बैंकबाट ऋण लिएर घर बनाउने बढे, ६ महिनामा पौने ३३ अर्ब आवासीय कर्जा लगानी

बिजमाण्डू
२०८० माघ २५ गते १४:४१ | Feb 8, 2024
बैंकबाट ऋण लिएर घर बनाउने बढे, ६ महिनामा पौने ३३ अर्ब आवासीय कर्जा लगानी

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवासीय घरमा ऋण लगानी बढाएका छन्। आवासीय कर्जाको माग बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले ६ महिनामा ३२ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गरेका छन्।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म संस्थाहरुले ३ खर्ब ८० अर्ब रुपैयाँ घर कर्जा लगानी गरेका छन्। गत असार मसान्तको तुलनामा व्यक्तिगत आवासीय कर्जा ९.४० प्रतिशत वृद्धि भएको हो।

असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवासमा ३ खर्ब ४८ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए।

आर्थिक वर्षको सुरुवातदेखि बैंक तथा वित्तीय संस्थाको ऋण लगानीमा सुस्तता देखिएपछि राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जामा खुकुलो नीति लिएको थियो। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पुर्‍याएको थियो।

गत पुसमा राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट ६० प्रतिशत पुर्‍याएको थियो।

राष्ट्र बैंकले पहिलो त्रैमासको मौद्रिक समीक्षामार्फत ५० लाख रुपैयाँ माथिको रियलस्टेट कर्जाको जोखिम भार १२५ प्रतिशतमा झारेको थियो।

घरजग्गा क्षेत्रमा ऋण प्रवाह बढाउन एकपछि अर्को नीतिगत लचकता अपनाइएपछि आवासीय कर्जा बढेको तथ्यांकले देखाउँछ।

रियल इस्टेट कर्जा प्रवाह भने ६ महिनामा १.८ प्रतिशतले घटेको छ। असारसम्म बैंक तथा वित्तीय संस्थाको रियल इस्टेट क्षेत्रमा २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकामा पुससम्म आउँदा २ खर्ब ४५ अर्ब रुपैयाँमा झरेको छ।