नेपालले स्वीजरल्याण्डसँग एक महिनाभित्र हवाई सम्झौता गर्ने, इण्डोनेसिया पनि सूचीमा



बिजमाण्डू
२०८० पुष २५ गते १७:०५ | Jan 10, 2024
नेपालले स्वीजरल्याण्डसँग एक महिनाभित्र हवाई सम्झौता गर्ने, इण्डोनेसिया पनि सूचीमा

काठमाडौं। नेपालले स्वीजरल्याण्डसँग हवाई सम्झौताको तयारी गरेको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिनाभित्र हवाई सम्झौता गर्ने तयारी रहेको जनाएको छ।

Tata
GBIME
Zonsen

सम्झौताका लागि स्वीजरल्याण्डका सरकारी अधिकारी नेपाल आउने मिति तय भइसकेको छ। ‘दुई मुलुकबीच हवाई सम्झौताका लागि आउँदो फेब्रुअरी ५ र ६ तारिखमा स्वीजरल्याण्डका प्रतिनिधि नेपाल आउँदै छन्,’ मन्त्रालयका एक उच्च अधिकृतले भने, ‘सम्झौताका लागि सबै प्रक्रिया पूरा भइसकेको छ। सम्झौतापछि दुई देशबीच दुईतर्फी उडानको बाटो खुला हुनेछ।’

मन्त्रालयले इण्डोनेसियासँग पनि हवाई सम्झौता प्रक्रिया अगाडि बढाएको छ।

‘इण्डोनेसियासँगको हवाई सम्झौताका लागि मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त भइसकेको छ,’ ती अधिकृतले भने, ‘हामी अहिले पत्राचारको चरणमा छौं। छिट्टै सम्झौता हुने विश्‍वास छ।’

नेपालले अहिलेसम्म ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेकामा वायुसेवा प्रदायक नेपाली कम्पनीले एक दर्जन अन्तर्राष्ट्रिय गन्तव्यमा मात्र नियमित उडान गर्दै आएका छन्। युरोपियन युनियनले नेपाली हवाई क्षेत्रलाई सन् २०१३ देखि कालो सूचीमा राखेका कारण नेपाली कम्पनीले युरोपका गन्तव्यमा उडान गर्न पाएका छैनन्।