सम्बन्धी कानुन निर्माणको चरणमा रहेको उनले बताए।

महासंघका अध्यक्ष भेषराज लोहनीले आफूहरुको मूल ध्येय ठूला व्यवस्थित सहर निर्माण भएको भन्दै अब फुटकर हाउजिङ/अपार्टमेन्ट परियोजना निर्माणले उल्लेखनीय योगदान नपुर्‍याउने बताए। निजी क्षेत्रको सहभागितामा ल्यान्डपुलिङमार्फत टाउनसीप परियोजना अघि बढाउन ढिलो भइसकेको भन्दै उनले अब सरकारले त्यसतर्फ आवश्यक निर्णय गर्नुपर्ने बताए।

त्यसका लागि आवश्यक कानुन निर्माणमा आफूहरुले सघाउने बताए। रियल इस्टेट कम्पनीहरुलाई जग्गाको हदबन्दी हटाउनुपर्नेमा उनले जोड दिए। नेपाल राष्ट्र बैंकले घर खरिदकर्तालाई घर किन्न ऋण दिने मापदण्ड निकै कडा बनाएकाले समस्या निम्तिएको उनले बताए।

महासंघका उपाध्यक्ष राजकुमार राईले नेपालको घरजग्गा व्यवसाय मर्यादित बन्न नसकेको बताए। महासभामा बोल्दै उनले घरजग्गा व्यवसाय गरिरहेका व्यवसायीहरु अझै पनि खुलेर आफू रियल इस्टेट व्यवसायी हुँ भन्न नसक्ने अवस्था रहेको बताए।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रियल इस्टेट क्षेत्रमा केही समस्या देखिए त्यसले देशको समग्र अर्थतन्त्रमै असर पर्ने भनाइ राखे। अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा घरजग्गा रहेको भन्दै मेयर आचार्यले घरजग्गा व्यवसायीहरुलाई आफ्नो जिम्मेवारी नभुल्न सचेत गराए।

उनले व्यवस्थित सहरको रुपमा पोखरालाई अघि बढाउन निजी क्षेत्रसँग सहकार्य गर्न महानगर तयार रहेको बताए।

यस्तै, पूर्व सचिव किशोर थापाले कोरोना महामारी, आर्थिक संकटले घरजग्गा क्षेत्रलाई शिथिल बनाएको बताए। उनले नयाँ पुस्तालाई लक्षित गरेर अब हाउजिङ अपार्टमेन्ट निर्माण गरिनुपर्नेमा जोड दिए। एउटा एउटा प्रोजेक्ट बनाउने शैलीले व्यवस्थित सहर नबन्ने भन्दै उनले अब टाउनसीप निर्माण गर्न थाल्न निजी क्षेत्रसँग आग्रह गरे। ५० हजार १ लाख जनसंख्या अट्ने सहर निर्माण नगरे हाम्रा सहर व्यवस्थित हुन नसक्ने बताए।

यस्तै, सांसद विन्दुकुमार थापाले घरजग्गा र सेयर बजार जबसम्म राम्रो हुँदैन तबसम्म अर्थतन्त्र सुधार नहुने बताएका छन्। उनले सरकारले घरजग्गा र सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको बताए।