बिपीलाई सम्झिँदै बाबुरामले भने : कूटनीति अत्यन्तै खराब अवस्थामा छ, छिमेकीले हेपेको छ

बिजमाण्डू
२०८० भदौ २५ गते १८:३४ | Sep 11, 2023
बिपीलाई सम्झिँदै बाबुरामले भने : कूटनीति अत्यन्तै खराब अवस्थामा छ, छिमेकीले हेपेको छ


काठमाडौं। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको अहिलेको कूटनीति ठीकसँग नबढेको बताएका छन्। तीन दिने बिपी साहित्य सम्मेलनको क्रममा सोमबार ‘अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी’ विषयको बहसमा सहभागी हुँदै भट्टराईले उक्त भनाई राखेका हुन्।

Tata
GBIME

छिमेकीले हेपेको अवस्थामा देशभित्र कुर्सीको लडाई जारी रहेको उनले बताए।

‘अहिलेको डिप्लोमेसी प्रभावकारी छैन। २१ औं शताब्दीमा हाम्रै छरछिमेकमा ठुलो राजनीतिक लडाइँ संघर्षको मञ्चन हुँदैछ। हाम्रो निम्ति ठुलो अवसर छ। यसलाई छोपेर अवसर लिनुपर्थ्यो। तर हामी देशभित्रै मेल छैन,’ सानेपामा आयोजित बहसमा भट्टराईले भने, ‘छिमेकीले हेपेको अवस्था छ। दलहरुको कूर्सी लडाई छ। जो देशको लागि लड्छ उसलाई विदेशी दलाल भन्ने। जसले आफ्नो कूर्सीका निम्ति विदेशीको दलाली गर्छ तिनलाई राष्ट्रवादी भन्ने रोग छ।’

पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लक्षित गर्दै भट्टराईले अस्थिरता मच्चाउन उनी लागि परेको आरोप लगाए।

‘हामीले पदच्युत गरेका मान्छे अहिले विदेश गएर बसेका छन्। माहिनौसम्म गएर बसेका छन्। शक्ति केन्द्रको चाकरी गरेर बसेका छन्,’ बाबुरामले भने, ‘भारत र चीनसँग कुरा गरेर चलखेल गरेर त्यसमा साथ दिन उनी तयार भएर बसेका छन्। त्यसबारे कसैले चिन्ता जनाएका छैनन्। पब्लिक डिप्लोमेसीमा एकदम कमजोर भएका छौं।’

बिपीलाई ईश्वर नबनाउँ

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बिपी कोइरालालाई ईश्वर बनाउने प्रयासमा नलाग्न कांग्रेसलाई आग्रह गरे।

‘कुनै पनि मानिस त्यति ठुलो हुँदैन जति ठुलो ठानिएको हुन्छ। न त त्यति सानो नै हुन्छ जति सानो बनाउन खोजिन्छ। सँगै मानिसले ठुलो बन्ने महत्वकांक्षा राख्यो वा ईश्वर बन्ने महत्वकांक्ष राख्यो भने उसले केवल विध्वंश मच्चाउँछ,’ डा भट्टराईले भने, ‘त्यसैले हामीले बिपीलाई मानिसै भन्नुपर्छ। ईश्वर भगवान बनाउनु हुँदैन।’

बिपी कोइराला गतिशिल व्यक्ति भएकोले कांग्रेसले अन्याय गर्न नहुनेसमेत बाबुरामको तर्क थियो।

‘कांग्रेसीहरु धेरै भ्रममा हुनुहुन्छ। बिपीमाथि अन्याय नगरौं। उहाँ गतिशील मानिस हुनुहुन्थ्यो,’ उनले भने, ‘प्रदीप गिरीको पुस्तकमा उहाँको अन्तर्वार्ता छ। त्यो सबै पढ्नुहोला। आफ्नो जीवन के हो भनेर सबै राख्नुभएको छ। ईश्वरतिर कि मार्क्सतिर भनेर सोध्दा उहाँले मार्क्स भन्नुभएको थियो। स्टालिनवाद हाबी हुँदा उहाँले कम्युनिस्ट छाड्नुभएको थियो। उहाँ पछि गान्धीबाट प्रभावित हुनुभयो।’

अन्तर्राष्ट्रिय नीतिमा बिपीको ‘ब्रेक थ्रु’

अन्तर्राष्ट्रिय नीतिमा बिपीको नीति सही भएको बाबुरामको भनाई थियो। यद्यपि, बिपी सुगौली सन्धीमा भने चुकेको उनको दाबी थियो।

‘बिपीको अन्तरार्ष्ट्रिय नीति सही थियो। बिपीजस्तो मान्छेले किन असमान सुगौली सन्धी गर्नुभयो? बिपी किन चुक्नुभयो होला जस्तो लागेको थियो,’ बाबुरामले भने, ‘तर उहाँ झुक्किनुभएको रहेछ। सच्चिँदै आउनुभयो। भारतसँगमात्र हैन चीनसँग पनि सम्बन्ध बढाउनुभयो।’

सोही कार्यक्रममा अन्तरर्ष्ट्रिय ममलामा कति बिपी देख्नुहुन्छ? पत्रकार सुधीर शर्माको प्रश्नमा एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बीपीको समयमा चीनसँगको सम्बन्धमा ब्रेक थ्रु नै भएको दाबी गरे।

