एनएसीका कार्यकारी अध्यक्ष बर्खास्त गर्न क्यानको स्पष्टीकरण, ग्राउण्ड ह्यान्डलिङ पनि खोसियो

बिजमाण्डू
२०८० मंसिर १५ गते १४:२१ | Dec 1, 2023
एनएसीका कार्यकारी अध्यक्ष बर्खास्त गर्न क्यानको स्पष्टीकरण, ग्राउण्ड ह्यान्डलिङ पनि खोसियो


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय छबि विगारेको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ।

Tata
GBIME
Nepal Life

युरोपेली युनियन(ईयू)ले हवाई सुरक्षामा गम्भीर लापरवाही गरेको प्रतिवेदन दिएको भोलिपल्टै शुक्रबार अधिकारीलाई स्पष्टीकरण सोधेको हो। प्राधिकरणले हवाइ सुरक्षामा ध्यान नदिएको, हवाइ सुरक्षा प्रणाली तथा अन्य व्यवस्थापन पक्ष र वायुयान उडाएर संस्थाको दिगो विकासमा ध्यान नदिएर अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम गरेको प्राधिकरणको स्पष्टीकरणमा उल्लेख छ।

‘हवाइ सुरक्षा प्रणालीमा ध्यान नदिएर अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम गर्ने एकाउन्टेवल म्यानेजरलाई किन नहटाउने ? ‘ प्राधिकरणले सोधेको स्पष्टीकरणमा उल्लेख छ। ईयूको प्रतिवेदनसँगै प्राधिकरणले निगमको ग्राउण्ड ह्यान्डलिङ सेवा पनि खोसेको छ।

प्राधिकरणले विमानस्थल सेवा शुल्क २०७८ नियम ५(२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामा छनोट गर्ने निर्णय गरेको छ। निगमको ठूलो आम्दानीको स्रोत ग्राउण्ड ह्यान्डलिङ हो। त्यही ग्राउण्ड ह्यान्डलिङका कारण निगम नाफामा गइरहेको छ।

ईयूको प्राविधिक टोलीले भदौ अन्तिममा एक साता लगाएर नेपालको हवाइ अडिट गरेको थियो। त्यो बेलामा टोलीले निगमको स्थलगत अध्ययन गरेको थियो।

अध्ययनका क्रममा टोलीले निगमको सुरक्षा व्यवस्थापन प्रणाली(सेफ्टी म्यानेजमेन्ट सिस्टम)मा गम्भीर लापर्बाही गरिएको भेटेको थियो। ‘निगमको सुरक्षा व्यवस्थापन प्रणाली र अपरेसनल कम्प्लायन्समा अभाव देखिएको छ,’ ईयूले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘जोखिम पहिचान र व्यवस्थापन गर्न अपर्याप्त रहेको छ।’

ईयूले जहाज उडानमा सुरक्षित राख्‍न आवश्यक विभागमा कर्मचारी व्यवस्थापनका बारेमा पनि गम्भीर प्रश्न गरेको छ। सुरक्षासँग जोडिएको क्वालिटी एसुरेन्स डिपार्टमेन्टमा जनशक्ति परिचालनमा पनि समस्या रहेको स्पष्‍ट् रुपमा उल्लेख गरेको छ। ‘यो विभागको प्रभावकारिता गम्भीर चासोको विषय हो,’ ईयूले भनेको छ, ‘यसले जोखिम (लग इन)को अभाव देखिएको छ।’