नेप्सेमा मौद्रिक नीतियताकै फराकिलो वृद्धि, पार गर्ला दुई हजारको मनोवैज्ञानिक अवरोध?



बिजमाण्डू
२०८० भदौ २५ गते १७:०९ | Sep 11, 2023
नेप्सेमा मौद्रिक नीतियताकै फराकिलो वृद्धि, पार गर्ला दुई हजारको मनोवैज्ञानिक अवरोध?

काठमाडौं। सेयर बजारले सोमबार मौद्रिक नीतिपछिको सबैभन्दा ठूलो फड्को मारेको छ। नेप्से सूचक ४४.३० अंकले वृद्धि भइ १९८६.९९ विन्दुमा उक्लिएको छ। सूचक साताको सुरुवातबाटै हरियो छ। 

Tata
GBIME
Zonsen

हकप्रद र आइपीओको बाढीले भएको ओभर सप्लाई, पर्याप्‍त तरलताका बाबजुद उच्च विन्दुमै रहेको ब्याजदर, यथावतै रहेको मन्दी, चाडपर्व नजिकिँदा समेत चलायमान हुन नसकेको अर्थतन्त्र र निजी क्षेत्रको चरम निराशाका बाबजुद सेयर बजार एकाएक कसरी बढ्यो?

सोमबारको वृद्धिलाई लिएर बजारको आधारभूत पक्षलाई नजिकबाट नियाल्नेहरुबीच अनेक कोणबाट विश्लेषण भइरहेको छ। एक तप्काले बजार निकै घटिसकेकाले अब बाउन्स ब्याक हुन खोजेको रुपमा अर्थ्याएको छ। कतिपयले चाहिं बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने अनुमानमा बजार बढेको विश्लेषण गरेका छन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले निक्षेपसँगै ऋणको ब्याजदर घटाउने सर्तमा बैंकहरुलाई स्थानीय तहको पैसा निक्षेपमा गणना गर्ने सुविधा दिएका थिए। यसले तरलता थप सहज हुन्छ। त्यसो त कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) का हिसाबले बैंकहरु अहिले पनि ऋण दिन एकदमै सहज अवस्थामा छन्। उनीहरुसँग अहिले करिब ४ खर्ब रुपैयाँ हाराहारी ऋण दिन सक्ने क्षमता छ।

मौद्रिक नीतिपछि लगातार बियरिस सेन्टिमेन्टमा रहेको बजार ह्वात्तै बढेकाले वृद्धि दिगो हुनेमा भने विश्लेषकहरु ढुक्क छैनन्। ‘बजारमा ठूलो मुभ वेटिङमै थियो। किनभने लामो समयसम्म बजार एकोहोरो घटिरहेको थियो। प्यानिक स्टेजमा थियो बजार। त्यही प्यानिक स्टेज रिभाइभ मात्रै भएको हो,’ लगानीकर्ता राजिव प्याकुरेलले भने, ‘तर कन्फर्मेसन अझै भइसकेको छैन।’

मौद्रिक नीतियताको डेढ महिनामै नेप्से सूचक ३१४.४७ अंकले घटिसकेको छ। जुन आफैंमा ठूलो गिरावट हो। दैनिक ५ अर्ब नाघ्ने गरेको कारोबार एक अर्बबाट तल झरिसकेको थियो। यसबीच ब्याजदरको खिचातानीले पनि बजार प्रभावित भयो। तर अनुभवी ब्रोकरहरु बजारको चरम निराशा पछिल्ला घटनाक्रमले बदलिन थालेको बताउँछन्।

स्थानीय तहको रकम बैंकहरुले पुन: निक्षेपमा गणना गर्न पाएका छन्। बैंकहरुले स्थानीय तहको ६० प्रतिशत रकम सोमबारबाट निक्षेपमा गणना गर्न थालिसकेका छन्। प्रणालीमा थपिएको तरलताले ब्याजदर घट्ने आम बुझाइ बजारमा हावी भएको ती ब्रोकरले बताए।

