बैंकको ऋण लिएर तिर्दिन भन्नेको कुनै सुनुवाइ हुँदैन, ‘तिर्ने समयसीमा सरकारले सहजीकरण गर्छ’  

बिजमाण्डू
२०८० मंसिर ५ गते २०:२६ | Nov 21, 2023
बैंकको ऋण लिएर तिर्दिन भन्नेको कुनै सुनुवाइ हुँदैन, ‘तिर्ने समयसीमा सरकारले सहजीकरण गर्छ’  


काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिन भन्नेको राज्यले कुनै सुनवाइ नगर्ने बताएका छन्। अर्थतन्त्रको समस्याबारे निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा मन्त्री महतले  दीर्घकालीन सोचका साथ जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा सरकारले तदारुकताका साथ काम गर्ने बताए।

Tata
GBIME

छलफलपछि मन्त्री महतले भने, ‘अप्ठ्यारामा परेका व्यवसायलाई सहजीकरण गर्ने विषयमा पनि छलफल भयो। तर, ऋण लिएर तिर्दिन भनेर जो लाग्छ, त्यसको सुनवाइ हुँदैन। ऋण तिर्नपर्छ। अप्ठ्यारामा परेकाहरूलाई केही समय दिएर सहजीकरण गर्न सरकार तयार छ। ‘ऋण लिएर नतिर्ने, ठूला कुरा गर्दै नेता पल्टिनेलाई राज्यले सहन सक्दैन। ’ Ú 

छलफलमा अर्थतन्त्रको अवस्थाबारे मन्त्री महत र नेपाल राष्ट्र बैंकको तर्फबाट गभर्नर महाप्रसाद अधिकारीले वस्तुस्थितिको जानकारी गराएका थिए।

‘हाम्रो अर्थतन्त्रमा संरचनागत समस्या छन्। अर्थतन्त्रलाई थप गतिशील बनाउन अझ धेरै काम गर्न बाँकी रहेको छ’ मन्त्री महतले भने, ‘यो विषयवस्तु सरकारले पनि बैठकमा राखेको थियो, निजी क्षेत्र र राजनीतिक दलबाट प्रतिनिधित्व गरेर सहभागीले पनि राखेका थिए। त्यसको सारांश प्रधानमन्त्री पुष्पकमल दाहालले पनि प्रस्तुत गर्नुभयो।’

ऋण तिर्ने समयसीमाबारे सरकारले राष्ट्र बैंकसँगको परामर्शमा सहकार्य गर्ने महतले बताए।  निर्माण व्यवसायीको भुक्तानीका सम्बन्धमा अर्थ मन्त्रालय स्पष्ट रहेको मन्त्री महतले बताए। अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई साथमा लिएर सरकार अघि बढ्ने उनले बताए।