सरकार ढालेर देखाउन प्रधानमन्त्री दाहालको चुनौती, भने- कसले हटाउँदो रहेछ हेर्छु 

बिजमाण्डू
२०८० भदौ १४ गते १८:२० | Aug 31, 2023
सरकार ढालेर देखाउन प्रधानमन्त्री दाहालको चुनौती, भने- कसले हटाउँदो रहेछ हेर्छु 
प्रधानमन्त्री पुष्पकमल दाहाल सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गर्दै। तस्वीर: प्रधानमन्त्रीको निजी सचिवालय


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले राम्रो काम गरिरहेको दाबी गर्दै आफूलाई हटाएर देखाउन चुनौती दिएका छन्। सरकारको कामलाई लिएर प्रमुख सत्तारुढ नेपाली कांग्रेसकै कतिपय नेताहरुले असन्तुष्टि जनाइरहेका बेला दाहालले आफूलाई हटाएर देखाउन चुनौती दिएका हुन्।

Tata
GBIME

समाजवादी मोर्चाले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा गरेको सन्देश सभामा उनले राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको बताए। यद्यपि सरकार कहिलेसम्म टिक्छ भन्नेमा आफूलाई कुनै चिन्ता नरहेको उनको दाबी छ। 

प्रधानमन्त्री दाहालले सत्ता टिकाउनका लागि कुनै सम्झौता नगरेको दाबी गर्दै भने, ‘मलाई केही लिनु छैन, दिनु पनि छैन। यो सरकार कतिसम्म चल्छ भन्ने टेन्सन छैन। सरकार टिकाउन सम्झौता गरेको कुरा वाहियात हो। सरकारले राम्रो काम गरिरहेको छ। जनताले हेरिरहेका छन्, कसले हटाउँदो रहेछ म पनि हेर्छु ।’

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा ठूलो धाँजा परेको भन्दै विभाजन हुनसक्ने दाबी गरे। ‘आफूलाई ठूलो भन्ने प्रतिपक्षी पार्टीभित्र यति ठूलो धाँजा परेको छ कि नेता कार्यकर्ता हैरान छन्। कहीँ न कहीँ विस्फोट हुने अवस्थामा छ’, उनले भने।

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन प्रधानमन्त्रीसँग आग्रह गरे। उनले कुनै पनि शक्तिले सरकार ढाल्न नसक्ने दाबी गरे। ‘यो सरकारलाई देशी विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन। सरकार ढल्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस्,’ उनले भने।