अर्थमन्त्रीले नै ब्याजदर घटाउने सर्तमा स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउने सुविधा दिएकाले असोजमा ब्याजदर कम हुने लगानीकर्ताहरुको विश्वास छ। बैंकहरुले भदौका लागि व्यक्तिगत मुद्दतीमा ९.५१ देखि १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन्। तरलता निकै सहज अवस्थामा रहेकाले असोजमा ब्याजदर केहि घट्ने बुझाइ व्याप्त रहेको कोहिनुर सेक्युरिटीका सञ्चालक भरत रानाभाटले बताए। 

‘साथै सेयर बजारसम्बन्धी नीतिगत व्यवस्थामा राष्ट्र बैंकले सहजीकरण गर्ने लगायत चर्चा पनि बजारको व्याप्त छ’, रानाभाटदे भने, ‘त्यसैले लगानीकर्ताको मनोबल बढेको हो।’ पछिल्लो पटक चालु पुँजीकर्जाको सीमा बढाएर राष्ट्र बैंकले आफू लचकता अपनाउन तयार रहेको संकेत गरेको थियो।

‘अर्थमन्त्रीको पछिल्लो अभिव्यक्ति र गभर्नरलाई साथ दिने पार्टीका शीर्ष नेताको आलोचनाले केही संकेत दिए जस्तो देखिन्छ। मन्त्रिपरिषद्ले स्थानीय तहको पैसा पनि निक्षेपमा गणना गर्न दियो,’ रानाभाटले भने, ‘बजारले चाहे जस्तो नै नहोला। तर लगानीकर्ता आशावादी देखिन्छन्।’

अर्थमन्त्री महतले केही दिनअघि संसद् बैठकमै सेयर बजारको गिरावटलाई गम्भीरतापूर्वक लिएको र लगानीकर्ताको लगानी डुब्न नदिन सरकार राष्ट्र बैंकसँग सम्वादमा रहेको बताएका थिए।

रानाभाटका अनुसार बजारको पछिल्लो गिरावट अस्वाभाविक थियो। २२ सय अंक नाघिसकेको बजार डेढ महिनामा ३१४ अंकले घट्नुलाई उनले स्वाभाविक ठान्न सकेका छैनन्। यो अवधिमा भएको ठूलो गिरावटले खरिदकर्ताले भने राम्रव अवसर पाएका छन्।  

कतिपय विश्‍लेषक भने चाडपर्वमा बाँकी क्षेत्र सुस्त हुँदा बैंकको कर्जा सेयर बजारमा मोडिने तर्क गर्छन्। कम्पनीहरुको प्रतिफल घोषणाको समय पनि नजिकिएकाले बजारमा अब लगानी बढ्ने ती विश्‍लेषकको दाबी छ।  

तर बजारले टेवा लिएको क्षेत्रको अघिल्लो गतिविधि हेर्दा धेरै उभो लाग्ने देखिँदैन। २२ सयबाट ओरालो लागेको बजार तेस्रो पटक उही क्षेत्रमा टेवा लिएर बढेको छ।

दुई दिनको वृद्धिलगत्तै बजार पुन: फराकिलो अंकले घटेको इतिहास छ। इतिहास यसपालि पनि दोहोरिए लगानीकर्ताको मनोबल फेरि पनि कमजोर हुनेछ। बजारको प्राविधिक विश्लेषणमा दख्खल राख्नेहरु दुई हजार अंकमा मनोवैज्ञानिक अवरोध निर्माण हुन सक्ने बताउँछन्।

‘बजारमा डिमाण्ड र सप्लाइको इक्वेसन अझै मिलिसकेको छैन। बजारमा दिनहुँ बिक्रेता हाबी देखिन्छन्। डिमाण्ड साइड एकदमै कमजोर छ,’ प्याकुरेलले भने, ‘ठूलो सप्लाइ सानाले थेग्न सक्दैनन्। अब नियामकबाटै नीतिगत सहजताको अपेक्षा छ।’