नेप्सेले तयार पारेको धितोपत्र व्यवसायी विनियमावली संशोधन हुने, छलफलमा सेबोन

बिजमाण्डू
२०८० भदौ २० गते ०९:३८ | Sep 6, 2023
नेप्सेले तयार पारेको धितोपत्र व्यवसायी विनियमावली संशोधन हुने, छलफलमा सेबोन


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तयार पारेको धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली संशोधन हुने भएको छ।

Tata
GBIME

विनियमावलीका केही बुँदाले सेयर बजारलाई अझै संकुचित पार्ने निष्कर्षसहित संशोधन गर्न लागिएको हो। नेप्सेले स्वीकृतिका लागि पठाएको विनियमावलीमा नयाँ र पुराना ब्रोकर कम्पनीले विरोध जनाएपछि नेपाल धितोपत्र बोर्ड संशोधनका लागि तयार भएको हो।

ब्रोकरले कुनै गल्ती गरेमा १५ दिनसम्म कारोबार गर्न नपाउने प्रावधान संशोधन गर्न बोर्ड तयार भएको छ। नेप्सेले विनियमावलीमा कुनै पनि ब्रोकरले सफाइका लागि पेस गरेको जवाफ सन्तोषजनक नभएमा वा ऐन, नियम, विनियम, आचारसंहिताविपरीत काम गरेको नदेखिएमा १५ दिनका लागि सदस्यता निलम्बन गर्ने प्रावधान राखेको थियो।

एक वर्षमा दुई पटकभन्दा बढी लिखित चेतावानी पाएमा, ऐन कानुन अनुसार नेप्सेलाई दिनुपर्ने सूचना तथा जानकारी नदिएमा, सेयर मूल्यमा अस्वाभाविक उतारचढाव ल्याउने प्रयास गरेमा, नेप्सेले स्वीकृति दिएबाहेक अन्य सफ्टवेयर वा टर्मिनल प्रयोग गरेमा, लगानीकर्तालाई हानी नोक्सानी हुने, कारोबार प्रणालीमा क्षति पुग्ने वा बजारमा विकृति आउने खालका कैफियत देखिएमा नेप्सेले ब्रोकरहरुको सदस्यता निलम्बन गर्ने व्यवस्था नयाँ विनियमावलीमा छ।

वित्तीय कारोबार गर्ने कुनै पनि कम्पनीको कारोबार रोक्नु गलत हुने बोर्डको बुझाइ छ। ‘कुनै पनि बैंक तथा वित्तीय संस्थाले गल्ती गरेमा कारोबार बन्द गर्दा के हुन्छ?’, बोर्डका एक अधिकारीले बिजमाण्डूसँग भने, ‘नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले गल्ती गरेमा जरिवाना गर्छ। कारोबार रोक्दैन। त्यस्तै प्रकृतिका ब्रोकरलाई १५ दिन कारोबार रोक्ने प्रावधान अनुचित छ। त्यही भएर हामीले संशोधन गर्न खोजेका हौं।’

उनका अनुसार विहीबार नेप्सेका अधिकारीलाई बोलाएर संशोधनका लागि छलफल हुनेछ। ‘हामीले विनियमावली हेरेपछि केही समस्या देख्यौं। त्यही भएर नेप्सेका अधिकारीलाई बोलाएका छौं,’ ती अधिकारीले भने, ‘सेयर कारोबारलाई कस्ने हिसाबले भन्दा पनि नियमन बलियो बनाएर व्यवस्थित बनाउनतर्फ ध्यान दिनुपर्छ।’

नेप्सेले २०५५ मा आएको विनियमावली संशोधन गर्दै नयाँ बनाएको थियो। अहिलेको विनियमावलीमा २० भन्दा बढी विनियम र केही उपविनियम थपिएको छ।

बोर्डले विनियमावलीमा रहेको ब्रोकर कम्पनीका संचालकले आफ्नो वा परिवारका सदस्यको नाममा सेयर किन्न पूर्वस्वीकृति लिनुपर्ने प्रावधान पनि संशोधन गर्न खोजेको छ। यो प्रावधानले सेयर कारोबारलाई संकुचित बनाउने बोर्डको जिकिर छ। ‘सेयर कारोबारलाई प्रशासनिक हिसाबले कस्ने काम गर्नु गलत हो। अहिलेको डिजिटल युगमा नेप्सेबाट पूर्व स्वीकृति लिनुपर्ने प्रावधान उपयुक्त होइन,’ ती अधिकारीले भने, ‘यसमा लचिलो बाटो बनाउन आवश्यक छ।’

बोर्ड मात्रै होइन, नेप्सेका उच्च अधिकारी समेत विनियमावली संशोधनको पक्षमा छन्। स्रोतका अनुसार ब्रोकरको कारोबार १५ दिन निलम्बन गर्ने र ब्रोकर कम्पनीका सञ्चालकले सेयर किन्न पूर्वस्वीकृति लिनुपर्ने प्रावधान संशोधन गर्न तयार छन्। ‘सञ्चालक समितिले यो प्रावधान राख्नुपर्ने अडान लियो। त्यही भएर विनियमावलीमा राखिएको हो,’ नेप्सेका एक कर्मचारीले भने, ‘यो प्रावधानले सेयर बजारलाई विस्तार गर्दैन। बरु संकुचनतर्फ लैजान्छ।’

नेप्सेले २०५५ मा आएको विनियमावली संशोधन गर्दै नयाँ बनाएको थियो। अहिलेको विनियमावलीमा २० भन्दा बढी विनियम र केही उपविनियम थपिएको छ। स्रोतका अनुसार ब्रोकरको सदस्यता शुल्क लगायत बारेमा पनि बोर्डले नेप्सेका अधिकारीसँग छलफल गर्नेछ।