‘उहाँले चीनसँगको सम्बन्धलाई नयाँ ढंगले लानुभयो। ब्रेक थ्रु नै गर्नुभयो,’ ज्ञवालीले भने, ‘चीनसँग सीमा सम्झौता निकै राम्रो थियो।’

विश्लेषक इन्द्र अधिकारीको नजरमा बिपी एक अन्तर्राष्ट्रिय व्यक्ति थिए। ‘राष्ट्रिय स्वार्थ र सीमाले मानवीय संवेदना खुम्चिएको छ भन्नुहुन्थ्यो बिपी। उहाँ अन्तरर्ष्ट्रिय जानकार हुनुहुन्थ्यो,’ अधिकारीले भनिन्, ‘सिर्जनशिल हुनुहुन्थ्यो। एक्सनमा गएको चाहिँ प्रधानमन्‍त्री भएकै बेला हो। १५ औं युनाइटेड नेसनको सभामा उहाँले सम्बोधन गर्न पाउनुभएको थियो। त्यहाँ साना राज्यका अधिकारका कुरा उठाउनुभएको थियो।’

कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री डा नारायण खड्काले बिपी अद्धितिय नेता भएको बताए। विराटनगरमा बिपीसँगै परेको प्रसंग निकाल्दै अन्तर्राष्ट्रिय स्तरका नेताहरुले बिपीलाई साथ दिएको बताए।

मेलमिलापको कदमलाई उत्पातै मान्नुहुन्न

पूर्वप्रधानमन्त्री डा भट्टराईले बिपीले मार्क्सवादलाई आदर्शन मानेको बताए।

‘देशको अन्तरराष्ट्रिय स्तर हेर्दा आर्थिक हैसियत वा सामरिक वा नेतृत्व दुरदर्शी हुनुपर्छ। नेपाल आर्थिक हैसियत नभए पनि सामरिक दृष्टिले बलियो छ,’ उनले भने, ‘बिपीले पाउनुभएको अवसर विशिष्ट थियो। उहाँ आफूलाई मार्क्सवादी ढंगले विश्वलाई हेर्नुभयो। गान्धीलाई पनि मिसाउनुभयो अन्तिममा। नयाँ समाजवादको मोडलका रुपमा उहाँ नेहरुसँग आँखा जुधाएर कुरा गर्नुभयो। नेहारुको धुवाँधार विरोध गर्नुभयो। देशभित्र राणाहरुको राजगज थियो। साधारण बिपीलाई मान्ने कुरै थिएन। राजादेखि बाह्य अर्को थिए। बिपीलाई अपदस्त गर्न यी शक्ति लागे।’

मेलमिलाप नीति लिएर राजासँग किन घाँटी जोडे होलान् भनेर आफूले २४ वर्षकै उमेरमा सोधेको बाबुरामको तर्क थियो।

‘राजासँग किन घाँटी जोडेको होला भनेर मैले २४ वर्षमै उहाँलाई सोधेको थिएँ। तर उहाँ गान्धीवादी सोचले उहाँ यता आउनुभएको रहेछ। राम्रै नियतले उहाँ आउनुभए पनि यो राम्रो थिएन मेरो भनाई हो। कांग्रेस यसबाट बच्नुहोला,’ बाबुरामले भने। मेलमिलाप नीतिलाई उत्पातै गरेको ठान्नु गलत भएकोसमेत उनको तर्क थियो।

‘मेलमिलाप नीतिको विषय छ। मैले जान्य छैन भन्नुहुन्छ उहाँ। हामी नजाने पनि कनीकुथी कुतर्क गर्न खोज्छौ। बिपीले बाध्यात्मक अवस्थामा मेलमिलाप गरेका हुन्। मर्त न क्या कर्ता,’ बाबुरामले भने, ‘राजाले माने मान्छ नमाने जेल जान्छु भनेर आउनुभयो। उहाँले अडान लिनुभयो। राजाले मानेन। गल्ती त राजाको थियो। मेलमिलाप गरेर बिपीले उत्पात गरेको भन्नुहुन्न। योगदानलाई मान्ने हो।’

अनुचित वैदेशिक हस्तक्षेपबाट बच्न बिपी नेपाल फर्केको हुनसक्ने एमाले नेता ज्ञवालीको तर्क थियो।

‘सिक्किमको घटना र भारतमा इमर्जेन्सी लागू भएपछि भारतको सहयोगमा प्रजातन्त्रका लागि लागिरहने हो भने कहीँ न कहीँ झुक्नुपर्छ भन्ने उहाँलाई लाग्यो होला,’ ज्ञवालीले भने, ‘देशमै रहेर लड्नुपर्छ भनेर उहाँ आउनुभयो कि। अनुचित बाह्य दबाबबाट बच्न उहाँ आउनुभयो होला।’

युक्रेनको हालतमा नपुगोस्

बदलिँदो भूराजनीतिमा नेपालले कुशलतापूर्वक आफ्नो क्षमता प्रदर्शन गर्न सक्नपर्ने ज्ञवालीको तर्क छ। छिमेकीलाई विश्वासमा लिएर जान नसके युक्रेनको हालतमा पुग्न सक्ने उनको भनाई थियो।

‘पछिल्लो १० – १५ वर्षयता चीन र भारतको उदय भएको छ। उदाउँदै गरेको शक्तिले नयाँ घर्षण देखाउँदो रहेछ। यो अवसर पनि हो। हामीले दुबै छिमेकीलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ,’ ज्ञवालीले भने, ‘नभए युक्रेनको हालत हुनसक्छ। जिम्मेवार ढंगले अगाडि बढ्नुपर्छ।’