प्रिमियममा आइपीओ ल्याउने जगदम्बा स्टिलको तयारी, अंकित मूल्यमै पाउन स्थानीयको दबाब

बिजमाण्डू
२०८० पुष २४ गते २०:०५ | Jan 9, 2024
प्रिमियममा आइपीओ ल्याउने जगदम्बा स्टिलको तयारी, अंकित मूल्यमै पाउन स्थानीयको दबाब
जगदम्बा स्टिल उद्योग

काठमाडौं। जगदम्बा स्टिलले प्रिमियम मूल्यमा आइपीओ ल्याउने तयारी गरिरहँदा उद्योग आसपासका स्थानीयले भने अंकित मूल्यमै पाउनुपर्ने माग गरेका छन्।

Tata
GBIME
Nepal Life

बाराको जितपुर सिमरा उपमहानगर-१ र २ का बासिन्दाले अंकित मूल्यमै अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै आइपीओ पाउनुपर्ने मागसहित नियामक निकायको ध्यानाकर्षण गरेका हुन्।

स्थानीयका तर्फबाट वडा १ र २ का कार्यबाहक वडाध्यक्षले नेपाल धितोपत्र बोर्डमा प्रभावित क्षेत्रका स्थानीयले अंकित मूल्यमै आइपीओ पाउने गरी स्वीकृति दिन पत्र बुझाएका छन्।

जगदम्बा स्टिलले अंकित मूल्यमा प्रति कित्ता २०० रुपैयाँ प्रिमियम जोडेर २ करोड ७० हजार कित्ता आइपीओ निष्कासनका लागि गत असोज १७ गते बोर्डमा निवेदन दिएको थियो। बोर्ड अनुमति दिने अन्तिम तयारीमा रहेका बेला स्थानीयले १०० रुपैयाँकै दरले आवेदन दिन पाउने मागसहित दबाब दिएका हुन्।

जितपुर सिमरा उपनगरपालिका-१ र २ लाई अति प्रभावित क्षेत्रमा राखेर स्थानीयलाई अंकित मूल्यमै आइपीओ बिक्रीको अनुमति दिनुपर्ने माग बोर्डमा बुझाइएको पत्रमा उल्लेख छ।

जगदम्बा स्टिल उद्योग सञ्चालनमा रहेको क्षेत्रमा वडा २ मा पर्छ। कम्पनीबाट निस्कने धुवाँ, धुलोका कारण आफूहरु विभिन्न रोगबाट पीडित भइरहेकाले प्रिमियम मूल्य स्वीकार नगर्ने उनीहरुको भनाइ छ।

‘उद्योगबाट निस्कने धुवाँ धुलोका कारण स्थानीयले विभिन्न स्वास्थ्य समस्या भोग्नुपरेको छ। कम्पनीले प्रभावित क्षेत्रका स्थानीयलाई पनि प्रिमियम शुल्कमा आइपीओ बिक्री गर्न लागिएको भनेर स्थानीयले गुनासो गरेपछि हामीले अंकित मूल्यमै पाउने व्यवस्था गर्न भनी कम्मपनीका साथै बोर्डमा पत्र पठाएका हौं,’ उपमहानगरपालिका-२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले बिजमाण्डूसँग भने।