नेप्सेमा चार महिनायताकै ठूलो वृद्धि, ४७.७५ अंकको उछाल, कारोबार रकम २ महिनापछि २ अर्बमाथि

बिजमाण्डू
२०८० मंसिर १० गते १५:२३ | Nov 26, 2023
नेप्सेमा चार महिनायताकै ठूलो वृद्धि, ४७.७५ अंकको उछाल, कारोबार रकम २ महिनापछि २ अर्बमाथि


काठमाडौं। सेयर बजार परिसूचक (नेप्से)मा चार महिनायताकै ठूलो वृद्धि देखिएको छ। नेप्से आइतबार ४७.७५ अंकले बढेको हो। यस्तै २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यो दुई महिनायताकै धेरै हो।

Tata
GBIME
Nepal Life

नेप्से साउन ७ गते ६३.२४ अंकले बढेको थियो। त्यसयता आज सबैभन्दा फराकिलो वृद्धि भएको हो। झण्डै अर्धशतकको वृद्धिसँगै नेप्से १९०७.९५ अंकमा उक्लिएको छ।

आइतबार २१४ कम्पनीको सेयर मूल्य बढेको छ। २३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर छ। छ्याङ्दी हाइड्रोपावर, भगवती हाइड्रोपावर विकास कम्पनी, विजय लघुवित्तलगायत आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सोनापुर मिनरल्सले सबैभन्दा धेरै ११ करोड ६६ लाख ६७ हजार रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, सिटिजन लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्स पनि सेयर धेरै किनबेच हुने कम्पनीको सूचीमा छन्।

धितोपत्र ब्रोकर एसोसिएसन नेपालका महासचिव कृष्ण गिरीले लगानीकर्तामाझ मौद्रिक नीतिको समीक्षा सकारात्मक आउने चर्चाका कारण सेयर बजार बढेको बताए। ‘राष्ट्र बैंकले सेयर धितो कर्जामा कायम सीमा हटाउने चर्चा छ। त्यसले बजारमा वृद्धि देखिएको हो,’ उनले भने।

सेयर धितोमा अहिले व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँको सीमा छ। राष्ट्र बैंकले केही दिनमा मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दैछ।

ऋणको पुनर्तालिकीकरणलगायतका सुविधाका कारण पनि सेयर बजारमा उत्साह देखिएको गिरीले बताए।