सडकसँग सम्बन्धित ९ निकायलाई मन्त्री ज्वालाको चेतावनी–भत्काएर अलपत्र छोड्नेमाथि कारबाही हुन्छ

बिजमाण्डू
२०८० भदौ १८ गते १३:०१ | Sep 4, 2023
सडकसँग सम्बन्धित ९ निकायलाई मन्त्री ज्वालाको चेतावनी–भत्काएर अलपत्र छोड्नेमाथि कारबाही हुन्छ


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिएका छन्। मन्त्री ज्वालाले सोमबार सडकसँग सम्बन्धित विभिन्न ९ निकायका प्रतिनिधिलाई बोलाएर छलफल गरी समय तालिका बनाएर सडक ममर्त सम्भार गर्न निर्देशन दिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्रमुख अर्जुनप्रसाद अर्यालले जानकारी दिए।

Tata
GBIME

‘सडक विभागले कालोपत्रे गर्छ, केही दिनमै त्यही सडक विद्युत प्राधिकरणले खन्छ। फेरि कालोपत्रे गरिन्छ, लगत्तै टेलिकमले खन्छ, फेरि कालोपत्रे गरिन्छ अनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र ढल विभागले खन्छन्। यसरी सडकको बेहाल भयो’, मन्त्री ज्वालाले भने ‘सडकको यो हरिबेजोग हेरेर बस्न सकिंदैन, तालिका बनाएर तत्काल सुधारमा लाग्नुहोस्।’

छलफलमा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन, विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सिना, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका रमेश केसी लगायत सहभागी थिए।

मन्त्री ज्वालाले प्राधिकरण, टेलिकम लगायतका निकायलाई आफूखुशी सडक खन्नुभन्दा आपसमा समन्वय गरी सबै काम एकैपटक गर्न भनेका छन्। ‘यसो गर्दा सडक पटकपटक कालोपत्र गरिरहनुपर्ने अवस्था आउँदैन। अहिले एकातिर सडक जहिल्यै भत्किएको मात्र देखियो भने अर्कातिर धेरै रकम खर्च भयो’, उनले भने।

मन्त्रीले सडक मर्मतमा बेवास्तामाथि अब चुप लागेर नबस्ने चेतावनी दिए। ‘तपाइँहरु काममा गम्भीर नहुने, नागरिकले दैनिक सास्ती पाइराख्ने स्थिति अब टुलुटुलु हेरेर बस्न सकिंदैन’, मन्त्री ज्वालाले भने, भन्नुभयो ‘सडक खनेर अलपत्र छोड्नेमाथि अब आवश्यक कारवाही हुन्छ। म आफैं कामको निरीक्षण गर्छु।’

छलफलमा सहभागी निकायका प्रतिनिधिले तार र पाइप अन्डर ग्राउण्ड गरिसकेका ठाउँमा तत्काल सडक मर्मत गर्ने प्रतिबद्धता जनाएका छन्। प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले काम सम्पन्न भएका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाए।

प्राधिकरणले अहिले ३२ वटा सडकको ५० किलोमिटरमा काम गरिरहेको छ। तर काम सम्पन्न भएका ठाउँमा पनि उसले सडक बनाएको छैन। प्राधिकरणले अझै ३३ सडकको ७७ किलोमिटर खन्न अनुमति मागेको छ।

यस्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १९ सडकको १७ किलोमिटरमा काम गरिरहेको छ। उसले पनि पाइप विछ्याउन खनिएको सडक त्यतिकै छोडिदिएको छ। टेलिकमले पनि केही सडकमा तार विछ्याउने काम गरिरहेको छ।